नयाँ दिल्ली/ भारतीय पूर्वी राज्य बिहारमा आइतबार बिहान भएको रेल दुर्घटनामा परी छ जनाको मृत्यु भएको छ ।  सो घटनामा परी अन्य चार जना गम्भीर घाइते भएका छन् । त्यसैगरी सात जना सामान्य घाइते भएका पनि अधिकारीले जनाएका छन् ।

दुर्घटनामा परेका पीडितहरूलाई भारत सरकारले आर्थिक सहयोगका कार्यक्रमहरू घोषणा गरेको बताइएको छ । दुर्घटनामा मृत्यु भएकाको परिवारलाई पाँच लाख भारतीय रुपैयाँ, गम्भीर घाइतेलाई एक लाख रुपैयाँ र सामान्य घाइतेलाई ५० हजार दिने घोषणासमेत गरेको समाचारमा जनाइएको छ ।

भारतीय रेल सेवाका प्रवक्ता स्मिता शर्माले घाइतेहरू सबैलाई उपचार खर्च रेल सञ्चालक संस्थाले नै बेहोर्ने बताए । बिहारको बैसाली जिल्लामा सो दुर्घटना भएको हो । रेलले पटरी छोडेर बाहिर निस्किएपछि सो दुर्घटना भएको बताइएको छ ।

दुर्घटनाका बेला अधिकांश यात्रु निदाएका अधिकारीले जनाएका छन् । उक्त रेल आइतबार बिहान ९ बजे दिल्लीस्थित आनन्द बिहार रेलवे स्टेशनमा पुग्ने तालिका रहेको थियो ।