विराटनगर/ प्रवेशद्धारमै रङरोगन गरिएको पुरानो साइकल झुन्डिएको छ । आकर्षक डिजाइन गरि तयार पारिएको मुल गेट । भित्र प्रवेश गरेसँगै पोखरीको बिचमा देखिने फरक शैलीको ‘क्रुज’ लज । त्यसको अलवा आँखाले भ्याएसम्म देखिने बाल उद्यान पार्क ।

यस्तै मनोरम दृश्य देखिने मोरङको सुन्दरहरैचा-४ चरिगुवामा पर्ने गोकुलम रिर्सोट पुग्ने जो कोहीलाई लोभ्याउने गर्दछ । सहरको धुवा, धुलो, कलह अनि ध्वनी प्रदुषणबाट मुक्ति पाएर शान्तसाथ वस्न गोकुलम रिर्सोट उपयुक्त गन्तव्य सावित बन्दै गएको छ । रिसोर्ट आन्तरीक र बाहिय पर्यटकको लागि आकर्षक गन्तब्य बनेको छ ।

फराकिलो क्षेत्रफलमा विस्तार गरिएको उक्त रिसोर्ट घुम्न आउने आन्तरिक र बाहिय पर्यटकलाई लक्षित गरेर संचालनमा ल्याएको सञ्चालक राधेश्याम पौड्यालले बताए । सात वर्ष अगाडि सामान्य अवस्थाबाट सुरु गरेको यो पर्यटन केन्द्र अहिले लोभलाग्दो छ ।

पर्यटकका लागि मनोरम र आकर्षण जिल्लामै मुख्य केन्द्र बनेको छ । दैनिक चारसयदेखि एक हजार पाँचसयसम्म आन्तरिक पर्यटक भित्र्याउँदै आएको छ । गोकुलम् रिसोर्ट परिसरमा रहेको पानी जहाज भित्रको क्रुजलजको बसाईमा आनन्द लिएर फर्कनेको संख्याले उसको सफलतालाई संकेत गरिएको देखिन्छ ।

पोखरी भित्रको पानी जहाजमा प्रवेश गरेसँगै फरक शैलीको क्रुजलजले लोभ्याउन बाध्य बनाउँछ । घरपालुवा जनावरलाई क्रेजमा राखिएको छ । बाल उद्यान पार्कलाई आकर्षक तरिकाले सजाएको छ ।

दैनिक बालबालिकाहरु बाल उद्यानमा रमाउँदै आनन्द लिन्छन् । बाल उद्यान अवधारणा राखेर २०६८ सालबाट सुरु गरिएको गोकुलम् पार्क नौ वर्षकै अवधीमा आन्तरिक र बाह्य पर्यटकका लागि आकर्षक र मनोरम स्थानको रुपमा चिनन थालेको छ ।

उद्यानबाट बदलिएको गोकुलम् बालबालिका, बृद्धबृद्धा र यूवाका लागि जिल्लामै पुग्नैपर्ने र घुम्नैपर्ने पर्यटकीय क्षेत्रको रुपमा पहिचान बनाउने सफल भएको हो ।

अढाई करोड रुपिँया लगानीमा धार्मिक मनोविज्ञानमा आधारित बालउद्यन निर्माण गरिएको गोकुलम् अहिले २० करोड लगानीको रिसोर्टको रुपमा छ ।

तर, धार्मिक मनोविज्ञानसहितको बालउद्यान, पर्यटकीय दृष्टिकोणको क्रुजलज, कार्यक्रमको लागि सेमिनार हलको सुविधासहित, रेष्टुराँ, कटेज, फायरिङ क्याप्प र टेण्टसहितको सेवाबाट महत्व बढेको झल्को दिन थालेको छ ।

तयारी गाइदेखी कुकुरसम्म
साढे पाँच बिघा क्षेत्रमा घरपालुवा जनावरको विशेष स्याहार गरेर राखिएको छ । रिसोर्ट परिसरमा पुग्दा परेवा, कुखुरा, टर्कि, अस्टिूजलाई क्रेजमा सजाइएको छ ।

रिसोर्ट सञ्चालक पौड्यालका अनुसार चाँडै ४४ जातका कुखुरा, १२ जातका परेवा र १४ प्रकारका कुकुरलाई क्रेजमा राखिने छ भने १०८ वटा गाई राख्ने गौसदन निर्माण गरेर गोकुलमको महत्व झल्काउने योजना रहेको सुनाए ।

बृद्धबृद्धाले धार्मिक महत्व दिने, बालबालिका उद्यानमा रमाउने, यूवायूवतीको मनोरञ्जन लिने स्थानसँगै पर्यटकका लागि फरक अनुभूति दिलाउने योजनामा थप लगानी भित्र्याउने तयारीमा सञ्चालकको समुह सक्रिय बनेको छ ।

‘विराटनगर र इटहरीका कुनैपनि होटलले हामीलाई क्रस गर्न सक्ने छैनन्,’ पौड्यालले भने, ‘योजनासहित आउनेहरुले फरक आनन्द लिएर फर्कनेछन् ।’ पानी जहाजको शैलीमा निर्माण भएको क्रुजलजमा २० जना क्षमताको दशवटा कोठा रहेको छ ।

त्यसमा थप आठ कोठा थपेर ३६ जना क्षमतामा विस्तार गर्ने काम सुरु गरिसकिएको बताइन्छ । पानी जहाजमा आवाससहितको क्रुजलजले दिएको सफलतासँगै हवाई जहाजमा थिएटर र रेलमा होटल सञ्चालन योजना अगाडी बढाइएको पौड्यालले जानकारी दिए ।

यस्तो छ योजना
एक करोड रुपिँया हवाई जहाजको बाहिरी भाग किनेर रिसोर्ट परिसरमा थ्रिडी थिएटर निर्माणको काम थालिसकिएको छ । यसैगरी दैनिक ५ सय संख्या क्षमताको आवाससहितको रेल होटल निर्माणको लागि डब्बा बनाउने कामको तयारी थालिएको उनले जानकारी दिए ।

‘योजना सफल हुँदा दैनिक पाँचसयलाई रेल होटलमा सुताउन सक्छौं,’ उनले भने, ‘होटलको सेवा र सुविधा त्यहि भित्र प्रदान गर्दछौं । दश डब्बा भएको रेल होटलमा प्रतिडब्बा ४८ जनासम्मलाई सुताउन सक्ने ओछ्यानको प्रबन्ध मिलाईने तयारीमा जुटेका छौं ।’

दशजना साझेदारबाट सुरु गरिएको उक्त योजनामा अहिले तीनजना साझेदार रहेका छन् । मुख्य लगानीकर्ताको रुपमा रहेका पौड्यालले फरक ढंगले पर्यटन क्षेत्रको विकासलाई सहयोग दिने मनसायमा लगानी बढाउँदै गएको बताए ।

कसरी पुग्ने यो रिसोर्ट ?
इटहरी चोकदेखि करिब २ किलोमिटर पश्चिम र पूर्व-पश्चिम राजमार्गको बलिया चौकदेखी करिब १ किलोमिटर दक्षिणमा पर्छ गोकुलम रिसोर्ट । विराटनगरबाट यो रिसोर्ट २७ किलोमिटर छ ।