धरान / २० वर्षअघिदेखिको नेपाली फुटबल जगत्मा गौरवमय इतिहास बोकेको अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको २१ औं संस्करण २६ माघदेखि धरान रङ्गशालामा शुरु हुँदैछ ।
नेपालकै पुरानो फुटबल प्रतियोगिता भएर पनि यसले अन्तर्राष्ट्रिय मापदण्ड र आधुनिकता ग्रहण गर्न सकेको छैन । ‘यसका केही कारण छन्, इन्टरनेश्नल स्ट्याण्डर्डका टिम सहभागी नहुनु, नेपाली फुटबलको सर्वोच्च निकाय एन्फा बूढासुब्बा गोल्डकपप्रति जिम्मेवार नबन्नु, धरानको फुटबलमा लगानी आकर्षित नहुनु र खेललाई समृद्धिको सूचकका रूपमा ग्रहण नगरिनु,’ धरान फुटबल क्लबका अध्यक्ष तथा अखिल नेपाल फुटबल सङ्घ एन्फाका मानार्थ उपाध्यक्ष किशोर राईले भने, ‘यहाँ कैयौं प्रतियोगिता नाममात्रको ‘अन्तर्राष्ट्रिय’ जोडेर आयोजना गरिएको छ, इन्टनेश्नल स्ट्याण्डर्डका टिम सहभागी हुँदैनन्, मिनी ब्राजिलका रूपमा चिनिएको धरानले फुटबलका क्षेत्रमा नयाँ आयामहरू स्थापित गरेको छ, तर यही प्रतियोगितालाई आकर्षक बजेट विनियोजन हुन सकिरहेको छैन ।’
यस्ता ‘अन्तर्राष्ट्रिय’ जोडेर आयोजना हुने कतिपय प्रतियोगिताले जनता र खेलप्रेमीलाई झुक्याइरहेको अध्यक्ष राईले दाबी गरे । उनले भने, ‘अब खेलप्रेमीलाई झुक्याउने काम नगरौं’
बिहीबार २१ औं अन्तर्राष्ट्रिय आमन्त्रण रेडबुल गोल्डकप फुटबल प्रतियोगिता–२०७५ को अन्तिम तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा धरान फुटबल क्लबका अध्यक्ष राईले बुढासुब्बा गोल्डकपको विकासका लागि गरिएका प्रयासमा एन्फासमेत सहयोगी हुन नसकेको आरोप लगाए । ‘चार महिनाअघिदेखि एन्फाका अध्यक्ष र पदाधिकारीबीच छलफल चलाएँ, भुटान, बङ्गलादेश, जापानलगायतका टिमलाई बुढासुब्बा गोल्डकपमा आमन्त्रण गरौं, तर यो सम्भव भएन, ’ अध्यक्ष राईले भने, ‘एन्फाले सहयोग गरेन ।’
मुलुक द्वन्द्वबाट गुज्रिरहेका बेला नेपाली फुटबलको गरिमा बचाउन बुढासुब्बा गोल्डकपले भूमिका निर्वाह ग¥यो । एन्फालाई बचाई राख्ने कामसमेत बुढासुब्बा गोल्डकपले ग¥यो । ‘तर नेपाली फुटबलको गरिमालाई बचाइ राख्ने बुढासुब्बा गोल्डकपलाई भने बेवास्ता भइरह्यो,’ अध्यक्ष राईले भने । एन्फाले प्रभावकारी नियमन र प्रतियोगितालाई सूचीकृत गर्न नसक्दा गोल्डकप प्रतियोगिता जुधिरहेको बताए ।


प्रविधिको प्रयोगमा बुढासुब्बा
बुढासुब्बा गोल्डकपको २१ औं संस्करणले आधुनिक प्रविधिलाई आत्मसात् गर्ने भएको छ । मिडिया र प्रविधिमार्फत यसको व्यापक प्रचार–प्रसार भइरहेको आयोजक धरान फुटबल क्लबको दाबी छ ।
सञ्चारकर्मीहरूलाई ‘मिडिया सेन्टर’ मार्फत रिपोर्टिङ गर्ने व्यवस्था मिलाइएको छ । त्यसका लागि छुट्टै वाइफाइको व्यवस्था हुनेछ । रङ्गशालाभित्र अत्यधिक क्षमताका दुईवटा राउटर जोडेर ‘इन्टरनेट कनेक्सन’ पु¥याइनेछ ।
६–७ हजार दर्शकले आकर्षक प्याराफिटमा बसेर प्रतियोगिता अवलोकन गर्न पाउनेछन् । झण्डै १ हजार दर्शक अट्न सक्ने बाँसद्वारा निर्माण गरिएको ‘पारापिट’ समेत निर्माण भएको छ ।


अपेक्षा ठूलो राशि सानो
बुढासुब्बा गोल्डकप प्रतियोगिताको २१ औं संस्करणसम्म आइपुग्दा यसको पुरस्कार राशि पनि भव्य होला भन्ने आम खेलप्रेमीको अपेक्षा भने अझै पूरा नहुने भएको छ । बुढासुब्बापछि आयोजना भइरहेका प्रतियोगिताले कीर्तिमान कायम गरिरहँदा यसले पुरस्कारको राशि भने बढाउन सकेको छैन ।
विजेताले ८ लाख नगदसहित ट्रफी प्राप्त गर्नेछ । उपविजेताले ४ लाख प्राप्त गर्नेछ । विधागत पुरस्कारमा हाइस्कोररले ३५ हजार नगद र उत्कृष्ट गोलकिपर, डिफेण्डर, मिडफिल्डर र फरवर्डले जनही २५ हजार नगद प्राप्त गर्नेछन् । प्रत्येक खेलका म्यान अफ दी म्याचले नगद १५ हजार र उदयीमान खेलाडीलाई समेत १५ हजार नगदसहित ट्रफी प्रदान गरिनेछ ।
प्रतियोगिताको खर्च ७० लाख अनुमान गरिएको छ । आम्दानी ९० लाख हुनसक्ने बताइएको छ । जसबाट २० लाख मुनाफा हुने धरान फुटबल क्लबको अनुमान छ ।


२२ औं संस्करण अत्याधुनिक बनाउने तयारी
धरान फुटबल क्लबले आगामी वर्ष हुने बुढासुब्बा गोल्डकपलाई भने अत्याधुनिक बनाउने उद्देश्यले योजना अघि सारेको छ ।
धरान रङ्गशालालाई आधुनिक र अन्तर्राष्ट्रिय मापदण्डको बनाउने तयारी थालिएको क्लबका अध्यक्ष राईले जानकारी दिए । ‘२२ औं संस्करण अत्याधुनिक प्रविधिमा आधारित गोल्डकप हुनेछ,’ आयोजित पत्रकार सम्मेलनमा धरान फुटबल क्लबका अध्यक्ष राईले भने, ‘हामी रात्री गोल्डकपको तयारी गर्दैछौं ।’
उनले नीतिगत रूपमा कार्ययोजना अघि बढाइने भएकाले प्रदेश सरकारले समेत सहयोग गर्ने अपेक्षा गरेको बताए ।
‘फुटबलमा लगानी गरिदिनुस्’
विकास निर्माणमा लगानी गर्ने धरानेहरूलाई धरान फुटबल क्लबले फुटबलको क्षेत्रमा समेत लगानी गर्न आह्वान गरेको छ । क्लबका अध्यक्ष किशोर राईले टिकट काटेरमात्रै भए पनि लगानी गरिदिन सबै धरानेलाई आह्वान गरे ।
‘समृद्धिका लागि खेलकुदको विकास अपरिहार्य छ, प्रत्येक धरानेले टिकट काटेर प्रतियोगिता हेरिदिए ठूलो लगानी हुनेछ,’ अध्यक्ष राईले भने, ‘बुढासुब्बा गोल्डकपको गरिमा बचाउन पनि आर्थिक पक्षलाई सबल बनाएर अघि लानुपर्ने अवस्था छ, हामी बुढासुब्बालाई उपलब्धीमूलक गोल्डकप बनाउने योजनामा अघि बढिरहेका छौं ।’
आठ टिम सहभागी
२१ औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा रेडबुल गोल्डकप फुटबल प्रतियोगिता–२०७५ मा आयोजक धरान फुटबल क्लबसँगै आठ टिमले सहभागिता जनाएका छन् । विदेशको डल्फिनास क्यामरुन र डलहोसी एथ्लेटिक कोलकाता सहभागी छन् ।
विभागी टिम नेपाल पुलिस क्लब सहभागी छ भने आर्मी यो संस्करणमा सहभागी छैन । आर्मीसँगै डिफेण्डिङ च्याम्पियन थ्रीस्टार क्लब विदेशी प्रतियोगितामा सहभागी हुनेछन् । उद्घाटन खेल २६ माघमा सङ्कटा क्लब र मेची नेत्रालय झापा भिड्दैछन् । २७ गते नेपाल पुलिस क्लब र सहारा आमने–सामने हुनेछन् । २८ माघमा मनाङ्–मस्र्याङ्दी र क्यामरुनबीच स्पर्धा हुनेछ भने २९ गते आयोजक धरान फुटबल क्लब र डलहोसी एथ्लेटिक कोलकाता भिड्ने छन् ।
फागुन १ गते पहिलो सेमिफाइनल खेल हुनेछ भने २ गते दोस्रो सेमिफाइनल खेल हुनेछ । ४ फागुनमा फाइनल खेल हुनेछ । यो संस्करणमा टिकट दरमा १० रुपैयाँ वृद्धि गर्दै शुरुका खेलमा १ सय १०, सेमिफाइनल खेलमा २ सय १० र फाइनल खेलको टिकट दर ३ सय १० रुपैयाँ राखिएको छ ।

कहिले कुन टिम विजेता बने


अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगितामा हालसम्मका विजेता तथा उपविजेताहरू
२०५५
विजेता– बुल्गेरिया स्पोर्टिङ क्लब (भारत)
उपविजेता– धरान फुटबल क्लब
२०५६
विजेता– महेन्द्र पुलिस क्लब
उपविजेता– धरान फुटबल क्लब
२०५७
विजेता– धनमुन्दी क्लब (बङ्गलादेश)
उपविजेता – महेन्द्र पुलिस क्लब
२०५८
विजेता– महेन्द्र पुलिस क्लब
उपविजेता– धरान फुटबल क्लब
२०५९
विजेता– महेन्द्र पुलिस क्लब
उपविजेता– फ्रेण्ड्स क्लब
२०६०
विजेता– मनाङ मस्र्याङ्दी क्लब
उपविजेता– महेन्द्र पुलिस क्लब
२०६१
विजेता– थ्रीस्टार क्लब
उपविजेता– जावालाखेल युथ क्लब
२०६२
विजेता– अफ्रिकन युनाइटेड क्लब
उपविजेता– धरान फुटबल क्लब
२०६३
विजेता– नबिल थ्रीस्टार क्लब
उपविजेता– अफ्रिकन युनाइटेड क्लब
२०६४
विजेता– महेन्द्र पुलिस क्लब
उपविजेता– जावालाखेल युथ क्लब
२०६५
विजेता– नबिल थ्रीस्टार क्लब
उपविजेता– त्रिभुवन आर्मी क्लब
२०६६
विजेता– आरसीटी क्लब
उपविजेता– नेपाल पुलिस क्लब
२०६७
विजेता– मनाङ मस्र्याङ्दी क्लब
उपविजेता– आरसीटी क्लब
२०६८
विजेता– थ्रीस्टार क्लब
उपविजेता– मनाङ मस्र्याङ्दी क्लब
२०६९
विजेता– हङकङ नेपाली महासङ्घ
उपविजेता– त्रिभुवन आर्मी क्लब
२०७०
विजेता– अफ्रिकन युनाइटेड क्लब
उपविजेता– साहार क्लब
२०७१
विजेता– एपिएफ काठमाडौं
उपविजेता– एमएमसी काठमाडौं
२०७२
विजेता– मनाङ मस्र्याङ्दी क्लब
उपविजेता– नेपाल पुलिस क्लब
२०७३
विजेता– नेपाल पुलिस क्लब
उपविजेता– सङ्कटा क्लब
२०७४
विजेता– थ्री स्टार क्लब
उपविजेता– नेपाल पुलिस क्लब
२०७५
विजेता– ?
उपविजेता– ?

तस्बिरः उपेन्द्र चाम्लिङ