धरान /  धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले विहीबारदेखि आफै अक्सिजन उत्पादन शुरु गरेको छ ।
अस्पताललाई आवश्यकता भन्दा दोब्बर अक्सिजन उत्पादन क्षमता भएको अक्सिजन प्लान्ट सञ्चालनमा आएको प्रतिष्ठानका उपकुलपति प्राडा.राजकुमार रौनियारले जानकारी दिए । विहीबार एक कार्यक्रमको आयोजना गरि उपकुलपति रौनियार, अस्पताल निर्देशक प्राडा.गौरीशंकर साह, प्रबक्त डा. पशुपति चौधरी, सहप्रबक्ता डा. अशोक ऐरले प्लान्टको उद्घाटन गरे । उपकुलपति रौनियारका अनुसार प्रतिष्ठान हाताभित्र रहेको अक्सिजन प्लान्टबाट प्रतिमिनेट १६ सय लिटर उत्पादन हुन्छ । एक घण्टामा १० वटा सिलिण्डर भर्न सकिने बुस्टर क्षमता छ । दिनमा ६० वटा सिलिण्डर भर्न सकिने छ । प्रत्येक वेडमा पाइप लाईन विस्तार गरि उक्त लाईनबाट दैनिक ५ सय लिटर अक्सिजन सप्लाइ भइरहेको प्रतिष्ठानका बोयोमेडिकल इञ्जिनियर प्रदिपराज साहले बताएका छन् । यस अघि २५० लिटर क्षमताको अक्सिजन प्लान्ट भए पनि विग्रिएका कारण ६ महिनादेखि अक्सिजन उत्पादन ठप्प थियो ।
अस्पताल निर्देशक साहका अनुसार हाल प्रतिष्ठानलाई ८ सय लिटर प्रतिमिनेट अक्सिजनको आवश्यकता पर्छ । तर प्रतिष्ठानमा हाल १६ सय लिटर प्रतिमिनेट अक्सिजन उत्पादन गर्ने क्षमताको मेसिन जडान गरिएको छ ।
बढि भएको अक्सिन प्रदेश १ भरीका अस्पतालसँग समन्वय गरि विक्रि गर्ने तयारी गरेको उपकुलपति डा.रौनियारले बताएका छन् ।
छ महिनादेखि दैनिक अक्सिन अन्यन्त्रबाट खरिद गर्दा ७० लाख दैनिक खर्च हुदै आएको थियो । अव यो प्लान्ट जडानसँगै उक्त खर्च बचत हुने भएको छ । इन्जीनियर प्रदिपराज साहका अनुसार
अक्सिजनको लागि कच्च पदार्थ खरिद गर्नुपदैन । वातावरणमा भएको हावालाई नै मेशिनले लिएर अक्सिजन उत्पादन गर्ने भएकोले खर्च नै हुदैन । प्लान्टमा खटिने ३ जना प्राविधिकलाई र विजुलीमा मात्र खर्च हुन्छ । मेशिन खरिदमा एकमुष्ट ३ करोड ४० लाखमा टेण्डर गएिको थियो ।
दुई बर्ष अघि तत्कालिन उपकुलपति प्राडा वीपी दासको पालामा काठमाण्डौंको डाग्नोकेम प्रालिले ठेक्का पाएर नयाँदिल्लीस्थीत यूनिसी प्रालिबाट यो प्लान्ट ल्याइएको थियो । ठेकेदार कम्पनिले मेसिन जडान नगरिदिदा त्यतिकै थन्किएर बसेको थियो । हाल नयाँ पदाधिकारीहरुले उक्त मेसिन जडान गरेका हुन् । विग्रिएको २५० लिटर क्षमताको अक्सिजन प्लान्टलाई पनि मर्मत गरि संचालनमा ल्याउने तयारी भइरहेको प्रतिष्ठानले जनाएको छ ।