पथरीशनिश्चरे / मोरङ्गको पथरीशनिश्चरेमा पहिलो पटक नगर सुन्दरी प्रतियोगिता हुने भएको छ । माउन्ट एभरेष्ट इन्टरटेनमेन्टको व्यानर र सिल्भर इन्टरटेन्मेन्टको प्राविधिक सहयोगमा चैत १ मा मिस पथरीशनिश्चरे २०१९ सिजन १ को पहिलो अडिसन हुने विहीवार पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
नगरमा स्थायी बसोवास गर्दै आएका १६ बर्ष देखि २५ बर्षसम्मका कम्तिमा एसइइ उर्तीण युवतीहरुले सहभागिता जनाउन सक्नेछन् । २५ दिन तालिम सञ्चालनपछि वैशाखको पहिलो सातामा नयाँ वर्षको सन्दर्भ पारेर फाइनल प्रतिष्पर्धा सञ्चालन गरिने आयोजक समितिका सुमन कुरुङ्वाङले जानकारी दिए ।

विजेतालाई ताज सहित नगद ७५ हजार रुपैंयाँ, एउटा म्युजिक भिडियोको कन्ट्रयाक्ट र अन्य विभिन्न उपहार प्रदान गरिने छ । त्यसैगरी, फष्ट रनरअप र सकेण्ड रनरअपलाई क्रमशः नगद ५० हजार र २५ हजार रुपैयाँ प्रदान गरिने छ ।

नगर भित्रका सुन्दरीहरु बिच हुने प्रतियोगितामा फोटोजेनिक फेस, उत्कृष्ट व्यक्तित्व, मिस क्याटवक, बेस्ट फिगर,मिस ट्यालेन्ट, पब्लिक च्वाइस , बेस्ट हेयर स्टायल र बेस्ट स्माइल सहितको बिधामा पनि सहभागीलाई पुरस्कृत गरिने छ । प्रतियोगिताका लागि १४ लाख रुपैयाँ खर्चको अनुमान गरिएको छ ।