धरान / फिफाको गोल प्रोजेक्ट अन्तर्गत निर्मित एन्फा टेक्निकल सेन्टरहरूमा नयाँ कार्य समिति आएको एक वर्ष पुग्न लाग्दा पनि एकेडेमी बेवारिसे अवस्थामै छन् ।
गणेश थापाको एकाधिकार तोड्दै २२ वैशाख २०७५ मा कर्मा छिरिङ शेर्पाको टोली निर्वाचित बनेको थियो । निर्वाचित शेर्पाले फुटबललाई पूर्ण व्यवसायिक बनाउन अल्पकालीन, दीर्घकालीन योजना, तल्लो तहमा स्थायी संरचना निर्माणका साथै खेलाडी उत्पादनलाई प्रमुख एजेण्डाका रूपमा अगाडि सारेका थिए । तल्लो स्तरबाट खेलाडी उत्पादनकै लागि २०५९ सालमा एन्फा टेक्निकल सेन्टरहरू निर्माण गरिएका थिए । तर, नयाँ कार्यसमिति निर्वाचित भएको झण्डै एक वर्ष पुग्न लाग्दा पनि खेलाडी उत्पादनमा चासो देखाएको छैन । एकेडेमीहरू अझै अलपत्र अवस्थामै छन् ।
धरान–१७ को एन्फा एकेडेमीको अवस्था पनि उस्तै छ । झण्डै ६ वर्षदेखि एन्फा एकेडेमी प्रयोगविहीन बनेको छ । २०६९ देखि एकेडेमी प्रयोगविहीन अवस्थामा छ । तत्कालीन समयमा गणेश थापा र शेर्पा समूहको विवादका कारण पनि एकेडेमी सञ्चालनमा आउन सकेको थिएन । अहिले शेर्पा नेतृत्वमा बनेको समितिले चाँडै नै खेलाडी उत्पादन गर्ने दाबी गर्दै आएको १० महिना बितिसकेको छ । एकेडेमीहरू मर्मत गर्ने भन्दै २०७५ जेठ २४ गते धरानमा पनि एन्फाका केन्द्रीय उपाध्यक्ष पङ्कज नेम्वाङ र इञ्जिनियर नरेशमानसिंह अमात्यसहितको टोलीले निरीक्षण गरेको थियो ।
एकेडेमी सञ्चालनका लागि एन्फाका मानार्थ उपाध्यक्ष किशोर राईलाई संयोजकसमेत बनाएको छ । मानार्थ उपाध्यक्ष राईले नेम्वाङको टोलीलाई तत्काल सञ्चालन गर्नुपर्ने भन्दै केन्द्रीय समितिलाई प्रस्ताव–पत्रसमेत बुझाएका थिए । केन्द्रीय उपाध्यक्ष नेम्वाङले पनि सञ्चालन गर्न धरानको एकेडेमीका लागि ८० लाख ५१ हजार ५ सय रुपैयाँ लागत लाग्ने खर्च स्टिमेट तयार पारेका थिए । त्यही बेला नेम्वाङले फिफाले धरान, बुटवल र च्यासलको एकेडेमीका लागि एक लाख ५० हजार डलर दिने घोषणासमेत गरिसकेको बताएका थिए ।
‘फिफाबाट आएको रकम निकासा भइसकेको छ । मर्मत समिति बनाएर गर्ने कि ठेक्का आह्वान गर्ने भन्नेमा अन्यौल भएर मात्रै हो’ –एन्फाका प्रवक्ता किरण राईले फोन सम्पर्कमा भने । फिफाको गोल प्रोजेक्टअनुसार धरानको एकेडेमी करिब ४ करोडको लागतमा निर्माण गरिएको थियो । जसमा आवासीय सुविधा प्रदान गर्नका लागि ११ वटा कोठासहित प्यारापिट निर्माण गरिएको थियो । लामो समय बेवारिसे बनेपछि भवन चर्किनेलगायतका समस्या देखा परेको छ । प्रवक्ता राईले कानूनी अड्चनका कारण मर्मत कसरी गर्ने भन्ने अन्यौलता रहेको बताए । ‘खर्च कसरी गर्ने भन्ने विषयमा अन्यौलता छ’ उनले थपे, ‘चाँडै समस्या समाधान गरेर ठेक्का या समितिमार्फत् निर्माणको काम थाल्छौं ।’
यो सिजनमा एकेडेमी सञ्चालन हुने सम्भावना लगभग अन्त्य भएको छ । ‘आगामी सिजनबाट स्टार्ट गर्छौं’ –उनले भने । धरानको एकेडेमीमा २ पटक खेलाडी उत्पादन गरिएको थियो । २०६६ देखि २०७० सम्म सञ्चालनमा आएको एकेडेमी त्यसयता पूर्णतः बन्द छ । बन्द भएपछि स्थानीयले २०७४ फागुन १४ गते धरान–१७ का वडाध्यक्ष सूर्यकुमार भट्टराई (मनोज) मार्फत् अखिल नेपाल फुटबल सङ्घ (एन्फा) लाई सञ्चालन गर्न भन्दै ज्ञापन–पत्र बुझाएका थिए । एकेडेमीको खेलमैदान गौचरनमा परिणत भएको भन्दै स्थानीयले सञ्चालनका लागि दबाव दिएका थिए । तर, गणेश थापा पक्षधर र कर्मा छिरिङ पक्षधरबीचको विवादका कारण एकेडेमीहरू अलपत्र बनेका थिए । अब काम चाँडै अगाडि बढ्ने बताइएको छ ।
‘मर्मतको काम अगाडि बढिसकेको छ’ एकेडेमी सञ्चालन समितिका संयोजकसमेत रहेका एन्फाका मानार्थ उपाध्यक्ष किशोर राई भन्छन्, ‘मर्मत सम्भारका लागि समिति गठन भइसकेको छ ।’ एन्फाबाट मात्रै रकम आउन बाँकी रहेकाले केही ढिलाइ भएको संयोजक राईले बताए ।