काठमाडौं/ चैत्र १ गते रिलिजको तयारीमा रहेको फिल्म ‘जानी नजानी’ को ‘एउटीलाई मुटुमा घर’ बोलको गीतको कभर भिडियो प्रतियोगिताको घोषणा गरिएको छ ।

बिहीबार काठमाडौं मैतीदेवीस्थित कान्तिपुर फिल्म एकेडेमीमा कभर भिडियो प्रतियोगिताबारे जानकारी दिइएको छ । अम्बिका शर्माको शब्द रहेको गीतमा अर्जुन पोखरेलले सङ्गीत दिएका छन् ।

अर्जुन पोखरेल र दुर्गा खरेलको स्वरमा रहेको गीतमा कविराज गहतराजले कोरियोग्राफ गरेका छन् । भिडियोमा मनिष र सुमीसँगै डेब्यु नायिका निरिशा बस्नेतलाई देख्न पाइन्छ । प्रतियोगिताको लागि कभर भिडियो कम्तीमा एक मिनेट र बढीमा चार मिनेटको हुनुपर्ने निर्माता रोशनी केसीले बताइन् ।

‘उत्कृष्ट कभर भिडियो विजेताले रोवा कम्पनीको ३२ इञ्चको स्मार्ट टिभी, दोश्रोले रोवाकै फाइभ पोइन्ट वानको साउण्ड सिस्टम, तेश्रो हुनेले २ जनाले कार्टुन क्रिउसँग तीन महिना नृत्य प्रशिक्षण गर्न पाउने छन् ।

त्यस्तै चौथो हुनेले कान्तिपुर फिल्म एकेडेमीमा एक वर्षको फिल्म डिप्लोमा कोर्ष गर्न पाउने छन् ।’ निर्देशक बसन्त अधिकारीले भने, ‘भिडियो यही २० फागुनभित्र पठाइ सक्नुपर्ने छ ।’

स्पर्धामा प्राप्त हुने भिडियोलाई डिआइडी सिजन २ का उत्कृष्ट १० मा पर्न सफल नृत्य कलाकार, नृत्य निर्देशक एवम् अभिनेता नरेशबीर कंशकारले चयन गर्नेछन् ।

फिल्ममा मनिष र निरिशासँगै सन्नी सिंह, नम्रता श्रेष्ठ, प्रकाश अधिकारी, कृष्णभक्त महर्जन, रोशनी केसीलगायतको अभिनय रहेको छ ।