धरान/ ग्रामीण र पहाडी भू-भागमा पर्यटन पूर्वाधार विकास गर्नका लागि स्थानीयलाई होमस्टे (घरबास) सञ्चालनका लागि उत्प्रेरित गरिएको छ । धरान उपमहानगरपालिकाको धरान पर्यटन विकास समितिले दुई दिने सहजीकरण कार्यक्रम आयोजना गरेपछि नौं वडा समुदाय होमस्टे गर्न तयार भएका छन् ।

बिहीबार र शुक्रबार होटल सेछमा आयोजित सहजीकरण कार्यक्रममा धरान ४ र २० का नौं समुदायले विभिन्न सामुदायिक होमस्टे सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् । धरान–४ को देवीथान, सेर्गे, सिरिगाउ, हर्दिया, पत्रङबारी र वसन्तटारमा होमस्टेका लागि तयारी गर्ने सहभागीहरूले प्रतिबद्धता व्यक्त गरेका छन् ।

त्यस्तै, धरान–२० को चिण्डेडाँडा, माछामारा र कोकाहा सामुदायिक होमस्टे सञ्चालन गरिने भएको हो । सो कार्यक्रममा चक्र राईको संयोजकत्वमा नौं समुदायका एक–एक सदस्य रहेको धरान सामुदायिक होमस्टे एसोसिएसनसमेत गठन गरिएको छ ।

धरान उपमहानगरपालिकाकी कार्यवाहक प्रमुख मञ्जु भण्डारीले उद्घाटन गरेको सहजीकरण कार्यक्रमको समापन भने प्रदेशसभा सदस्य उमिता बराइलीले गरेकी थिइन् । सहभागीहरूलाई होमस्टे एसोसिएसन नेपालका वरिष्ठ उपाध्यक्ष यदुमणि निरौला पर्यटनकर्मी वासुदेव बराल र मोहन श्रेष्ठले होमस्टे सञ्चालन पर्यटनका तत्व, पर्यटन बजारीकरणबारे जानकारी गराएका थिए ।

धरान पर्यटन विकास समितिकी सदस्य एलिना मगरको संयोजकत्वमा भएको कार्यक्रममा समितिका सहसंयोजक किशोर थुलुङले होमस्टे सञ्चालनका लागि उपमहानगरपालिकाकाले आगामी वर्षदेखि बजेट विनियोजन गरेर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । कार्यक्रममा ३५ जना सहभागी थिए ।