भद्रपुर/ पूर्वको विराटनगरमा हक्की खेल प्रतियोगिता भएको तीस वर्षपछि झापामा हुने भएको छ । नेपाल हक्की सङ्घको आयोजना तथा राष्ट्रिय खेलकूद परिषद्को संयोजनमा प्रतियोगिता हुने भएको हो ।  वि.सं.०४५ सालमा विराटनगरमा यो खेल भएको थियो । आयोजकले शुक्रबार अपराह्न मेची रङ्गशाला भद्रपुरको खेलमैदानमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रतियोगितासम्बन्धी जानकारी गराएको हो ।

२६ गते शनिबार देखि फागुन १ गतेसम्म प्रथम शिखर पुरुष गिरिजाप्रसाद कोइराला स्मृति राष्ट्रिय हक्की प्रतियोगिता सञ्चालन गरिने हक्की सङ्घका सचिव तथा प्रतियोगिताका संयोजक रञ्जन थापाले जानकारी दिए । सातओटा प्रदेश मध्ये झापाको पनि भद्रपुरमा रहेको मेची रङ्शाला इतिहास बोकेकाले यही स्थान रोजिएको संयोजक थापाले बताए । पूर्वको विराटनगरपछि मेची अञ्चलमा नै पहिलो पटक यो प्रतियोगिता सञ्चालनमा ल्याइएको थापाको भनाइ छ ।

वि.सं. २०११ सालमा दर्ता भएको यो खेल सातौ संस्थामा परे पनि वि.सं.२०४६ सालको राजनीतिक परिवर्तनपछि पछि परेको उनले बताए । अन्य खेलसँगै हक्कीखेल ओझेलमा परेका कारण क्रमशः अन्य खेल आफनै ढङ्गले चले पनि हक्की खेल अगाडि आउन नसकेकाले अब यसलाई उचाइमा पुर्याइने उनले बताए ।

नेपाल बाहिर पाकिस्तानमा ५० जना नेपाली खेलाडी लगेर एक महिनासम्म प्रशिक्षण पाएकामध्ये अधिकांश झापाका खेलाडीले सहभागिता जनाएकाले पनि यो स्थान रोजिएको उनको भनाइ छ । हक्की खेलमा १७४ देशमध्ये ८८ औँ स्थानमा नेपाल रहेको उनले जनाए । नेपालका चार जना खेलाडीलाई पाकिस्तानले अनुबन्धसमेत गरेको उनले जानकारी दिए ।

खेलमा ६ ओटा प्रदेश र एक नेपाली सेना गरी सात प्रदेशको सहभागिता रहनेछ । शनिबार बिहान ९ बजे हुने उद्घाटन खेलमा प्रदेश ३ र गण्डकी प्रदेशबीच हुने मुख्य प्रशिक्षक विजयन्त शर्माले बताए । प्रत्येक दिन तीनओटा खेल २८ गतेसम्म हुनेछ । सेमिफाइनल २९ गते र फाइनल खेल फागुन १ गते हुने शर्माले बताए ।

प्रत्येक खेलमा म्यान अफ द म्याच र उत्कृष्ट ४ खेलाडीलाई जनही ५ हजार नगद पुरस्कार प्रदान गरिने जनाइएको छ । विजेता टिमले पाउने पुरस्कारका बारेमा टुङ्गो नलागे पनि झापा खेलकुद विकास समितिले विजेता र उपविजेतालाई प्रदान गरिने नगद पुरस्कारमा केही सहयोग गर्ने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शङ्कर थापाले घोषणा गरेका थिए ।

प्रतियोगितामा छनोट भएका टिमले आउँदै गरेको आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश हुन पाउने व्यवस्था गरिएको जनाएको छ ।

खेललाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार खेलाइने छ भने खेलमा दुवैतर्फ बराबर गरी २२ जाना समावेश हुने सहायक प्रशिक्षक ज्ञानेन्द्र खड्काले बताए । फुटबल खेल जस्तै भए पनि डि एरियाबाट गरेको मात्र गोल हुने नियम रहेको छ । खेल अवधि १५ मिनेटको अन्तरमा विश्राम गर्दै चार पटक खेलाइने उनले बताए । खेल सम्पन्न गर्नका लागि अनुमानित २० लाख रुपैयाँ खर्च हुने उपसंयोजक बाबुराम नेपालले जनाए ।

झापामा पुरुषतर्फ खेल सम्पन्न भएपछि अर्को क्षेत्रमा महिलाबीच प्रतियोगिता आयोजना गरिने खड्काले जनाए । प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले गर्ने आयोजकले जनाएको छ ।

मेची रङ्गशालामा पछिल्लो पटक विभिन्न प्रतियोगिता हुँदै आएको समितिका अध्यक्ष थापाले जनाए । मेची अञ्चलकै एकमात्र रङ्गशाला भद्रपुरमा रहेकाले यसको पूर्वाधार विकासका लागि निरन्तर निर्माण कार्य जारी रहेको उनले बताए ।

समितिका अध्यक्ष थापाको सभापतित्वमा भएको कार्यक्रममा खेलाडी सिर्जना तामाङ, सहायक प्रशिक्षक राजेन्द्र पाठक, पूर्व खेलाडी नेत्र तामाङलगायतको उपस्थिति थियो भने कार्यालय प्रमुख टहलदास मैनालीले कार्यक्रमको सहजीकरण गरेका थिए ।