स्वर्गको एउटा टुक्रा मुस्ताङ घुम्न जाँदा ...

alt
  • माघ २७, २०७५
  • ८१ पटक पढिएको
  • क्रान्ति लिम्बु

रातको १० बजेको थियो तै पनि मलाई निन्द्राले छोएको थिएन । किन की भोलिपल्ट हाम्रो मुस्ताङ जाने योजना थियो । मेरा चारजना साथीहरू मस्त निन्द्रामा थिए । म भने विहानको २ बजेको प्रतिक्षामा थिएँ ।

मन एकदम हर्ष र खुशीले भरिपूर्ण भएको थियो । किन कि म एक हप्ताको लागि मुस्ताङको यात्रामा हिड्न आटेको थिएँ । अनि केही छिन् पछि जसोतसो मलाई निन्द्राले झपक्कै छोपेछ ।

कात्तिकको महिना भर्खर भर्खर जाडो सुरु हुन लागेको थियो । बिहान साथीहरूको होहल्लाले मेरो निन्द्रा टुट्यो । निन्द्रालाई माया मार्दै जाडोमा म उठे । लुगाफाटा सबैले लगायौँ र त्यस पछि बाइकमा झण्डा बाद्न थाल्यौँ । हात मुख धोएर चिया पियौं ।

मिठो चिया बनाएर दिनुहुने दिदीलाई धन्यवाद दियौं । त्यसपछि हामीले बाइकमा सामुहिक तस्विर लियौँ । यात्रामा जाने मध्य म सबै भन्दा कान्छो भएका कारण सबैलाई दाई भन्थे । यात्रामा दाईहरु रविन , प्रमिस , पुजन, सुमन र म हिड्ने तरखर गर्याे ।

हामी मोरङबाट विहानको २ बजे नै हिड्यौ । बिहानीको चिसो सिरेटो लाई चिर्दै हामी यात्रामा निस्कियौं । यात्रामा केहि नहोस् भनेर मनमनै भगवानलाई प्राथना पनि गरें । केहि समय बाईकमा हिडेपछि रातीको अनिँदोले निदाएछु । दुईपटक त भुसुक्कै निदाएछु ।

दाईहरुले ननिदाउन भनेपछि कसो कसो गर्दा मलाई निन्द्राले पनि छोड्यो । त्यतिखेर घाम पनि माथि पुगिसकेको थियो । यात्राको क्रममा बाटामा हरियो वन जंगल, तराईको फाँट अनि पहाडको सौदर्यता हेर्दा हेर्दै बाटो कटेको पत्तै भएन । खोला नदी किनार यात्रा गर्दागर्दै हामी चितवन आईपुग्यौं ।

चितवन पुगेपछि खाना खायौं । बाटामा नास्ता मात्र खाएकोले धेरै भोक लागेको रहेछ । खाना खाएर नेपालकै ठूलो बस पार्कको अवलोकन गर्याै । त्यसपछि नेपालको गोवा भनेर परिचित नारायणी नदीको किनारमा पनि केही समय बितायौँ । नारायणी नदिको सुसाहट संगै तस्वीर लियौं । अनि चितवनबाट पोखरामाबास बस्ने गरि हामी चितवनलाई बिदा माग्दै पोखरा लाग्यौँ ।

हरियो त्रिशुली नदीको डिलैडिल हामी अगाडी बढ्यौं । बाटोमा जननेता मदन भण्डारी प्रतिमूर्ती पनि हेर्ने अवशर मिल्यो । पहिलो पटक यो बाटो हिडेको हुँदा यस अघि देखेको थिईन् । दासढुंगा भनिदो रहेछ यसठाउँलाई । दासढुंगा काण्ड सम्झिँदा मन खिन्न भएर आयो । त्यस पछि हामी निरन्तर रुपमा अगाडि बढिरह्यौंँ ।

जब पोखराको आसपास आउन लाग्दा मलाई जाडो महसुस भयो । पोखरा जाने बाटो निर्माण कार्य हुदै गरेकोले बाटो बिग्रिएको थियो । केही समय नबिदै हामी बेलुकीको ६बजे तिर पोखरा पुग्यौ । हाम्रो यात्राको अर्को पात्र गुणराजदाईसँग पनि भेट भयो ।

हामीले पोखरामा खाजा खायौँ , अनि बाग्लुङमा बास बस्ने निणर्य गर्याै । बागलुङ जिल्लालाई झोलुङ्गे पुलको जिल्ला भनेर पनि चिनिन्छ । नेपालको नक्सा जस्तै भएको भनेर पनि । नेपालमा सबैभन्दा बढी पानी पर्ने कास्की जिल्ला पोखराको लुप्लेको बाटो हुदै रातारात निरन्तर रूपमा अगाडि बढ्यौँ ।

रातको समय बाटो खतरा र बिग्रिएको हुँदा यात्रा जोखिमपूर्ण थियो । मलाई साह्रै डर लाग्यो । हामी बिस्तारै बिस्तारै अगाडि बढिरह्यौँ । केही छिन् पछि बाग्लुङ पुग्यौँ । पहिलो रात हामी बागलुङमा बस्यौँ । असाध्यै जाडो थियो । पानी पनि ज्यादै चिसो । हातखुट्टा धोएर खाना खायौँ । त्यस पछि मैले घरमा फोन गरे । सकुशल बागलुङ पुगेको समाचार सुनाए । लामो यात्रा पछि शरीर सारै थाकेको थियो । म कोठामा ढल्के त्यति कै म सुते छु।

भोलिपल्ट बिहान साह्रै जाडो थियो । गुणराज र पुजन दाईले मलाई बिहानै उठाउनु भयो । झोलुङ्गे पुल घुम्न जाने प्रस्ताव राख्नु भयो । तर अरू दाईहरु मस्त निद्रामा हुनुहुन्थ्यो । झिसमिसेमा हामी ५मिनेटको पैदल यात्रा गरेर झोलुङ्गे पुल पुग्यौं । झोलुङ्गे पुल धेरै अग्लो थियो । मलाई असाध्यै डर लाग्यो । अनि रमाईलो अनुभूति पनि गरें । त्यसपछि हामी बाग्लुङलाई छाडेर वन जङ्गल डाँडाकाँडा खोला,नदी पार गर्दै बेनी बजार पुग्यौँ ।

जोमसोम जोमसोम....पोखरा पोखरा .. भनेर कराउने बसको सहचालक(खलासी) हरूले बेनीबजारको माहौल निकै रमाइलो बनाईरहेको थियो । बेनीमा खाजा पानी खाएर हामीले ल्याएको रेनकोट र जुत्ता लगायौं । अनि हामी उकालो लाग्यौँ ।

जब हामी उकालो लाग्यौँ , प्राकृतिक सुन्दरताले मेरो मन हर्षित हुँदै गयो । मस्र्यायाङ्दी नदीको तिरै तिर उकालो लाग्दै गर्दा, मस्र्यायाङ्दी बगेर ....भन्ने गीतको याद आयो । मनमा ति गीत गुनगुनाउँदै अगाडि बढ्यौं । बाटोमा च्याङ्ग्राको बथानको दृष्य अझ लोभलाग्दो देखियो ।

बाटो निर्माण कार्य हुदै गरेकोले बाटो धुलै धुलो थियो । मेरो गाला र आँखा धुलोले र चोसोले रातो भएको थिएछ । कठीन यात्रा थियो तर प्रकृतिको सुन्दरता अनि झरनाको छङ्छङ् आवाज त्यस पछि चराको चिरबिर धुन र हिमालको मुस्कानले त्यो कठिन यात्रा सबै विर्सिए ।

त्यो कठिन यात्रा पछि हामी म्याग्दी पुग्यौँ । म्याग्दीको तातो पानी भन्ने ठाउँ सारै अचम्म रहेछ । आफै तातो पानी उम्रिने ठाउँ सारै आश्चार्य लाग्यो । कयौँ पर्यटकहरू तातोपानीमा नुहाउन आउदो रहेछन् । तातोपानीमा भएको भिडभाडका कारण हामी चाहि निस्केनौं । हामी अगाडि बढ्यौँ।

म्याग्दीलाई माया मर्दै हामी झासा तिर अगाडि बढ्यौँ । तर झासा आईपुग्नु अघि एउटा सुन्दर झरनाले मेरो मन छोयो । यो झरना बाटो मै परेकाले मैले राम्रोसँग नियाले । तर बस्न भने पाएनौँ किन भने हामीलाई जसोतसो मुस्ताङ पुग्नु हतार थियो । सारै रमाइलो थियो त्यो पल ।

केही समय पछि हामी झासाको प्रहरी चौकी आइ पुग्यो । त्यहाँ वाईकको नम्बर दर्ता गर्नु पर्दो रहेछ । हामीले झासाको होटेलमा खाना खायौँ । झासा सारै राम्रो वरिपरी पहाड र अनि धूपी र सल्लाहरूको रूखले घेरिएको थियो । झरनाको आवाज र फूलको सुबास र शिरमा हिमाल सारै रमाइलो लाग्यो । झासालाई संसारकै सस्तो मार्फा पाउने ठाउँले पनि परिचित रहेछ ।

झासाका मानिसहरु आफ्नो परम्परा र सँस्कृतिलाई धेरै माया गर्दो रहेछन् । बौद्ध धर्मावलम्बीहरु बहुसंख्यक रहेछन् । त्यहाँका बुढा आमाबाहरू आफ्नै भेषभुसा लगाउँदो रहेछ । आफ्नै भाषामा बोल्दा रहेछन् । आफ्ना भेषभुषा र भाषा प्रति उनीहरुको लगाव देखेर म ज्यादै प्रभावित भएँ ।

त्यहाँका साना साना नानीहरूको स्याउ जस्तो राताराता गालाले कति सुहाउदिला देखिन्थे । त्यहाँका घर खेत देखेर अचम्म लाग्यो । चलचित्र कबडी कबडी फिल्मको याद पनि आयो । ढुङ्गाको बाटो ढुङ्गाकै घर अनि सबै जग्गा ढुङ्गाले बारेको , त्यो मिहिनेत देखेर मलाई पनि केही गर्नुपर्दोरहेछ भन्ने मनमा लाग्यो ।

झासाको यो रमाईलो दृष्यलाई छाडेर हामी मुस्ताङ रमणीय स्थलमा प्रबेस गर्यौं । हामी अब केही समयपछि जोमसोम पुग्छौँ भन्ने खबरले मलाई सारै खुशी बनायो । त्यस पछि जोमसोम जाँदै गर्दा बाटोमा ढुङ्गा खस्यो त्यस पछि हामी होसियार पुर्वक यात्रा गर्यौँ । र जोमसोम आउन लाग्दा हामीले एउटा नदी पनि तर्नुपर्ने रहेछ ।

तर हामीले अर्को बाटोबाट नदीको किनार गयौँ । जोमसोम पुग्न लाग्दा जोमसोमे बजार भन्ने गीत गुनगुनाउन मन लाग्यौँ । जाँदाजादै बाटोमा सुमनदाईको बाइकको स्टेन भाँचिएको थाहा भएन । जोमसोम पुग्दा मात्र मलाई थाहा भयो । हामीले जोमसोममा कोठा लियौँ । बाइक बनाउन बजारमा गयौँ।

मोटरसाइकल ग्यारेजमा सारै महँगो भने पछि हामीले स्टेन मर्मत गरेनौँ । महँगो हुनु स्वभाविक पनि छ । बेलुकीको ६ बजे तिर हामी जोमसोम बजार घुम्न निक्यौ । बजार सारै भिडभाड थियो । त्यस पछि जोमसोम स्थित नेपाल आर्मी क्याम छेउसम्म पुग्यौँ । एयरपोर्ट छेउ पुलमा केही बेर बस्यौ । धेरै चिसो हावा चल्न थाले पछि हामी सबै होटल लाग्यौँ ।

हाम्रो रुम एयरपोर्ट छेऊमा थियो । केही बेर एयरपोर्ट हेरेपछि , म बाहिर एकै छिन् निक्ले । जुत्ता नलगाई जोमसोम बजार तिर राती रिचार्ज खोज्न हिँडे । यो मेरो जीवनको एउटा नविर्सने क्षण नै भयो । रिचार्ज पसले बिच मिठो कुराकानी भयो । पसलेको भनाइ अनुसार जोमसोमका अधिकांश मानिसहरु युरोपियन देशमा वसोवास गर्दो रहेछन् ।

अनि त्यहाँ चाहि विभिन्न जिल्लाबाट व्यवसाय चलाउन आउदा रहेछन् । जोमसोममा सारै जाडो, ढुङ्गा उडाउने हावा चलिरहेको थियो । भोलि हामी मुक्तिनाथ जाने सल्लाह गर्दै म पनि दाईहरूसंँगै निदाएछु ।

भोलिपल्ट बिहान लकलक काम्दै म फ्रेस हुन बाहिर निस्किएँ । त्यसपछि हामी निरन्तर रूपमा अघि बढ्यौ । मैले बाटोमा निकै भिडियो पनि गरे । हामी लगभग मुक्तिनाथ पुग्न केही छिन मात्र बाँकी थियो । हामी ११ बजे कागबेनी पुग्यौं ।

कागबेनी देखि मुक्तिनाथ सम्म कालोपत्र रहेछ । अत्यन्तै सुन्दर लाग्यो मलाई त्यो दृष्य । यति सुन्दर ठाउँ मैले प्रत्यक्ष रुपमा देखेको थिईन । मुस्ताङ स्वर्गकै टुक्रा रहेछ । हामीले गाडी रोक्यौँ र तस्वीर गीत गाउन थाल्यौँ ।

त्यस पछि हामी मुक्तिनाथ दर्शन गर्न लाग्यौं । कालोपत्रे मुक्तिनाथसम्म थियो । साह्रै रमाइलो दृष्य हेर्दै मुक्तिनाथ पुग्यौँ । मुक्तिनाथको शिरमा सुन्दर हिमालले झनै सुन्दर देखिएको थियो । हामी मन्दिर भित्र प्रवेश गरि दर्शन गर्यौ । साह्रै जाडोको कारण नुहाउन सकेनौँ ।

यहाँ धेरै तिर्थ यात्रीहरू आउने जाने रहेछन् ।मुक्तिनाथ वरिपरि स्याउ निकै हुदो रहेछ । कागवेनीमा पनि स्याउहरू धेरै उत्पादन हुदो रहेछ । मैले स्याउको बोटमा चढेर जीवनमा पहिलो चोटी स्याउ खाएको थिएँ ।

त्यसपछि मुस्ताङ भ्रमण पुरा गरेर सहजरुपमा घर आयौँ । आज भोलि बजारमा स्याउ देख्दा मुस्ताङको त्यो रसिलो स्याउ खाएको याद आउने गर्छ ।
(लेखक : ईन्द्रपुर जुनियर जेसिजका उपाध्यक्ष हुन्)

पथरी क्याम्पसमा स्ना

पथरी । मोरङको पथरीशनिश्चरे–१, स्थित पथरी बहुमुखी

धरानमा मन्त्र व्याण्

जिरोपोइन्ट/ यही फागुन १२ गते धरानमा मन्त्र व्याण्ड आउने

धर्मेन्द्रको ‘कता हि

गायक धर्मेन्द्र सेवनको स्वरमा नयाँ गीतको म्युजिक भिडियो

ताप्लेजुङका व्यवसायी

ताप्लेजुङ/ बैंकको ब्याजदर वृद्धि भएको भन्दै ताप्लेजुङका


हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved