पोखरा / पोशाक महासंघ, नेपालको आयोजनामा आउँदो चैत २८ देखि ३० गतेसम्म पोखरामा अन्तर्राष्ट्रिय फेसन सप्ताह हुने भएको छ ।

नेपालको राष्ट्रिय पोशाक, आदिवासी जनजाति, रैथाने, लोपोन्मुख पोशाकका बारेमा जानकारी दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिन लागिएको पोशाक महासंघका अध्यक्ष नविन लुइँटेलले पत्रकार सम्मेलन मार्फत जानकारी दिए।

‘नेपाल बाहेक ५ बाह्य मुलुकहरुले सहभागिता जनाउने तय भइसकेको छ,’ उनले भने, ‘पर्यटन वर्ष २०२० लाई सहयोग गर्ने हेतुले पनि कार्यक्रमले महत्व राख्ने विश्वास लिएका छौं । एउटै स्टेजबाट नेपाल सहितका अन्य राष्ट्रको पोशाक प्रदर्शन गराइने भएकोले पोशाकका सांस्कृतिक विविधता झल्कने छ।’

हलिउड तथा बलिउड, ओस्कार, ग्रामीमा सेलिब्रेटीहरुले पहिरी सकेका ज्वेलरी डिजाइनका ख्याती प्राप्त डिजाइन मोना सार्फ कार्यक्रमको अन्तिम दिन उपस्थित हुने भएको महासंघका महासचिव अधिवक्ता राजन ढुंगेलले जानकारी दिए।

पहिलो पटक सन् २०१४ अगस्ट १५ देखि १८ मा इन्डोनेसियाको पुरातात्विक सहर सुरावयामा सम्पन्न एसियन फेसन सप्ताहको संस्करण स्वरुप यस वर्ष पोखरामा आयोजना गरिन लागेको पोशाक महासंघले जनाएको छ। फेसन सप्ताहका लागि महासंघले स्थानीय निकाय, विभिन्न सम्बन्धित संघसंस्थाहरुसँग समन्वय गरिने महासचिव ढुंगेलले बताए।

यसअघि महासंघले सन् २०१८ अप्रिल २२ मा ‘इन्डियन इन्टिमेट फेसन विक’ भारतको मुम्बई तथा मलेसियाको इपो सहरमा नोभेम्बर ९ देखि ११ सम्म ‘इन्टरनेसनल इपो फेसन विक’ आयोजना गरिसकेको जानकारी दिइयो।

पोखरामा हुने कार्यक्रममलाई ‘द काठमाडौं पोस्ट’ले प्रिजेन्टरको रुपमा साथ दिने भएको छ। प्रवर्द्धकको रुपमा नेपाल पर्यटन बोर्ड र भिजिट नेपाल २०२० रहनेछन्। कार्यक्रमलाई सिल्भर इन्टरटेनमेन्टले व्यवस्थापन गर्ने भएको छ।