बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानका बालरोग बिभागमा काम गर्दा शिशुहरू को परिबार शिशुको हेरविचार कसरी गर्ने भन्ने प्रश्न बारम्बार आउने गर्छ । नवजात शिशु अवस्था सबैभन्दा संवेदनशील उमेर हो । जन्मदेखि २८ दिन वा १ मिहनासम्मको उमेरलाई नवजात शिशु अवस्था भनिन्छ । यस उमेरमा बालकलाई बाहिरी वातवरणमा समायोजन हुन निकै कठिन हुन्छ ।

विशेष हेरचाह र वातवरणमा समायोजन हुन नसकेकै कारण धेरै शिशुको मृत्यु हुने गरेको छ । नेपालको सन्दर्भमा हजार नवजात शिशुमा ४० को मृत्यु हुने गरेको छ । शिशुको पर्याप्त हेरविचार अत्यावश्यक छ किनभने उनीहरू आफ्ना बारेमा केही पनि बताउन सक्दैनन् त्यसैले शिशुको सही हेरचाह गरे उसको मनमा भएको कुरा सही ढंगमा बुझ्न जान्न सकिन्छ।

शिशुको जन्म हुनासाथ न्यानो, सफा तथा नरम कपडाले पुछेर आमाको छातीमा दुई स्तनको बीचमा केही समय टाँसेर राखिदिनुपर्छ। यसो गर्नाले आमा र शिशुबीच आत्मीयता बढ्छ साथै यसले स्तनपान गर्न मद्दत पुर्रुयाउँछ । शिशुलाई सकेसम्म जतिसक्दो छिटो  जन्मिएको आधा घन्टाभित्र स्तनपान गराउनु वेश हुन्छ । शिशुलाई आमाको दूधबाहेक केही ख्वाउनुहुँदैन। स्तनपान गराउँदा शिशुको आसन र स्तन सम्पर्क सही हुनुपर्छ।

आमाले जुन आसनमा बसेर ख्वाउँदा सजिलो महसुस हुन्छ त्यही आसनमा दूध ख्वाउनुपर्छ । कम्तीमा पनि १५ देखि २० मिनेटसम्म एउटै स्तनबाट स्तनपान गराउनुपर्छ । यदि शिशु एउटै स्तनको दूधबाट सन्तुष्ट भए अर्को स्तन चुसाइरहनु आवश्यक छैन तर सन्तुष्ट नभए दुवै स्तन चुसाउनुपर्छ। शिशुलाई जति बढी दूध चुसायो उति नै बढी दूध बन्छ ।

शिशुलाई ६ महिनासम्म आमाको दूधमात्र ख्वाउनुपर्छ। यो उमेरसम्म शिशुलाई अतिरिक्त पानी पनि दिनु हुदैन। शिशुलाई जति बढी तिर्खा लाग्यो उति नै बढी दूध चुस्छ।शिशु ६ महिनाको भएपछि उसलाई ठोस आहाराको आवश्यकता पर्छ जसमा जाउलो, लिटो, खिचडी, हलुवा, मुछेको आलु, केरा आदि ख्वाउन सकिन्छ। सुरुमा शिशुलाई पचाउन सजिलो हुने किसिमका खानेकुरा ख्वाउनुपर्छ। यस्ता पदार्थ अर्धठोस हुनुपर्छ ।

नवजात शिशुमा शरीरको तापक्रम सन्तुलित गर्ने शक्ति कम हुन्छ र शिशुमा शीताङ्ग हुने सम्भावना जाडो मौसममा बढी देखापर्छ । शरीरको तापक्रम सन्तुलित राखी न्यानो, सफा तथा नरम कपडाले शरीर ढाक्नुपर्छ। टोपी, भोटो, दौरा-सुरुवाल तथा मोजा-पन्जा लगाइदिनुपर्छ ।

शिशुले पिसाब गरेको छ-छैन भनेर बेला-बेलामा नेपकिन चेक गरिरहनुपर्छ। यसो गर्दा शिशुले पिसाब फेरेर चिसो हुन पाउँदैन। शिशुलाई जन्मनासाथ नुहाइदिनु हुँदैन। नाभिलाई सुख्खा तथा सफा राख्नुपर्छ। नाभिमा तेल तथा अन्य कुनै पदार्थ राख्नुहँदैन। शिशुका दुबै आँखा दैनिक सफा मनतातो पानीमा कपास भिजाएर सफा गरिदिनुपर्छ।आँखामा गाजल लगाइदिने चलन हानिकारक हो। गाजलको प्रयोगले आँखा पाक्न सक्छ।

शिशु जन्मदा उसको शरीरमा पानीको मात्रा बढी हुने भएकाले एक हप्तासम्म ५ देखि ७ प्रतिशत तौल कम हुनसक्छ तर ७ देखि १० दिनमा शिशुले ुबर्थ वेटु प्राप्त गर्छ। शिशुको तौल सिस्टमेटिक ढंगबाट बढ्छ। यसलाई जान्न तथा सम्झन जरुरी छ। शिशुको तौल ४ देखि ६ महिनामा दुई गुणा बढ्छ र एक वर्षको हुँदा ३ गुणा बढ्नुपर्छ। यसैगरी शिशु जन्मदा सामान्यतया ४५ देखि ५० सेन्टिमिटर हुन्छ भने एक वर्षमा ७५ सेन्टिमिटर हुनुपर्छ।

नेपाल सरकारले बच्चा जन्मीदा साथ क्षयरोग विरुद्ध विसिजी, ६ हप्ता पुगेपछि धनुष्टंकार, लहरे खोकी भ्यागुते रोग, हेपाटाईटिस बि र हिब निमोनिया विरुद्ध डिपिटिएच हिब र पोलीयो रोग बिरुद्ध पोलियो थोपा ३ पटक, र बच्चा ९ महिना पुगेपछि रुवेला र दादुरा विरुद्ध निशुल्क खोप दिने गरेको छ । बालबालिकाले रोगबाट अकालमा ज्यान गुमाउन नपरोस भन्ने उदेश्यले सवै वालवालीकालाई खोप लगाउने गरीन्छ ।

आफूलाई कुनै कुरामा शंका लागे तुरुन्त चिकित्सकको सल्लाह लिनुपर्छ ।
(लेखक बालरोग विशेषज्ञ, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक हुन् ।)