बिर्तामोड/ बिएण्डसी हस्पिटलले बिर्तामोड २ को मोहनमाया माविमा चारतल्ले विद्यालय भवन निर्माण गर्ने भएको छ । सुस्त श्रवण भएका विद्यार्थीको शिक्षामा सहयोग पुर्याउने उद्देश्यले हस्पिटलले विद्यालय भवन निर्माण गरिदिने भएको हो ।

‘हाम्रो हस्पिटलले टिचिङ अस्पतालको सम्बन्धन पाउने पक्का भएपछि भवन निर्माण गर्ने बाचा गरेका थियौं, हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाईले भने-‘अब सम्बन्धन पाउने प्रक्रिया शुरु भएकाले भवन बनाउन लागेका हौँ । प्रसाईले हस्पिटलबाट भएको आम्दानीको ८० प्रतिशत रकम सामाजिक काममा खर्च गर्ने योजना रहेको बताए ।

‘मेरो ध्यान शिक्षा र स्वास्थ्यमा बढी छ, प्रसाईले भने-‘अन्य स्थानमा पनि भवन अभावको समस्या छ भने हामी निर्माण गरिदिने उद्घोष गर्दछौँ ।’ उनले आफुल पढ्न नपाएपनि बालबालिकाको शिक्षामा सहयोग गर्न पाउँदा खुशी लागेको बताए ।

‘जतिसुकै लागत परेपनि चारतलामा आठ कोठा रहने भवन निर्माण गर्ने भन्ने हाम्रो सल्लाह भएको छ, प्रसाइले भने-‘जतिसक्दो छिटो निर्माण गरेर हस्तान्तरण गर्ने हाम्रो प्रयास हुनेछ ।’ प्रसाँइले तीन महिनाभित्रमा पहिलो तला बनाइसक्ने गरी निर्माण शुरु गर्ने बताए ।

मोहनमाया मावी झापाको उत्कृष्ठ सामुदायिक विद्यालयमा पर्दछ । ९ सय विद्यार्थीले अध्ययन गर्दै आएको विद्यालयमा २२ जना सुस्त श्रवण भएका विद्यार्थी अध्ययन गर्दै आएको विद्यालयका प्रधानाध्यापक शेरबहादुर श्रेष्ठले जानकारी दिए ।

त्यस्ता विद्यार्थीलाई सरकारले शैशिक सामाग्री, शिक्षक र खानाको व्यवस्था गरेपनि आवासको प्रबन्ध आफै गर्नुपर्ने भएका कारण विद्यालय भवन निर्माण गरिदिन हस्पिटल समक्ष आग्रह गरेको उनले बताए ।

निर्माण सम्पन्न भएपछि पहिलो तल्लामा सुस्त श्रवण भएका विद्यार्थीको आवास र बाँकी तिन तल्लामा कक्षा ११ र १२ का विद्यार्थीहरुलाई पठन पाठन गर्न प्रयोग गर्ने विद्यालयका अध्यक्ष नारायण राजवंशीले बताए । उनले हस्पिटलले भवन निर्माणमा सहयोग गरेको प्रति धन्यवाद समेत दिएका छन् ।