काठमाडौँ / विशेष अदालतले भ्रष्टाचारको मुद्दामा नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपाल खड्कालाई रु दुई करोड ५० लाख धरौटी बुझाएर छुट्न आदेश जारी गरेको छ । 

विशेष अदालतका अध्यक्ष बाबुराम अर्याल र न्यायाधीश प्रमोदकुमार श्रेष्ठ वैद्य तथा नारायणप्रसाद पोखरेलको इजलासले आज बहसपछि खड्कालाई नेपाल इन्भेस्टमेन्ट बैंकको बैंक ग्यारेन्टी राखेर धरौटीमा छुट्ने आदेश जारी गरेकोे विशेष अदालतका प्रवक्ता पुष्प पाण्डेले जानकारी दिए । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खड्काविरुद्ध गत पुस २३ गते अकूत सम्पत्ति कमाएको भन्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो । खड्काले आफू पदमा रहँदा रु १८ करोड ६६ लाख बराबरको गैरकानूनी सम्पत्ति कमाएको आयोगले दर्ता गरेको मुद्दामा उल्लेख थियो । 

आयोगले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २० अनुसार २ वर्षसम्म कैद सजाय, बिगोबमोजिम जरिवाना तथा बिगो भराउन माग गरिएको थियो । खड्काले श्रीमती शर्मिला खड्का र अनिता लामाका नाममा अकूत रुपमा आर्जन गरेको सम्पत्ति लुकाएको आरोप लगाएको थियो ।