इटहरी/ सुनसरीको इटहरीस्थित खनारको एक सहकारीले बचतकर्ताको रकम लिएर सञ्चालक फरार भएको छ ।  
 
सर्वसाधरणले बचत गरेको लाखौं रुपैयाँ लिएर खनार बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष फरार भएका हुन् । खनारमा करिब साढे ३ वर्ष अगाडि खुलेको बचत तथा ऋण सहकारीले राखेको पैसासमेत लिई अध्यक्ष सन्तोष साह कार्यालयमा ताला लगाई फरार भएका हुन् । खनारका स्थानीय बचतकर्ता हेमलता चौधरीले भनिन् । गाउँभरीका सर्वसाधरणले पैसा बचत गरेको भए पनि लिएर गएपछि आफूहरू समस्यामा परेको बताइन् ।
 
आफूले ६६ हजार रुपैयाँ बचत गरेको बताउँदै इलाका प्रहरी कार्यालय इटहरीमा उजुरी दिएकी छन् । कार्यालयमा ताला लगाएर साह फरार भएपछि उनीसँगै करिब ७० जना बचतकर्ताहरू समस्यामा परेको चौधरीको भनाइ छ ।
 
अर्का बचतकर्ता इटहरी–११ का सुनिल चौधरीले आफूहरू सहकारीका अध्यक्ष फरार हुँदा आफ्नो ३२ हजार ५ सय रुपैयाँ गुमेको बताए । इलाका प्रहरी कार्यालय इटहरीमा भेटिएका चौधरी भन्छन्, ‘दुःख गरेर कमाएको पैसा सहकारी खाइदियो हामीलाई न्याय दिइयोस ।’
 
गाउँको सहकारीमा खाता खोलेर बचत शुरु गर्दा आफूहरू डुबेको इटहरी–११ अन्तराम माझी बताउँछन् । ३६ हजार ७ सय रुपैयाँ डुबेको उनको भनाइ छ । इलाका प्रहरी कार्यलयमा सञ्चालक समितिका अध्यक्ष साहविरुद्ध उजुरी दिन आएका अर्का बचतकर्ता फेरिलाल चौधरीले ६२ हजार रुपैयाँ फसेको बताए ।
 
पछिल्लो समय आर्थिक अपराध बढ्दै गएको इलाका प्रहरी कार्यलय इटहरीका डिएसपी शिव श्रेष्ठ बताउँछन् । उनी भन्छन्, ‘सर्वसाधरण ठग्नेहरू प्रमाण मेटाउँन चाहान्छन् तर सर्वसाधारणहरू दैनिक ठगिरहेको छन् ।’