धरान । आजको पहिलो सेमिफाइलन खेलको नयाँ तथ्य के हो भने यी दुई टोली पहिलो पटक भेट्दैछन् ।

दोस्रो तथ्य भनेको संकटाबाटै व्यवसायिक फुटबल खेलेको आयोजक धरान फुटबल क्लबका गोलरक्षक विनय श्रेष्ठको उपस्थिति । यी दुई तथ्यबीचका कहाँ मेल खाला ? र, कसले बाजी मार्ला त्यो चाहिँ तेस्रो तथ्य हुने छ । आयोजकसँग केही खेलाडीहरू यस्ता छन् जसले ए डिभिजन लिगमा उपस्थिति जनाएका छैनन् । तर, केही खेलाडी यस्ता छन् जसले वर्षौंसम्म ए डिभिजन लिग खेलेर आफ्नो अनुभव बटुलेका छन् । 

संकटाबाट व्यवसायिक खेल खेलेका गोलरक्षक विनयलाई संकटाको स्टाटिजीबारे जानकारी छ । त्यही नै धरानका लागि एड्भान्स हुन सक्छ ।

यस हिसाबले पनि आयोजकलाई घरेलु मैदानमा केही एडभान्स होला भने शहीद स्मारक ए डिभिजन लिगको उपविजेता बनेको संकटालाई सङ्कट मोचन गर्न गाह्रो नर्पला । किनकी तीन बिदेशी खेलाडीसहित ए डिभिजनमा अनुभव बटुलेका खेलाडीहरू छन् । जुन खेलाडीहरूले जुनसुकै बेला पनि खेल कौशल देखाउन सक्ने छन् ।

यो संस्करणको बुढासुब्बाको रोचक तथ्य भनेको दुई खेल सडन डेथ र दुई खेल २–० गोल अन्तरले जीत भएको छ । आजको पहिलो सेमिफाइनल खेलको अवस्थालाई चित्रण गर्दा पक्कै पनि दुवै टिम ‘विन–विन’ को स्थितिमा छ । पछिल्ला खेलको अवस्थालाई नियाल्ने हो भने धराने खेलाडीहरूले केही दबावमा राख्ने स्थिति देखिएको छ भने अग्ला कदका बिदेशी खेलाडीको उपस्थितिका कारण संकटालाई केही एड्भान्स छ ।

शारीरिक रूपमा सुगठित भएकाले पनि संकटालाई उपाधि नजिक पुग्न केही सहयोग मिल्ने छ । तर, हालसम्म भएको आयोजकको प्रदर्शनलाई आधार मान्दा पक्कै पनि यो पटक उपाधि नजिक पुग्ने केही आशा गर्न सकिन्छ । तर, त्यसका लागि खेलाडीहरूको प्रदर्शनमा भर पर्छ । संकटाका प्रशिक्षक निराजन खड्काले यसअघिको खेल जितेपछि अर्को खेल थप सम्हालिएर खेल्ने जनाइसकेका छन् । त्यो हिसाबले आयोजकमाथि दबाव हुने स्थिति छ ।

तर, धरानका प्रशिक्षक सागर घिमिरेले पनि नयाँ स्टाटिजीमा खेलिने बताएका छन् । धरानको नयाँ स्टाटिजीले केही प्रभाव पार्ला त ? यो खेलमा । हेर्न बाँकी छ । खेल ३ बजेदेखि धरान रंगशालामा हुँदै छ ।