धरान । २१ औं आमन्त्रण रेडबुल बुढासुब्बा गोल्डकपमा आयोजक धरान फुटबल क्लब १२ वर्षपछि उपाधि होडमा उत्रिएको छ ।

धरान रंगशालामा बिहीबारकोे खेलमा आयोजकले टाइब्रेकरमा लिग उपविजेता संकटा क्लब काठमाडौंलाई ४–३ गोल अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो । धरान आठौं संस्करणको उपविजेता हो । त्यसपछि पहिलो पटक धरान फाइलनमा पुगेको हो ।

निर्धारित ९० मिनेटको खेलमा गोलरहित बराबरीमा टुंगिएपछि टाइब्रेकरमा धकेलिएको थियो । जसमा आयोजकबाट वर्तमान राई, मिलन राई, योगेश राई र दोर्जे तामाङले गोल गरे । हेमन्त थापा मगरको बल विपक्षी गोलरक्षक राजाबाबु थापाले पञ्च गर्दै बचाए ।

संकटाबाट अमित तामाङ, दिपेश आले मगर, र लक्ष्मण रुचालले गोल गर्दा सेड्रिक आबा र सरोज दाहालको बललाई विपक्षी गोलरक्षक विनय श्रेष्ठले सुन्दर बचावट गरे । खेलको म्यान अफ दी म्याच पनि विनय नै घोषित हुँदै नगद १५ हजार रुपैयाँसहित ट्रफी पाए ।

आयोजक पहिलो पटक फाइनलमा पुग्दा क्लबका अध्यक्ष किशोर राईले खुसी साटेका थिए । प्रशिक्षक सागर घिमिरेले खेलाडीहरूको उत्कृष्ट खेल भए पनि स्कोर नस्किएको बताए । संकटा १९ औं संस्करणको उपविजेता हो । उसले लिगबाहेकका अन्य खेलमा गतिलो प्रदर्शन गर्न सकेको थिएन ।