धरान । २१ औं आमन्त्रण बुढासुब्बा गोल्डकपमा पाहुना टोली डाफिन्स क्यामरुन र आयोजक धरान फुटबल क्लब उपाधिका लागि आमनेसामने भएका छन् ।

शुक्रबारको खेलमा पाँच पटक विजेता नेपाल पुलिस क्लबलाई सडन डेथमा पराजित गर्दै आयोजकसँग भेट पक्का गरेको हो । यसअघि आयोजकले संकटा क्लबलाई पराजित गर्दै फाइलनमा पुगिसकेको छ । उपाधिका लागि शनिबार भिडन्त हुँदै छ । विजेताले नगद ८ लाख र उपविजेताले नगद ४ लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्दै छन् । डाफिन्सले गत शनिबार मात्रै पोखरमा सम्पन्न मनकामना केबलकार गोल्डकप जितेको थियो भने पुलिसले खप्तड गोल्डकप उचाल्दै यो सिजनमा सुखद सुरुवात गरेको थियो ।

निर्धारित समयसम्म गोलरहित बराबरीमा टुंगिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा दुवै टिमबाट ५–५ गोल गरेपछि सडन डेथमा पुलिसका बिक्रम धिमालको बल विपक्षी गोलरक्षकले बचाए । सडन डेथमा डाफिन्सका प्रिसो नज्दाङ्गा र जो अङ्गोउला चुकेनन् । टाइब्रेकरमा पुलिसबाट अजित भण्डारी, देवेन्द्र तामाङ, भरत साह, तीर्थ राना मगर, हरि कठायतले पोष्टको दिशा दिए ।

डाफिन्सबाट सिलो मार्टिन्स, पेटनेगा, विभिक–विभिक, इकावेम, यानिक ओवोनाले गोल गरे । सडन डेथमा पुलिसबाट निरकुमार राईले मात्रै गोल गरे । १२ वर्षपछि पहिलो पटक उपाधि नजिक पुगेको आयोजक टोलीका लागि डाफिन्स बाधक बन्ने अवस्था छ । फाइनल खेलको समापनमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राई आउँदै छन् ।