मोरङ/ नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलका सञ्चालक डा. सुनिल शर्माले एक हजार विद्यार्थीलाई चिकित्सा शिक्षा निःशुल्क पढाउने घोषणा गरेका छन् ।

३ सयभन्दा बढी विद्यार्थीलाई ‘स्तरीय र महँगो’ चिकित्सा शिक्षा निःशुल्क पढाइसकेका डा.शर्माले जम्मा एक हजार विद्यार्थीलाई निःशुल्क अध्ययन गराउने उद्घोष गरेका हुन् ।

मोरङको भाउन्नेमा आयोजित नेपाल दलित सङ्घको ३ नम्बर क्षेत्रीय अधिवेशनलाई सम्बोधन गर्दै डा. शर्माले भने ‘नोबेलमा हामीले गरिब, विपन्न, दलित र पिछडावर्गका विद्यार्थीलाई छनोट गरी निःशुल्क पढाउँदै आएका छौं । अहिलेसम्म ३ सयभन्दा बढी विद्यार्थीलाई पढाइसक्यौं , जम्मा एक हजार विद्यार्थीलाई निःशुल्क पढाउछौँ ।’ आगामी शैक्षिक सत्रमा ६२ जना विद्यार्थीलाई निःशुल्क पढाउने जानकारी दिँदै डा. शर्माले आफूले सकेसम्म यो क्रमलाई जारी राख्ने बताए ।

गरिब, विपन्न तथा पिछडावर्गका विद्यार्थीलाई प्राथमिकतामा राखेर निःशुल्क अध्ययनका लागि छनोट गरिने भए पनि विद्यार्थी छान्ने क्रममा पार्टी अथवा कुनै क्षेत्र विशेष नहेरिने डा. शर्माको दावी छ । नेपाली काङ्ग्रेसका महासमिति सदस्यसमेत रहेका डा. शर्माले कार्यक्रममा सहभागीलाई लक्षित गर्दै भने ‘यो मानवीय काम हो, यसमा कुनै पार्टी वा क्षेत्र नहेरी वास्तविक रूपमा कठै भन्ने अवस्थाका विद्यार्थीलाई हामीसँग ल्याउनुहोस्, हामी निःशुल्क पढाइदिन्छौं ।’

डा.शर्माले गाउँ–गाउँका गरिब तथा विपन्न विद्यार्थीलाई लगेर डेण्टल हाइजिन, रेडियोग्राफी, ल्याब टेक्निसियन, स्टाफ नर्स, बीडीएसदेखि एमबीबीएससम्म पनि निःशुल्क पढाउँदै आएका छन् । ३ लाखदेखि ६० लाखसम्म खर्च लाग्ने कोर्ष डा.शर्माकै लगानीमा विद्यार्थीले निःशुल्क पढ्न पाएका छन् ।

दलित समुदायको तर्फबाट नोबेलमा निःशुल्क अध्ययन गर्दै आएका विद्यार्थीलाई पनि कार्यक्रममा बोल्न दिइएको थियो । सो क्रममा बोल्दै उनीहरूले कमजोर आर्थिक अवस्थाका कारण सामान्य विषय पनि पढ्न नसकिरहेको अवस्थामा उत्कृष्ट र महँगो शिक्षा निःशुल्क पढाइदिएको भन्दै उनीहरूले कृतज्ञता प्रकट गरे ।