फाँसीको सजाय दिनका लागि उहाँहरूलाई काठमाडौंस्थित सेण्ट्रल जेलको (गोलघर)बाट बाहिर निकाल्दै गर्दा जेलमा सँगै लामो समयसम्म बसेका साथीहरू राधाकृष्ण मैनाली, केपी शर्मा ओली, सिपी मैनाली, मोहनचन्द्र अधिकारीलगायतका अन्य नेता साथीहरूलाई भीमनारायण श्रेष्ठले जीवन रहे भेट हुन्छ ।

मिलेर सङ्घर्ष गरिन्छ । नरहे हाम्रो भेट यति हो । बाँचेकाले क्रान्ति गर्नू मेरो यही खबर सुनाइदिनू र कप्तान यज्ञबहादुर थापाले पापीहरूसँग झुकेर मर्नुभन्दा ठाडै तातो गोली खाएर मरिन्छ । एकदिन रगतको मूल्य मिल्ला जनतालाई भन्ने सन्देश सबैलाई पु¥याइदिनू भनेर आग्रह गर्नुभएको हो । उहाँहरूको उक्त भनाइ पढ्दा होस् वा सुन्दा होस् जो कोहीलाई अहिले पनि छाती फुलेर आउँछ । अनि रगत तातेर आउँछ र उहाँहरूप्रति नतमस्तक भई सम्मान गर्न मन लाग्छ ।

प्रजातन्त्रको पक्षमा निरङ्कुश पञ्चायती व्यवस्थाको विरुद्धमा सशस्त्र सङ्घर्ष गर्दा पक्राउ परी फाँसी दिइएका पूर्वका दुई तारा भीमनारायण श्रेष्ठ र कप्तान यज्ञबहादुर थापालाई राज्यले बिर्सिएको छ । ती महान् दुई योद्धालाई शत्रुले जीवनभर र मृत्युपछि पनि चिने तर उनका पार्टी नेपाली काङ्ग्रेस र सँगै जेलजीवन बिताएका मित्रहरूले राम्रो ढङ्गले अहिलेसम्म चिन्न सकेनन् अहिलेसम्म बरु उल्टै अहिले बिर्सिएका छन् ।

निरङ्कुश पञ्चायती व्यवस्थाको विरुद्धमा राजनैतिक स्वतन्त्रताका निम्ति बलिदान दिने शहीद भीमनारायण श्रेष्ठ र कप्तान यज्ञबहादुर थापालाई राज्यले अनि उनीसँग कठोर जेलजीवन बिताएका अहिलेका प्रधानमन्त्रीदेखि मन्त्री र नेताहरूले यतिबेला बिर्संदा उहाँहरूको योगदानको अवमूल्यन भएको छ ।

आफ्नो लागि होइन, अरुका लागि बलिदान दिने लुटिएका पूर्वका चम्किला तारा (भीमनारायण श्रेष्ठ र कप्तान यज्ञबहादुर थापा)लाई राज्यले बिर्सिएको र बेवास्ता गरेको भए पनि वहाँहरूको गत माघ २६ गते स्मृति दिवसको दिन स्मरण गर्दै सम्मान ग¥यौं । उहाँहरूसँगै कठोर जेलजीवन बिताउनुभएका केपी ओली अहिले प्रधानमन्त्री हुनुहुन्छ । अन्य दर्जनौं उहाँहरूका साथीहरू मन्त्री भैसक्नुभएको छ भने धेरै वरिष्ठ नेता हुनुहुन्छ तर पनि उहाँहरूलाई राज्यले उहाँहरूले दिनुभएको अतुलनीय योगदानको त्यति सम्मान गरेनन् । उल्टै बिर्संदै जानु ठूलो विडम्बना भएको छ ।

प्रजातन्त्र स्थापनाका लागि युवावस्थादेखि नै नेपाली काङ्ग्रेसमा क्रियाशील रहनुभएका भीमनारायण श्रेष्ठलाई २०३० साल चैत्र ३ गते विराटनगरमा राजा वीरेन्द्रलाई बम हानेको अभियोगमा र नेपाली सेनाको जागिरबाट राजीनामा दिएर नेपाली काङ्ग्रेसमा सक्रिय भै नेपाली काङ्ग्रेसको निर्देशनमा पूर्वक्षेत्रको कमाण्डरको जिम्मेवारी दिई पूर्वक्षेत्र कब्जा गर्ने क्रममा कप्तान यज्ञबहादुर थापा ओखलढुङ्गाको टिम्मुरबोटे काण्डमा घाइते भई पक्राउ परेपछि उहाँहरू दुवैलाई लामो समयसम्मको कठोर जेल यातनापछि फाँसीको सजाय दिँदै २०३५ माघ २६ गते गोली हानी हत्या गरेर जबरजस्ती उहाँहरूलाई तानाशाही पञ्चायती सरकारले लुट्यो ।

नेपाली काङ्ग्रेसमा सक्रिय रहनुभएका भीमनारायण श्रेष्ठ २०३९ साल फागुण अन्तिमतिर भाइको विवाहको सामान किन्न फारविसगञ्ज गएका बखत कप्तान यज्ञबहादुर थापाले कागजले बेरेको एउटा पोको दिँदै यो सुरक्षित रूपमा लगेर विराटनगरमा धनकुटाका रामकृष्ण श्रेष्ठलाई दिनू भनेर हेण्डग्रिनेट दिनुभएको थियो । उक्त ग्रिनेट भीमनारायण श्रेष्ठले सकुशल ल्याएर रामकृष्ण श्रेष्ठलाई दिनुभयो । रामकृष्णले पनि उक्त ग्रिनेट अर्कै साथीले भोलिपल्टै लगेको भीमनारायणलाई बताए ।

फागुण ३० गते विराटनगर झरेका भीमनारायण श्रेष्ठ र रामकृष्ण श्रेष्ठ चैत्र ३ गते राजा सवारी भएको हेर्न समीक्षालयबाट राजाको सवारी जुटकेन्द्रतिर लागेकोले उहाँहरू दुवै सवारी हेर्न विराटनगरको अस्पताल हुँदै अगाडि जाँदै गर्दा एक्कासि बम विस्फोटन भयो एक जनाको मृत्यु भयो । अन्य दर्जनौं घाइते भए । उहाँहरू पनि दुवै गम्भीर घाइते हुनुभयो ।

उपचारको क्रममा राति रामकृण श्रेष्ठको निधन भयो । उपचारकै क्रममा तीन दिनपछि अस्पतालबाटै भीमनारायण श्रेष्ठलाई राजालाई बम प्रहार गरेको अभियोगमा प्रहरीले पक्राउ गर्यो । चार महिनाको हिरासतबासपछि उहाँलाई सो बमकाण्डको मुख्य अभियुक्तको रूपमा जेल चलान गरियो । २०३१ साल असारमा उहाँलाई काठमाडौंस्थित सेण्ट्रल जेलको गोलघरमा कठोर यातनाका साथ राखियो ।

उता २०२२/०२३ सालतिर कप्तान यज्ञबहादुर थापाले तत्बालीन शाही सेनाबाट राजीनामा गरेपछि मोरङको रमाइले झोडामा सुकुम्बासी टोली बनाई बस्ती बसाल्न थाल्नुभयो । त्यहाँ पनि वन कब्जा गरी फँडानी गरेको भन्दै २०२७ साल वैशाख–जेठमा सबैतिरबाट सेनाले घेरेर गोली चलाएपछि धेरै सुकुम्बासीहरूको हत्या भयो । त्यसपछि कप्तान थापा लुक्दै–भाग्दै भारत जानुभयो र त्यहाँ उहाँको नेपाली काङ्ग्रेसका बीपीलगायतका नेताहरूसँग सम्पर्क भयो । नेपाली काङ्ग्रेसले त्यसबेला तेस्रो पटक हतियार उठाएर आन्दोलन गर्ने तयारी गरिरहेको थियो । बीपी कोइरालाको नेतृत्वमा हतियारसहितको आन्दोलन गर्ने क्रममा पूर्वमा कप्तान यज्ञबहादुर थापा कमाण्डर भएर हतियार उठाइएको थियो ।

३५ जनाको हतियारसहितको सशस्त्र टोली लिएर वनारसबाट पूर्व मधुवनी क्षेत्रबाट कमला नदी हुँदै अगाडि बढ्ने योजनाका साथ अत्याधुनिक हात हतियारका साथ यज्ञबहादुर थापा नेपाल प्रवेश गर्नुभयो । उहाँको टोली सिन्धुली र उदयपुरबाट ओखलढुङ्गा प्रवेश ग¥यो । तत्कालीन सरकारले थापाको टोलीलाई रोक्न पठाएको सेनाहरूको टोली पनि असफल भएपछि सरकार आत्तिएको थियो । कप्तान यज्ञबहादुर थापाको टोली सोलु बजारमा रहेको सेनाको टोलीलाई आत्मसमर्पण गर्न लगाउने अनि स्थानीय सरकार गठन गर्ने र त्यसक्षेत्रलाई सरकारी सेनाबाट अलग गराउने योजनामा थियो । सरकारले पनि सम्पूर्ण शक्तिका साथ सेना परिचालन गरेपछि थापाको टोली दलबलसहित टिम्मुरेको जङ्गलतर्फ जान बाध्य भयो ।

काठमाडौंबाट पञ्चायती निरङ्कुश तानाशाही सरकारले सोलु र ओखलढुङ्गामा हेलिकप्टरबाट सेना उता¥यो । त्यसपछि स्थिति जटिल भयो । थापाको टोलीलाई चारैतिरबाट घेरा हाली अत्याधुनिक हतियारले र हेलिकप्टरबाट समेत गोलाबारी गरेको थियो । जङ्गलको ओढारमा बसेका थापाका टोलीका धेरैको मृत्यु भयो । उहाँ भने उम्कन सफल हुनु भयो । उहाँ सुरक्षित ठाउँमा जाने क्रममा आफ्ना पुराना पुरोहितको घरमा खाना खाएर उसैको बारीको परालको माचभित्र सुतिरहेको अवस्थामा खोजतसाल गर्दा उहाँ पक्राउ पर्नुभयोे । उहाँलाई अड्डासार गर्दै काठमाडौं सेण्ट्रल जेल चलान गरियो ।

काङ्ग्रेसले पहिलो पटक २००७ सालमा पार्टी सभापति मातृकाप्रसाद कोइरालाको नेतृत्वमा हतियार उठाएर आन्दोलन गरी दिल्ली सम्झौता गरेर राणा शासन समाप्त गरी प्रजातन्त्र स्थापना गरेको थियो । दोस्रो पटक २०१७ सालको राजाको ‘कु’ पछि जनरल सुवर्ण शमसरेको नेतृत्वमा प्रयास गरिएको थियो । तर त्यो असफल भएको थियो । तेस्रो पटकको कप्तान यज्ञबहादुर थापाको कमाण्डमा पूर्वमा हतियार उठाएको हो ।

प्रजातन्त्रका साहसी योद्धा भीमनारायण श्रेष्ठ र कप्तान यज्ञबहादुर थापालाई फाँसी दिने सरकारी मागलाई विशेष अदालतले अनुमोदन गर्ने निर्णय गरेपछि त्यसविरुद्ध दुवैजनाले क्षेत्रीय अदालत धनकुटामा अपिल गर्नुभयो । तर क्षेत्रीय अदालतले पनि शुरुकै फैसला सदर गरेपछि उहाँहरूले सर्वोच्च अदालतमा मृत्युदण्ड खारेजीको माग गर्नुभयो । सर्वोच्चले पनि शुरुकै निर्णय सदर गर्ने फैसला गर्यो ।

अब उहाँहरूलाई फाँसी दिने निश्चित भयो । तर बीपी कोइराला मेलमिलापको नीति लिएर स्वदेश फर्केकोले उहाँहरूको फाँसीको सजाय कार्यान्वयन नहुने हो कि भन्ने आशा सबैले गरेका थिए । उहाँहरूमा पनि बाँच्ने आशा थियो । केही राजबन्दीहरू रिहासमेत भए । केहीले आम माफीसमेत पाए । थापा र श्रेष्ठले पार्टीमा समेत खबरहरू पठाए । पार्टीका नेताहरूले पनि पहल गरेकाले पार्टीको पहल र समन्वयमा राजाबाट आम माफी हुन्छ भन्ने विश्वास लिइएको थियो तर भएन । भीमनारायण श्रेष्ठलाई र यज्ञबहादुर थापालाई सर्वोच्च अदालतले फाँसीको सजाय गरेपछि उहाँहरूका साथीहरूले राजासमक्ष माफी पत्र लेख्न आग्रह गर्नुभएको थियो तर उहाँहरू मान्नुभएन, बरु गोलीलाई रोज्नुभयो ।

त्यसपछि काठमाडौंबाट उहाँहरूलाई राखिएको जेलबाट उहाँहरूको सम्पूर्ण सामग्रीकासाथ हतकडी लगाएर सशस्त्र सैनिकहरूले २०३५ माघ २४ गते बिहान निकालेर त्यहाँबाट सैनिक हेडक्वार्टर लगी राजाको सवारी पोखरामा भएकाले पोखरा लाने भनेछन् । त्यहाँ राजासँग माफ माग्नुपर्ने, गल्ती स्वीकार गर्नुपर्ने । अनि मात्र बाँच्न पाउने प्रस्ताव पञ्चायती तानाशाही सरकारले राखेपछि उहाँहरूले गल्ती भएको कुरा स्वीकार गर्न मान्नु भएन ।

त्यसपछि उहाँहरूलाई राति आ–आफ्ना सामान भएको बन्द गाडीमा हतकडीसहित राखेर पोखरातर्फ नलगेर नौबीसेबाट हेटौंडातिर लगेपछि उहाँहरूले किन यता भनेपछि चितवनबाट जाने सैनिकहरूले भनेछन् । हेटौंडा बजारबाट दक्षिणतर्फ लगेर गाडीबाट ओरालेर कप्तान यज्ञबहादुर थापालाई पश्चिमतर्फ लगेर मृत्यु पुर्जीमा पञ्जापत्र लगाइयो । अनि गोली हानी फाँसी दिइएको थियो । त्यसबेला कप्तान यज्ञबहादुर थापाले मलाई मार्नु नै थियो भने खुला प्रचार गरेर मार्नु पथ्र्यो भन्दै नेताहरूलाई माफी कार्यकर्ताहरूलाई फाँसी यो कुनै न्यायसङ्गत कुरा हो ? भनी प्रश्न गर्नुभएको उहाँको जीवनीमा प्रकाशित पुस्तकमा उल्लेख गरिएको छ ।

यसैगरी भीमनारायण श्रेष्ठलाई पनि चितवनबाट पूर्वतिर ल्याएर कोशी टप्पुमा लगेर माघ २६ गोली हानी फाँसी दिएको उहाँका पुत्र पूर्वसांसद् तथा नेपाली काङ्ग्रेसका नेता मनोहरनारायण श्रेष्ठ भन्नुहुन्छ । फाँसीको सजाय दिएपछि कप्तान यज्ञबहादुर थापाको शव कमला नदीको किनारमा र भीमनारायण श्रेष्ठको शव कोशीको किनारमा परिवारलाई बोलाएर जिम्मा लगाएको शहीद पुत्र मनोहरनारायण श्रेष्ठ बताउनुहुन्छ ।

फाँसीको सजाय दिँदा २४ घण्टाअगाडि मृत्युपुर्जी बुझाइन्छ । अनि अन्तिम इच्छा सोधिन्छ र आफ्ना आफन्तसँग अन्तिम भेट गराइन्छ । त्यसपछि खुला प्रचारबाट मृत्युदण्ड दिइने प्रचलन छ । तर प्रजातन्त्रका साहसिक योद्धाहरू भीमनारायण श्रेष्ठ र कप्तान यज्ञबहादुर थापालाई फाँसीको सजाय दिँदा त्यसो नगरिकन तत्कालीन तानाशाही पञ्चायती सरकारले डराएर कारयतापूर्ण ढङ्गले जङ्गलमा सुटुक्क लगेर हत्या गर्यो । सँगै कठोर जेलजीवन बिताउनुभएका शहीद भीमनारायण श्रेष्ठ र कप्तान यज्ञबहादुर थापा मृत्युदण्डको सजाय पाएर फाँसीमा चढेर अमर शहीद बनेर नेपाली आकाशमा दुई ताराको रूपमा चम्किरहनुभएको छ ।

जेलमा सँगै बस्दा थापा र श्रेष्ठले असाध्यै माया गर्ने र मिल्ने साथी केपी ओली आज पनि प्रधानमन्त्री हुनुहुन्छ तर राज्यस्तरबाट अहिलेसम्म उहाँहरूको नाममा कुनै प्रतिष्ठान बनाएको छैन । कुनै कार्यहरू पनि गरेको छैन र सम्मान दिने काम भएको छैन । शहीद घोषणा गर्नेबाहेक र उहाहरूको परिवारलाई पनि सम्मान गरिएको छैन र उहाँहरूको योगदानको सम्मान गर्ने कार्य पनि गरेको छैन । बरु उहाँका ज्येष्ठ सुपुत्र मनोजनारायण श्रेष्ठले घरमै शहीद भीमनारायण श्रेष्ठले प्रयोग गर्नुभएका सामग्रीहरू, उहाँको जीवनीहरू सङ्ग्रह गरेर सङ्ग्रहालय बनाउनुभएको छ । पत्रकार तथा शहीद श्रेष्ठको धनपा तत्कालीन वडा नं. ६ का राजेश्वर बहादुर श्रेष्ठ संयोजक रहेर २०५६ सालमा प्रारम्भ गर्नुभएको शहीद भीमनारायण श्रेष्ठ स्मृति गोल्डकप अहिले अन्तर्राष्टिय भीमनारायण गोल्डकपको रूपमा स्थानीयले सञ्चालन गरिरहेका छन् ।

उहाँको घरछेउको चौकलाई शहीद भीमनारायण चौक नामाकरण गरेर उहाँको सालिक राखिएको छ । अहिले स्थानीय युवाहरूले पुरेन्द्रलाल श्रेष्ठको अध्यक्षतामा शहीद भीमनारायण श्रेष्ठ स्मृति प्रतिष्ठान स्थापना गरेका छन् । तर सरकारी स्तरबाट भने स्वतन्त्रताको झण्डा बोक्दाबोक्दै नेपाली धर्तीमा तातो गोली खाएर अमर शहीद बन्नुभएका शहीद भीमनारायण श्रेष्ठ र शहीद कप्तान यज्ञबहादुर थापाको नाममा अहिलेसम्म केही भएको छ । सूर्यनारायण श्रेष्ठ र लक्ष्मीकुमारी श्रेष्ठको कोखबाट १९९४ असार २४ गते जन्मनुभएका शहीद भीमनारायण श्रेष्ठ राजनीतिसँगै धनकुटामा विभिन्न सामाजिक कार्यहरूमा पनि लाग्नुभएको थियो ।

अहिले उहाँका श्रीमती लक्ष्मी श्रेष्ठ, छोराहरू मनोजनारायण श्रेष्ठ, मनोहरनारायण श्रेष्ठ र छोरीहरू ममता श्रेष्ठ (अमात्य), बबिता श्रेष्ठ, बुबा शहीद भीमनारायण श्रेष्ठले बाँकी राख्नुभएका अधुरा सपना पूरा गर्न राजनीतिका साथै विभिन्न सामाजिक कार्यहरूमा सक्रिय हुनुहुन्छ । केपी ओली पहिलोपटक प्रधानमन्त्री हुँदा सँगैै कठोर जेलजीवन बिताउनुभएका आफ्ना प्रिय मित्र थापा र श्रेष्ठलाई २०७२ फागुनमा शहीद घोषणा गरिएको थियो । राजासँग माफी माग्नुको सट्टा प्रजातन्त्रको निम्ति हाँसी–हाँसी फाँसीमा चढेर पञ्चायती सरकारबाट जबरजस्ती लुटिएका दुई थुँगा फूल श्रेष्ठ र थापा प्रजातन्त्रका लागि चम्किला तारा हुन् र अहिले पनि नेपाली आकासमा चम्किरहनुभएको छ । साथै चम्किरहनु हुनेछ ।

[email protected]
(लेखकः शहीद स्मृति प्रतिष्ठान धनकुटाका महासचिव हुन् ।)