विराटनगर/ औषधि व्यवस्था विभागले स्वीकृत प्रदान नगरेका औषधिहरू विराटनगरका फार्मेसीहरूले खुलेआम बिक्रीवितरण गर्ने गरेको पाइएको छ । 
 
विराटनगरमा बुधबार औषधि व्यवस्था विभागले औषधिको थोक तथा खुद्रा कारोबार गर्र्दै आएका व्यवसायीले सञ्चालन गरेका पसलहरूको अनुगमनका क्रममा यस्तो फेला पारेको हो । 
 
चिकित्सकले बिक्रीवितरणका लागि स्वीकृति नै नभएका औषधिको सिफारिस गरिदिने गरेको अनुगमनको क्रममा भेटिएको हो । यसरी चिकित्सकले नै औषधि व्यवस्था विभागमा स्वीकृत नभएको औषधिको सिफारिस गरिदिएपछि बिरामीले जबरजस्ती खरिद गरेर सेवन गर्नुपर्ने बाध्यता छ । 
 
बजारमा बिक्रीवितरणमा रोक लगाइएका बिनादर्ताका औषधिको सिफारिस सरकारी अस्पतालकै चिकित्सकले गर्ने गरेका कारण डिलर, थोक तथा खुद्रा पसलबाट खुलेआम बिक्री हुने गरेका पाइएको हो । 
 
जिल्ला प्रशासन कार्यालय समेतको अनुगमन टोलीले सुरेशचन्द्र अटलको लगानीमा सत्यनारायण साह र पवनकुमार अटलको नाममा दर्ता रहेको श्री सिद्धी विनायक फार्मेसी र हिमगिरी मेडिकोबाट अवैध औषधि नियन्त्रण गरेको थियो । औषधिको थोक बिक्रेता अटलको पसलबाट १७ प्रकारका अवैध औषधि तथा पोषणयुक्त खाद्य औषधि र पाउडर, क्रिम, साबुनसमेत जफत गरिएका छन् । 
 
यसैगरी विराटनगर–९ मा रहेको बब्लु बिपुल फर्माबाट समेत अवैध औषधि जफत गरिएको औषधि व्यवस्था विभागका निरीक्षक चतुर्भुज यादवले जानकारी दिए । श्रीपतिलाल दासले सञ्चालन गरेको थोकमा समेत आयातित र अवैध औषधि भेटिएका थिए । टोलीले गुरु मेडिकल हल, योग्य फार्मेसी र प्रदेश मेडिकल हललाई बन्द गरिदिएको छ । अञ्चल अस्पतालमा कार्यरत सन्ध्या यादवको नाममा दर्ता रहेको गुरु मेडिकलमा सञ्चालक नभेटिएपछि बन्द गर्नुपरेको यादवले बताए । अञ्चल अस्पतालअगाडि नै रहेको यादव फार्मेसीबाट अवैध र बिनादर्ताका औषधि जफत गरिएको थियो । 
 
औषधि व्यवस्था विभाग र खाद्य प्रविधि तथा गुणनियन्त्रक विभागले समेत स्वीकृति प्रदान नगरेका औषधि तथा पोषणयुक्त (खाद्य) औषधि सरकारी अस्पतालका चिकित्सकको रोजाइमा पर्ने गरेका छन् । विभागका निरीक्षक सन्दीप खड्काले चिकित्सककै कारण अवैध औषधिको बिक्री वितरणमा रोक लगाउन समस्या भएको भन्दै सरकारीस्तरबाटै निर्देशन हुनुपर्ने बताए ।