धरानको एउटा साङ्गीतिक परिवारमा जन्मेर राष्ट्रिय गहनाका रूपमा रहेका दीप श्रेष्ठले २०२५ सालमा आफ्नो पहिलो गीत म पत्थरको देवता हैन रेकर्ड गराएर औपचारिक रूपमा साङ्गीतिक यात्राको थालनी गरेका थिए । यही रेकर्डका आधारमा गायक श्रेष्ठले अहिले आफ्नो गायनयात्राको ५० वर्ष पूरा भएको घोषणा गरेका छन् । उनको गायन यात्राको ५० औं वर्षको यात्रामा निहित भएर लिइएको अन्तरवार्ताः

  • सङ्गीतयात्राको ५० वर्ष पूरा गर्नुभो, यो अवसरमा आम श्रोता दर्शकलाई के भन्नुहुन्छ ?

यही धरानबाट नै थालेको हो, मैले सङ्गीतयात्रा तर यसरी ५० वर्ष नै पुग्छ भन्ने कुनै लेखाजोखा गरेको थिएन । यस क्षेत्रमा हिँड्दा हिँड्दै ५० वर्ष पूरा भएछ । जसका लागि म यहाँहरू सम्पूर्ण दर्शक श्रोताहरूलाई धरै –धेरै धन्यवाद दिन्छु ।

  •  कति सालमा पहिलो पटक गीत रेकर्ड गर्नुभयो ?

२०२५ सालमा मात्र मैले गीत रेकर्ड गराएको हो । किनभने त्यतिबेला काठमाडौं जान नै गाह्रो थियो । विराटनगर, जोगवनी, फारविसगञ्ज हुँदै जानुपथ्र्यो । त्यो पनि रोडियो नेपालमा मात्र रेकर्ड हुन्थ्यो ।

  •  तपाईले राजा महेन्द्रलाई पनि गीत सुनाउनुभएको थियो हैन ?

२०२५ सालमा सांस्कृतिक संस्थान काठमाडौंमा निम्तो थियो र सांस्कृतिक संस्थानले एउटा शिलान्यास नाटक जाने क्रममा बीचमा सिन चेञ्ज गर्ने बेलामा मलाई दुईवटा गीत गाउन दिइएको थियो र २०२५ साल पुस १ गते राष्ट्रिय नाचघरमा राजा महेन्द्रको अगाडि सबभन्दा पहिला प्रस्तुत गरेको गीत मेरो म पत्थरको देवता हैन नै थियो । राजा महेन्द्रले गीत सुनिसकेपछि गीत मन पराइदिनुभयो र तत्काल त्यहाँ रहनुभएका रेडियो नेपालका डाइरेक्टर सा’वलाई वहाँका कति गीत छन् सबै रेकर्ड गर्दिनू भन्ने हुकुम भयो ‘म पत्थरको देवता हैन’ र अर्को मैले आफै लेखेको ‘मायालु रूप छ तिम्रो’ भन्ने गीत रेकर्ड गराएँ तर ‘म पत्थरको देवता हैन’ भन्ने गीत यति धेरै मनपराइयो कि जसका आधारमा म अहिले मैले गाएको ५० वर्ष पुग्यो भनेर हिँड्दै छु ।

  • आफले गाएको पहिलो गीत कति पछि तपाई आफैले सुन्न पाउनुभयो ?

गीत रेकर्डपछि लगभग एक महिना काठमाडौंमै बसियो । साधारतया गाएको एक–दुई महिनामा रेडियोमा हाम्रो गीतको पालो आउँथ्यो । पालोमा पर्दा झण्डै म धरान आएको दश–पन्ध्र दिनपछि मैले सुन्न पाएको हुँ । त्यो पनि मेरो घरनजिकै मेरा एकजना साथी हुनुहुन्थ्यो रामानन्द अग्रवाल, ट्रान्जिस्टरमा बजेको बेला वहाँले दौडँदै लिएर आउँदा मेरो घरसम्म आइपुग्दा लगभग सकिसकेको थियो । तर पनि एउटा अन्तरा र अन्तर्यसम्म सुन्ने मौका पाएँ ।

  • त्यो बेलाको र अहिलेको गीत सङ्गीतमा के भिन्नता पाउनुहुन्छ ?

भिन्नता त केही होइन, सङ्गीत गराइ एउटै हो तर पहिलाको रेकर्डिङमा चैं हामी सबैजना एकैपटक बसेर रेकर्ड गराउनुपथ्र्यो । कोही कसैले पनि अलिकति बिगारेमा त्यसलाई फेरि शुरुदेखि गाउनुपर्ने हुन्थ्यो । आजकाल त्यस्तो छैन, धेरै सजिलो छ, एक–एकवटा शब्द पनि गाएर मान्छे गायक बनेका छन् । फरक त्यति नै हो ।

  • धरानले धेरै राष्ट्रिय कलाकारहरू जन्माएको छ, जसमा अधिक काठमाडौंकेन्द्रित नै छन् । के मोफसलमा (धरानमा) बसेर काठमाडौंमा जति गर्न सकिन्न ? के त्यति गर्न नसकिने हो कि के हो ?

मान्छेमा इन्डिभिजुयलिटी एकदमै आएको छ । धेरै सेल्फिस मान्छेहरू छन् र मान्छेले आफ्नो लागि मात्र सोच्न थाले । मान्छेहरूले पहिला हामी गीत गाउँदा घर–घर जन्थ्यौं, हरेकको देउसी गाउँथ्यौं, आजकाल त्यो चलन हराइसकेको छ । म के भन्न चाहन्छु भने सङ्गीतलाई नितान्त रूपले सिक्न जरुरी छ । सङ्गीत जहाँबाट पनि शुरु हुन्छ । आफैमा एउटा ग्रुप हुनुपर्छ । अहिले धरानमै पनि सुन्दैछु, धरान सङ्गीत प्रतिष्ठानमा रहनुभएका साथीहरूले पनि विभिन्न ब्याण्ड बनाएर लाग्नुभएको छ रे । ब्याण्ड बनाउँदा पनि त्यही छातामुनी बनाएको भए एकढिक्का हुन्थ्यो । जबसम्म एकढिक्का हँुदैन, तबसम्म जो कोहीले पनि उसलाई चलाउन सक्छ भन्ने तथ्य यस क्षेत्रमा लागू हुन्छ । त्यसैले काठमाडौं नै पुग्नुपर्छ भन्ने छैन, हामी पनि काठमाडौं पुगिहालेका त थिएनौं नि, हामी यहीँ पपुलर थियौं ।

  •  धरान अन्य शहरहरुभन्दा मनोरञ्जनका क्षेत्रमा अलिबढी नै कलकारहरु उत्पादन गर्ने थलो हो भनिन्छ नि ?

धरानको एउटा कुनै घरमा ढुङ्गा हान्दा एउटा खेलाडी, एउटा कलाकार, एउटा गायक अथवा सङ्गीतकार निस्कन्छ भन्ने चैं हो तर वहाँहरूले बुझेर एउटा राम्रो सङ्गठन एक–अर्कामा कुनै पनि द्वेष नराखेर एउटा युनाइटेड भइदिए भने त्यसको केही अर्थ हुन्छ । 

  • स्थानीय सरकारले उनीहरुको लागि के गर्दा उनीहरु यही क्षेत्रमा रहिरहन सक्लान् ?

स्थानीय सरकारको सबैभन्दा ठूलो हात छ यसमा, स्थानीय सरकारले यहाँको जति पनि नयाँ प्रतिभाहरू छन्, उनीहरूलाई समेटेर एउटा सानो संस्था खोलिदिनुप¥यो । उनीहरूको एउटा सभाहल बनाइदिनुपर्यो, जहाँ साङ्गीतिक कार्यक्रम गर्न सकियोस् । त्यस्ता चिजहरूको स्थापान गर्ने हो र त्यसको लागि थोरै बजेट पठाइदिने हो भने मलाई लाग्छ, धरानमा जति पनि कलाकारहरू हुनुहुन्छ, वहाँहरू बाहिर जानुहुन्नथ्यो होला । वहाँहरूले त्यसमै कतै आफूलाई व्यस्त राख्नुहुन्थ्यो होला ।

  • गीत सङ्गीतबाहेक अन्य केही पेशा व्यवसाय छ कि ? के मा व्यस्त हुनुहुन्छ आजकाल ?

मेरो त्यस्तो केही छैन । ब्याडमिन्टन खेल्छु । घरपरिवार र सङ्गीतलाई नै समय दिन्छु । कार्यक्रममा बोलाउँछन् त्यही नै हो ।

  • तपाईलाई आफ्नै गीतहरुमा मनपर्ने गीत कुन हो ?

म आफैले लेखेको गीत सुनिदेऊ सानो छँदाको कथा मैले बामे सर्दाको कथा भन्ने नै हो । मैले आफैले लेखेका गीतहरूमा एकदमै राम्रो लेखेँछु भन्ने पनि लाग्छ ।

  • तपाईको बुझाइमा तपाईंका लागि र आम मानिसका लागि सङ्गीत के होला ?

सङ्गीतप्रतिको मानिसको बुझाइ अनेक हुन्छन्, मेरो चाहिँ यात्रा हो, हिँडिरहेको छु ।

  • अन्तमा, केही भन्न चाहनुहुन्छ कि ?

जति पनि अहिले कलाकारहरू आउनुभएको छ, अहिले वहाँहरूमा होडबाजी जस्तो लाग्छ । त्यस्तो नगर्नु होला भन्ने अनुरोध गर्दछु । चाँडै–चाँडै गीत गाएर ठूलो कलाकार बनिहाल्छु भन्ने पनि सोच नराख्नुहोला भन्न चाहन्छु । किनभने गीत चाँडै गाउँदै ठूलो कलाकार बनिहाल्ने होइन । त्यसका लागि त धेरै मेहनत गर्नु पर्छ । केही समय बिताएको हुनै पर्छ । अनि मात्र सङ्गीत बुझिन्छ र अनि मात्र सङ्गीतमा चुर्लुम्म डुबेर केही राम्रो गर्न सकिन्छ ।