भोजपुर /  विश्व चर्चित अल्ट्रा धाविका मिरा राईको सम्मानमा भएको चौँथो भोजपुर ट्रेल रेस प्रतियोगितामा पुरुष तर्फ उमेश राई र महिला तर्फ प्रिया राई विजयी भएका छन ।
शनिवार आयोजित प्रतियोगितामा भोजपुरको आमचोक गाउपालिका २ यू का उमेश र खोटाङकी प्रिया विजयी भएका हुन । निर्धारित ३६ किलोमिटरको दुरी उमेशले तिन घण्टा ३१ मिनेट ३२ सेकेण्डमा पार गरेको आयोजक संस्था नेपाल ट्रेल रेसका म्यानेजर प्रिती खत्रीले बताइन । म्यानेजर खत्रिका अनुसार प्रियाले ५ घण्टा १९ मिनेट ८ सेकेण्डमा निर्धारित दुरी पार गरिन ।

पुरुष तर्फ भोजपुर नगरपालिका ५ बोखिम ढुंगेका सविन तामाङ दोश्रो बने । उनले ३ घण्टा ४३ मिनेट ४ सेकेण्डमा दुरी पार गरे । तेश्रो भएका सोलुखुम्बु महाकुलुङ गाउँपालिका ५ का सुमन कुलुङले ४ घण्टा ८ मिनेट ३९ सेकेण्डमा निर्धारित दुरी पुरा गरे । महिला तर्फ भोजपुर नगरपासिलका १२ की प्रतिभा श्रेष्ठ दोश्रो बनिन भने सिन्धुपलाञ्चोक बतासेकी प्रिया तामाङ तेश्रो भईन । श्रेष्ठले ५ घण्टा ३६ मिनेट ३० सेकेण्ड र तामाङले ६ घण्टा १ मिनेट ३० सेकेण्डमा निर्धारित दुरी भेटाए ।

रेस अल्टा धाविका राईको जन्म थलो सानोदुम्मा बाट दिर्घे भञ्ज्याङ , तिवारी भञ्ज्याङ ,चिवाचुङ डाडा , हिले भञ्ज्याङ , अरुण डाडा , धापखर्क , मुडे , पाचधारे ,देउराली हुदै सदरमुकाम स्थित सहिद पार्क सम्म गराईएको सह आयोजक रिमान्चुङ स्पोटर्स एकाडेमीका अध्यक्ष पाविहान राईले बताए । प्रतियोगितामा महिला तथा पुरुष गरि एक सय ४६ जनाले सहभागिता जनाएका थिए ।