देउराली । फ्लोरिकल्चर एसोसिएसन नेपाल सुनसरी शाखाको आयोजनामा मङ्गलबारदेखि प्रदेश १ स्तरीय तेस्रो पुष्प प्रदर्शनी मेला शुरु हुँदै छ ।

प्रदर्शनीमा चार सय प्रजातीका स्थानीय तथा अन्तराष्ट्रिय जातका फूल तथा वनस्पतीहरू राखिने मेला संयोजक प्रेमप्रसाद पराजुलीले बताए । प्रदर्शनी कृषि, पर्यटन, उद्योग र वातावरणसँग जोडिएका फूलको नर्सरी प्रवद्र्धन गर्ने संयोजक पराजुलीले बताए । मेलाको प्रदेश १ का पर्यटन, उद्योग, वन तथा वातवरण मन्त्री जगदीशप्रसाद कुसियतले उद्घाटन गर्ने कार्यक्रम छ ।

२०७३ सालदेखि शुरु भएको प्रदर्शनीमा उत्कृष्ट स्टललाई पुरस्कृत गरिने भएको छ । मेलामा ३२ वटा व्यवसायिक स्टल रहने छन् । फूलको सजावटको आधारमा उत्कृष्ट घर, उत्कृष्ट टोल र उत्कृष्ट वार्डलाई पहिलो, दोस्रो र तेस्रो घोषित गरिने भएको छ ।

मेलामा न्यूनतम २५ रुपैयाँदेखि अधिकतम ५० हजार रुपैयाँ मूल्य बराबरको फूलका विरुवा उपलब्ध रहेको छ । मेलामा काठमाडौं, रुपन्देहीसहित प्रदेश १ का विभिन्न जिल्लाका स्टल रहने छन् । ५० लाखको कारोबार हुने अनुमान आयोजकले गरेको छ ।