पथरीशनिश्चरे/ मोरङ्गको पथरीशनिश्चरेस्थित पथरी बजारको सिनभिलेज पार्टी प्यालेसमा गीतसङ्गीतका पारखी माँझ चर्चामा रहेका गायकहरूले आफ्चा चर्चित गीत गाए । नृत्य समेतको माहौलमा स्रोता, दर्शक झुमे ।

शनिबार पथरी मिडिया प्रालिद्वारा सञ्चालित रेडियो रिदमको आयोजनामा टिकटमा प्रस्तुत कार्यक्रममा मुख्य आकर्षक बने पहिलो नेपाल आइडलका उपविजेता प्रताप दास अनि हाँस्यव्यङ्ग्य गायक श्रीकृष्ण लुइटेल ‘बोके दाह्री’ । कार्यक्रमको अन्तिम प्रस्तोताका रूपमा मञ्च उत्रिएका दासले ‘मलाई माफ गरिदेऊ’ बाट गायन शुरु गरे ।

अनुराग चलचित्रको सोरमा सोरका साथै दुई खोली, पलपल, मोटरसाइकलमा, तालको पानी, भन सोल्टी सहितका गीत गाएर दर्शकको मन जिते । दोस्रो अन्तिमको पालोमा परेका श्रीकृष्णले पनि उस्तै गरी दर्शकदीर्घामा छाप छाडे ।

रावणको आयो बुलेटमा, बाँके बर्दिया, मेरी सासु कस्ती, तेरो बाउ थोते, साली कमला, ए बा किन्देउन भटभटे जस्ता चर्चित गीत गाएर समाजका विकृति विसङ्गति उजागरसमेत गरे ।
पथरीशनिश्चरेमा रहेर राष्ट्रियस्तरमा चर्चा कमाउदै गरेका गायक समीर विकले पनि आफ्ना चर्चित गीत गाउन भ्याए । यसबेला काठमाडौंमा गीत सङ्गीतमा जम्ने ध्याउन्नमा लागेका उनले त्यहाँबाट आएर प्रिय तिम्ले माया मार्यौ नि, कान्छीको अल्लारे जोवन र शिव परियारले गाएको गजल ‘पिउदिन भन्दा भन्दै पिलायो साथीले’ गाए ।

सुरशाला आइडलको उत्कृष्ट ६ मा पर्न सफल नगरकै उदियमान गायक राज लोहार जमे । कक्षा १० मा पढ्दै गरेका उनको स्वरको गहनता र प्रस्तुतिले सम्भावना बलियो देखियो । नृत्यमा उर्लाबारीको रोजी डान्स सेन्टर, अन्नपूर्ण बोडिङ्ग स्कुलको प्रस्तुति रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि पथरीशनिश्चरे नगर प्रमुख दिलिपकुमार राईले नगरमा सिर्जना क्षेत्रका यसखाले कार्यक्रमहरू बढ्दै जानुपर्ने शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममार्फत् सङ्कलित रकमको केही प्रतिशत रकम आश्रममा वा आवश्यकताको आधारमा बिपन्न परिवारलाई सहयोग गर्ने योजना रहेको कार्यक्रम संयोजक मनु खड्काले बताइन् ।