काठमाडौं/भारतमा आयोजित अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस सुपर मोडल ग्लोब २०१९’ मा नेपाली मोडलले ठूलो सफलता हात पारेको छ ।  नेपालको प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागी अदिति अधिकारीले ‘सेकेण्ड रनरअप’ र ‘मिस फेसन मोडल’को दुई महत्वपूर्ण उपाधि नेपाल भित्र्याउन सफल भइन् ।

नयाँ दिल्लीमा सम्पन्न प्रतियोगिता नेपाल, भारत, चीन, बङ्गलादेश लगायत १६ देशका सुन्दरीहरू सहभागी थिए । नेपाली कलासंस्कृतिले भरिएको विभिन्न पोसाकसमेत प्रस्तुत गरेकी अदितिले प्रतियोगिताबाट आफूले धेरै कुरा सिक्न मिलेको बताइन् ।

१८ वर्षिय अदिति नेक्स्ट मोडल नेपाल आयोजक रहेको ‘मोडल हन्ट नेपाल २०१८’ की बिजेता हुन् । अदितिको सफलतामा राष्ट्रले गौरव गर्नुपर्ने नेक्स्ट मोडल नेपालका कार्यकारी प्रमुख रवि धमलाले बताए ।

युवायुवतीलाई फेसन उद्योगमा आउन यो सफलताले प्रेरणा मिल्ने उनको भनाइ रहेको छ । प्रतियोगितामा शिर्ष उपाधि मिस रसिया तातीयाना र फस्ट रनरअप मिस फिलिपिन्स पाउलिनले जितेका थिए ।