काठमाडौँ / पाँचथर पावर कम्पनीले यही फागुन १३ गतेदेखि १७ लाख ५० हजार २५० कित्ता साधारण शेयर बिक्री गर्ने भएको छ । 

कम्पनीले सोमबार एक आह्वानपत्र सार्वजनिक गरी न्यूनतम १० कित्तादेखि अधिकतम ९ हजार ६२० कित्ता बराबरको आवेदन दिन पाउने जानकारी दिएको छ । प्रतिकित्ता १०० अङ्कित दरका शेयर यही फागुन १६ गतेसम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ ।

सो अवधिमा शेयर बिक्री नभएमा आगामी चैत १२ गतेसम्म आवेदन दिन पाइने व्यवस्था गरिएको छ । कम्पनीले गत पुस ३० देखि माघ २९ गतेसम्म कूल ९ लाख ६२ हजार ५०० कित्ता आयोजना प्रभावितलाई बिक्री गरेको भए पनि सात लाख ८७ हजार ७५० कित्ता शेयर बिक्री हुन सकेको थिएन । 

कम्पनीले कर्मचारीलाई ३५ हजार पाँच कित्ता र सामूहिक लगानी कोषलाई ८७ हजार ५१२ कित्ता छुट्याएर बाँकी रहेको १६ लाख २७ हजार ७३३ कित्ता शेयर सर्वसाधारणलाई बिक्री गर्नेछ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी भएका बैङ्क तथा वित्तीय संस्थाबाट सी आस्वा प्रणालीमार्फत् आवेदन दिनसक्ने व्यवस्था गरिएको छ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ ।  केयर नेपाल रेटिङले गरेको वित्तीय विश्लेषणमा सो कम्पनीको अवस्था औशतभन्दा कमजोर रहेको जनाएको छ । कम्पनीले पाँचथर जिल्लामा १४ दशमलव ९ मेगावाटको ‘हेवाखोला ए’ जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ ।

प्रभु बैङ्कको शेयर मूल्य समायोजन
प्रभु बैङ्कले सोमबार शेयर मूल्य समायोजन गरेको छ । बैङ्कले ८ प्रतिशत शेयर लाभांश दिएलगत्तै सोमबार प्रतिकित्ता २१० मा मूल्य समायोजन गरेको हो । बैङ्कको औशत आधार मूल्य २७२ रहेको छ । यस्तै नेपाल स्टक एक्सचेञ्जमा साइन रेसुङ्गा डेभलपमेन्ट बैङ्कको २४ लाख ४० हजार ४९८ बराबरको शेयर लाभांश सूचीकृत भएको छ ।

शिवम् सिमेन्टको साधारण शेयरको बिक्री शुरु
वास्तविक क्षेत्रसमेत पछिल्ला दिनमा साधारण शेयर बिक्रीका लागि आकर्षित भएका छन् । चालू आर्थिक वर्षको बजेट वक्तव्यमा नै वास्तविक क्षेत्रलाई समेत धितोपत्र बजारमा प्रवेश गराउने लक्ष्य राखेका कारण ती क्षेत्रले धमाधम साधारण शेयर बिक्री गर्न लागेका हुन् ।
यसै क्रममा शिवम् सिमेन्टले सोमबारदेखि ४६ लाख ९९ हजार ६४० कित्ता शेयर बिक्री शुरु गरेको छ । कम्पनीले सामूहिक लगानी कोष र कर्मचारीका लागि ६० हजार कित्ता, सर्वसाधारणलाई ४१ लाख २० हजार कित्ता र मकवानपुरवासीका लागि पाँच लाख ७९ हजार ६४० कित्ता शेयर बिक्री शुरु गरेको हो ।