पथरीशनिश्चरे/दुई युवाले जनता चप्पल उद्योग खोलेर आफूलाई पथरीजस्तो सानो बजारमा पनि स्थापित गरेका छन् ।

पथरीशनिश्चरे–१ स्थित पथरी बजारका व्यवसायी उद्धवराज बस्नेत र खेमनाथ ढुङ्गेलले जनता चप्पलको ट्रेडमार्क बनाइसकेका छन् । गत कार्तिक १४ गतेबाट उद्योगबाट उत्पादन शुरु भएको उनीहरूको उद्योगमा दैनिक १ हजार ५ सय जोर चप्पल उत्पादन हुन्छ ।

‘हाम्रो चप्पल गुणस्तरीय र किफायती भएको ग्राहकले अनुभूति गरेर पूर्वमा यसले राम्रै बजार लिएको छ’– उद्योगीमध्येका उद्धवले भने ‘यो उद्योग नगरलाई फरक हिसाबले चिनाउने र विराटनगरभन्दा पूर्वको क्षेत्रको हवाई चप्पलको एकमात्र शान बनेको छ ।’

कम्पनीले महिला, पुरुष र बालबालिकाका लागि १५ वटा डिजाइनका चप्पल उत्पादन गर्दैआएको छ । उद्योग, घरेलु तथा साना उद्योगमा दर्ता छ । भर्खरै शहरोन्मुख पथरी क्षेत्रमा खडा भएको यसखाले उद्योगले अन्य उद्योग स्थापन गर्न समेत प्रेरित गरेको पथरीस्थित योगेश जुत्ता पसलकी जमुना भट्टराईको बुझाइ छ ।

अढाइ करोडको लगानीमा शुरु गरिएको उद्योगलाई अझै अढाइ करोड हाराहारीमा लगानी थपेर थप मेसिन ल्याउने उनीहरूको तयारी छ । चप्पलकै लागि मेसिनमात्र थप्ने होइन जुत्ता नै उत्पादनको योजनासमेत बनेको सञ्चालकमध्येका खेमनाथले सुनाए ।

‘प्लाष्टिक सहितको पियू चप्पलका साथै स्पोर्ट्स र पार्टी सुजको पनि उत्पादनको योजनामा छौं’– उनले सुनाए । यी सबै काम र थप योजनाका लागि ३० औं वर्षदेखि चप्पल व्यवसाय गर्दै आएका नेपालकै अनुभवी मुकेश राठी बजार व्यवस्थापकका रूपमा त्यही उद्योगमा छन् ।

उद्योगमा हाल २० जना मजदुरले रोजगार पाएका छन् । स्थानीयलाई नै काम सिकाउँदै रोजगारी दिँदै आएको छ । ‘युवाहरूलाई आफ्नै ठाउँमा केही गर्नुपर्छ भन्ने सन्देश दिँदै २ सय बढीलाई प्रत्यक्ष रोजगारी दिने योजना छ’ उनले भने ।