जिरोपोइन्ट /  धरान उपमहानगरपालिकाको अमान बजारमा मंगलबारबाट पाँचदिने प्रदेश नम्बर १ स्तरीय तेस्रो पुष्प व्यापार मेला २०७५ सुरू भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि प्रदेश नम्बर १ का पर्यटनमन्त्री जगदीश कुसियतले मेलाको उद्घाटन गरे । नेपालमा ५ सय ५० प्रजातिका फूलहरु पाइने भएको कारणले फूलको लागि संसारकै नेपाल हबको रुपमा रहेको बताएका छन् । उक्त समयमा उनले धरानलाई शिक्षा र स्वास्थ्यको हब भएको सुन्दर नगरी समेत भनेका छन् । धरान पर्यटक भित्राउने मुख्य बाटोको रुपमा रहेको बताएका छन् । फूललाई पनि पर्यटन क्षेत्रसंग जोडेर पर्यटकको मुख्य रोजाइको रुपमा विकास गर्न सकिने बताएका छन् ।
“घर आगन होस या सडक किनारा, रोपि स्वदेशि फुल विरुवा बनाउँ प्रदेश हराभरा” भन्ने मुल नाराका साथ फ्लोरिकल्चर एसोसिएसन सुनसरीको आयोजनामा सुरू भएको उक्त पुष्प व्यापार मेलामा ३२ वटा स्टलहरू रहेका छन् ।
प्रदर्शनीमा प्रदेश नम्बर १ का विभिन्न क्षेत्रका फूल व्यवसायीहरुको स्टलहरु रहको छ । प्रदर्शनीमा उत्कृष्ट स्टलहरूमध्ये महादेव नर्सरी पहिलो हुदै ट्रफि, प्रमाणपत्र साथै नगद प्राप्त गरेको छ । न्यू ऋतु नर्सरी दोस्रो हुदै ट्रफि, प्रमाणपत्र साथै नगद प्राप्त गरेको छ । साथमा यसै वर्ष सहभागि भएको धरान १९ को अफ्रिकन भाईलेट नर्सरी तेस्रो हुदै ट्रफि, प्रमाणपत्र साथै नगद प्राप्त गरेको छ ।
साथै यस वर्ष पनि बेस्ट फ्लावरीङ प्लान्ट अन्तर्गतको सिजनेवल फ्लावर प्लान्टको उपाधि पवित्र नर्सरीले प्राप्त गरेको छ । बेस्ट अर्नामेन्टल अन्तर्गत क्यामेलिया नर्सरी, बेस्ट फ्लावर अरेञ्जमेन्टतर्फ एन्जिला नर्सरीलाई पनि प्रमाणपत्र र ट्रफि प्रदान गरीएको छ ।
यसैगरी सम्पुर्ण धरानका वडाहरूमध्ये वडा नम्बर ८ लाई बेस्ट फ्लावर अरेञ्ज वडाको उपाधि प्रदान गरीएको छ । यसैगरी धरान १० को गणेश्वर टोललाई बेस्ट फ्लावर अरेञ्ज टोलको उपाधि प्रदान गरीएको छ । बेस्ट फ्लावर अरेञ्ज हाउसको उपाधि भने धरान १६ की कोपिला देवानले प्राप्त गरेकी छन् ।
कार्यक्रमको विशेष अतिथि समेत रहेकी धरान उपमहानगरपालिकाकी कार्यबाहक प्रमुख मञ्जु भण्डारी सुवेदीले ब्यावसायीहरुले आफ्नो व्यावसायलाई व्यावसायिकता तर्फ अघि बढाउन जरुरी रहेको बताएकी छन् । उनले धरानको उपमहानगरपालिकालाई फूलबारीको सहर बनाउने घोषणा गरिएको कारणले धरानका हरेक क्षेत्रमा फूल रोपिने र धरानको सडक किनारमा रेलिङ सहित फुल राखिने बताएकी छन् ।