भोजपुर/ प्रतिनिधिसभा सदस्य सांसद् सुदन किरातीले साढे चार अर्ब भ्रष्टाचार भएको वाइडबडी जहाज प्रकरणका दोषीलाई कारबाही नगरे अख्तियारको इतिहास समाप्त हुने बताएका छन् ।

भोजपुरको अरुण गाउँपालिका–२ चम्पेस्थित चम्पे मावि चम्पेको ७० औं वार्षिक उत्सवलाई मङ्गलबार सम्बोधन गर्दै सांसद् किरातीले यस्तो बताएका हुन् । कार्यक्रममा उनले राष्ट्रको सबैभन्दा ठूलो चुनौती र शत्रु भ्रष्टाचार भएको उल्लेख गर्दै वाइडबडी प्रकरणको निष्पक्षरूपमा छानबिन गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘वाइडबडी प्रकरणको छानबिन चलिरहेको छ, यसको निष्पक्ष छानबिन हुनुपर्छ, छानबिन समितिले दायाँ–बायाँ गरे जनताले छुट दिने छैनन्, हामी सबै मिलेर भ्रष्टाचारीलाई कानूनी दायरामा ल्याउनु पर्छ ।’ सांसद् किरातीले जनताको पैसा अपचलन गर्ने छुट कसैलाई नभएको भन्दै राजनीतिक दलको झण्डामुनि बसेर पैसा कमाउन चाहनेलाई व्यापार व्यवसाय गर्न सुझाव दिए । कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका उनले गाउँघरमा समेत सिंहदरबारको पैसा अपचलन भैरहेकोप्रति आपत्ति जनाए ।

भ्रष्टाचारमा शून्य सहनशीलता लागू गर्नुपर्ने भन्दै सांसद् किरातीले भ्रष्टाचार नियन्त्रणका लागि जनस्तरबाट समेत खबरदारी गर्नुपर्नेमा जोड दिए । १० बजे विद्यालय आउनुपर्ने शिक्षक ११ बजे आउनुसमेत भ्रष्टाचार भएको जिकिर गर्दै उनले हरेक नेपाली नागरिकमा व्यवहारिक रूपले परिवर्तन भए मात्र भ्रष्टाचार नियन्त्रण हुने स्पष्ट पारे । उनले २० रुपैयाँ पर्ने टिकट २२ रुपैयाँमा बेच्नु, पाँच सय भाडा लाग्ने बाटोमा आठ सय लिनु पनि भ्रष्टाचार हुने बताए । भोजपुरमा यस्तो भैरहेकोले यसविरुद्ध एकजुट हुन आग्रह गरे ।

कार्यक्रममा अरुण गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर कार्कीले विकास र समृद्धिका लागि सबै एकजुट हुनुपर्ने औंल्याए । उनले सामुदायिक विद्यालयहरूमा शिक्षाको गुणस्तर बढाउन आवश्यक रहेको भन्दै बोर्डिङ स्कुलमा मात्र शिक्षाको गुणस्तर हुन्छ भन्ने मानसिकता हटाउनु पर्नेमा जोड दिए । विद्यालय व्यवस्थापन समिति अध्यक्ष देवकुमार राईको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षक, विद्यार्थी अभिभावक लगायतको उपस्थिति रहेको थियो ।