‘किरात’ नाम नै सर्वस्वीकार्य हुन्छ'

alt
  • फाल्गुन ८, २०७५
  • १,१५४ पटक पढिएको
  • ब्लाष्ट खबर

राष्ट्रिय महाधिवेशन किन यही बेला, धरानमा गर्ने निर्णय गर्नुभयो ?

– प्रस्तावित किरात प्रदेशको मुख्य केन्द्रविन्दु र पहाडी जिल्लाहरूको प्रवेशद्वारको रूपमा रहेको अनि समृद्ध र सुन्दर छ धरान । यो शहर आफैमा बहुजातीय, बहुसांस्कृतिक, बहुधार्मिक छ । विविधतायुक्त शहर भएको हुनाले र पहिचानको मुद्दा सघनरूपमा धरानले सधैँ बोकिरहेको हुनाले पनि प्रस्तावित किरात प्रदेशको महाधिवेशन सुनसरी जिल्लाको धरानमा गर्नु सान्दर्भिक ठान्यौं । हाम्रो कार्यकाल पनि पूरा भएको र यही समयमा १ नम्बर प्रदेश सभामा नाम र स्थायी राजधानीको बारेमा छलफल हुन लागेकोले दबाव दिने उद्देश्यले महाधिवेशनको मिति तोकेका हौं । धरानको यो महाधिवेशनले प्रदेश सरकार र सभालाई ‘किरात’ नाम राख्न वातावरण बनाउँछ भन्ने लाग्छ ।

तयारी कस्तो हुँदैछ ?

–भव्य र द्रुत गतिमा हुँदैछ । हरेक जिल्लामा भित्तेलेखन भएको छ । धरानको विभिन्न चौकमा प्रचारस्टल राख्दै छौं । स्वागतद्वार निर्माण, ब्यानर राख्ने बनाउने काम हुँदैछ । पर्चा, पम्प्लेट वितरण, तयारीकै क्रममा जिल्ला र भातृसङ्गठनको अधिवेशनहरू लगभग सकिएको छ । यायोक्खाको १० औं राष्ट्रिय महाधिवेशन महत्वपूर्ण घडी र समयमा सम्पन्न हुने भएकोले यसका व्यवस्थापन र सैद्धान्तिक पक्षहरूको तयारी पनि अन्तिम चरणमा पुगेको छ । सङ्घीयता कार्यान्वयनको सिलसिला रहेकोले संस्थाको विधानमा पनि स्वभाविक परिवर्तन आउनेछ । विधान उपसमितिले छलफल चलाइरहेको छ । यस्तै पक्षहरूमा सम्बन्धित भएर महाधिवेशनको तयारी अगाडि बढिरहेको छ ।

प्रतिनिधि, पर्यवेक्षक कति हुन्छन् ? कुन कुन देशबाट आउँदैछन् ?

– हाम्रो महाधिवेशनमा २४ वटा जिल्ला, ८ भातृसंस्था, २८ भाषिक संस्थाहरू, अमेरिका, बेलायत, अष्ट्रेलिया, हङ्कङ, दक्षिण कोरिया, युएई, कतार, भारत, जापानलगायतका १७ देशबाट एक हजारको संख्यामा प्रतिनिधि, पर्यवेक्षक आउनेछन् ।

महाधिवेशनले के–के विषयमा निर्णय गर्ला ?

– मुख्यतः किरात प्रदेश नामकरण नै हो । झापामा भएको छैठौं राष्ट्रिय महाधिवेशनदेखि निरन्तर यो भूगोलको नाम ‘किरात’ रहनु पर्छ भनेर लागिरहेका छौं । स्थापनाकालदेखि अहिलेसम्म आइपुग्दा संस्थाले थुप्रै परिवर्तनहरू आत्मसात गरेको छ । आफ्नो संस्कार, संस्कृति, भाषा, सभ्यता, इतिहास र परम्परालाई वृत्ति विकास गर्दै जानुका साथै नयाँ पिँढीलाई पुस्ताहस्तान्तरण गर्ने र यो २१ औं शताब्दीका चुनौतीहरूलाई आत्मसात गर्ने पिँढीको निर्माण गर्नुपर्ने संस्थाको दायित्व छ । पछिल्लो समयमा पहिचानको मुद्दा पेचिलो ढङ्गबाट अगाडि बढिरहेको छ । हाम्रो संस्थाको साङ्गठनिक दायरा ठूलो छ । देशबाहिर उत्तिकै क्रियाशील छ । यतिको संख्यामा वृद्धि भएको सङ्गठनले राष्ट्रिय राजनीतिमा समुदायको पहुँच स्थापित गर्नुपर्ने र आर्थिक, सामाजिक समानता आजको आवश्यकता हो । यी सबै पक्षलाई आत्मसात गर्दै परिपक्व सङ्गठनको रूपमा यायोक्खाले आफूलाई उभ्याउनु पर्नेछ । त्यसकारण मुख्य विषय किरात प्रदेश नामकरण नै भए पनि समग्र विषयलाई ध्यान दिनेछौं ।

‘किरात’ नाम नै किन ?

– प्रदेश नम्बर १ अन्य प्रदेशभन्दा विशिष्ट प्रकारको छ । ‘किरात’ शब्दले कुनै एउटा जातिलाई मात्र सम्बोधन गर्दैन । किरात इतिहास, भूगोल र सभ्यता हो । त्यसकारण समग्ररूपमा भूगोललाई किरात भन्दा न्याय हुन्छ । किरात शब्दको उत्पत्तिको विषयलाई अझै अध्ययन गरौं कि यो एउटा जातिविशेष हुँदै होइन । किरात समुदाय यो क्षेत्रको आदिम जाति भएको कारण शब्दसँग अन्योन्याश्रित सम्बन्ध रहन सक्ला । तर, विभिन्न विद्वान, लेखक, इतिहासकारको तर्क, विश्लेषणहरू पढ्दा वा सुन्दा प्रष्ट हुन्छ कि किरात एउटा जाति होइन । त्यसकारण यो प्रदेशको नाम किरात नै सर्वस्वीकार्य हुनसक्छ । यो अवस्था बुझेर प्रदेश सरकार, सभा, राजनीतिक दलका नेताहरू ‘किरात’ नाम अनुमोदन गर्ने पक्षमा हुनुहुन्छ भन्ने हामीलाई लागेको छ । त्यहाँ मात्र होइन, सरोकारवाला पक्षहरू सम्पूर्ण जातजाति, वर्ग समुदाय र जनस्तरमा समेत प्रदेश १ को नाम किरात नै सान्दर्भिक भएको निष्कर्षमा पुगेका छन् ।

उद्घाटनमा कति जनसहभागिता होला ?

– एक लाखभन्दा बढी भानुचौकमा उतार्ने योजनामा छौं ।

सामाजिक संस्था भएर यायोक्खाले राजनीतिक एजेण्डा किन उठाएको भन्नेहरूलाई के भन्नुहुन्छ ?

– किरात राई यायोक्खा सामाजिक संस्था हो । यसले समुदायको सर्वाङ्गीण पक्षहरूमा वकालत गर्छ । समुदाय, समाजकै लागि राजनीतिक दलहरूले काम गर्ने हो । समुदाय स्वभाविक रूपले राजनीतिको केन्द्रमा रहन्छ । मुलुकमा राजनीतिक परिवर्तनहरू र त्यस परिदृश्यमा घटेका घटनाक्रमहरूले समुदायलाई स्वभाविक रूपमा छुन्छ । यसै परिप्रेक्षमा मुलुकमा ठूला घटना वा राजनीतिक परिवर्तनहरू भए । जसको जग पहिचान थियो । त्यसो भएको हुनाले हामी र हाम्रो समुदायले पहिचानको मुद्दालाई इतिहास, संस्कार, संस्कृति, सभ्यता, परम्परा र भूगोललाई केन्द्रित गरेर उठाउँदै आएका छांै । यी मुद्दाहरू राजनीतिकेन्द्रित मुद्दाहरू हुन् । यति हुँदाखेरी संस्थाले राजनीतिक मुद्दा उठायो भन्नु पूर्वाग्रह हो । जबकी पहिचान हाम्रो प्रमुख मुद्दा हो ।

तपाईको नेतृत्वकालमा के–के कार्यहरू गर्नुभयो ?

– यो कार्यकाल देशको राजनीतिक घटनाक्रम तीव्र गतिमा परिवर्तन भइरहेको अवस्था थियो । राजनीतिक दल र मोर्चाहरूले समुदाय र सङ्गठनलाई प्रभावमा पार्ने साथै समुदायमा विभिन्न धारणा र जिज्ञासाहरु आइरहने अवस्थाका बावजुद संस्थालाई अक्षुण राख्दै गर्विलो इतिहासको साथ अगाडि बढाउनु पर्ने थियो । समुदायले आशा गरेअनुरूप संस्थालाई साझा संस्थाको रूपमा अगाडि बढाउने हाम्रो कार्यकालले सार्थकता पाएको छ । विशेषतः किरात नाम राख्ने विषयमै हामी बढी समय केन्द्रित भयौं । मुख्यमन्त्रीदेखि प्रधानमन्त्रीसम्म, प्रदेशसभादेखि संघीय सभाका प्रभावकारी व्यक्तिहरुसँग भेटर आफ्नो मुद्दाको बारेमा बुझाउने काम भएको छ । हाम्रो कार्यकालमा भएका विषयहरू सञ्चार माध्यमहरूमा पनि व्यापक आइरहेको छ । मूल्याङ्कन त अरुले गर्ने हो मेरो विचारमा हाम्रो कार्यकाल सफल रूपमा बित्दैछ ।

सुनसरीको धरानमै बसेर पनि नेतृत्व गर्न सकिने रहेछ हो कि ?

– हो, सकिन्छ । एउटा संस्थामा लागेपछि नेतृत्व गर्ने स्वभाविक प्रकृया हो । यही प्रकृया अन्तर्गत मैले नेतृत्व गर्न पुगेँ । भूगोलको हिसाबले प्रस्तावित किरात प्रदेशको केन्द्र नै हो धरान । त्यही रहेर नेतृत्व गरेँ । संस्थाको केन्द्रीय कार्यालय काठमाडौंमा रहे पनि भूगोलको हिसाबले मुख्य केन्द्र धरानमा रहेर भूमिका निर्वाह गरेको हुँ । सङ्घीय राजधानी बाहिरबाट नेतृत्व गर्ने एउटा परीक्षण र अभ्यासको रूपमा पनि लिन सकिन्छ । यद्यपि म काठमाडौं बाहिर रहे पनि निर्णय गर्न कुनै अप्ठ्यारो भएन । अप्ठ्यारो गरिएन । आवश्यक पर्दा काठमाडौं र धरान दुवै स्थानमा बैठकहरू भए । संस्थागत निर्णय गर्न कुनै समस्या भएन ।

महाधिवेशनले नयाँ नेतृत्व पनि निर्वाचित गर्ने होला, नेतृत्वको लागि क–कसले इच्छा व्यक्त गरेका छन् ? तपाई आउने कार्यकालको लागि उम्मेदवार हो कि हैन ?

– राष्ट्रिय महाधिवेशनले नीतिगत निर्णय, आगामी कार्यदिशा, कार्यकालको मूल्याङ्कन र नयाँ नेतृत्व चयन गर्छ । हाम्रो संस्थामा लामो समयदेखि नेतृत्वदायी भूमिका निर्वाह गरेका निश्चित साथिहरू हुनुहुन्छ । उहाँहरूको नेतृत्व गर्ने इच्छा हुनु राम्रो पक्ष हो । मुख्य–मुख्य पदको आकर्षण वा इच्छा चाहना व्यक्त गर्नुले संस्थालाई सजीव र क्रियाशील छ भन्ने बोध गराउँछ । तीमध्येका साथीलाई सर्वसम्मतिको आधारमा नेतृत्व हस्तान्तण गरिनेछ ।

उम्मेदवारहरूको इच्छा हुँदाहुँदै यायोक्खामा किन निर्वाचन हुन दिइँदैन ?

– महाधिवेशन निश्चित पद्दति र प्रक्रियामा हुन्छ । खुल्ला र बन्द सत्र । यी दुवै सत्रहरूमा संस्थाले प्रक्रियागत ढङ्गबाट अगाडि बढाउँछ । साथीहरूलाई आफ्नो कुरा राख्ने अधिकार स्वभाविक रूपमा हुन्छ । यद्यपि संस्थाको अभ्यासको निरन्तरतालाई हेर्दा ती उम्मेदवारहरूमध्येबाट नै कार्यसमितिको सर्वसम्मत चयन गर्ने परम्परा छ ।

तपाईं त गएको स्थानीय तहको निर्वाचनमा मेयरको उम्मेदवार पनि ? धरान उपमहानगरपालिकामा प्रमुख पद अहिले पनि खाली छ ? फेरि उठ्नुहुन्छ ?

– व्यक्तिको स्वभाविक रूपमा बहुआयामिक परिचय हुनसक्छ । उसको उत्तरदायित्व र भूमिका आफ्नो परिवार, समाज, समुदायप्रति रहन्छ नै । साथै यी सबै कुराहरूलाई अघि बढाउँदै जाँदा व्यक्ति राजनीतिक सिद्धान्त र दर्शनबाट समेत प्रभावित हुनसक्छ । त्यसो भएको हुनाले म पनि जिम्मेवार पार्टीको कार्यकर्ताको भूमिका पनि निर्वाह गरिरहेको छु । यही जिम्मेवारी र भूमिकाअनुसार स्थानीय तहको निर्वाचनमा धरान उपमहानगरपालिकाको मेयरको निर्वाचनमा उम्मेदवार भएको थिएँ । जसरी किरात राई यायोक्खामा निरन्तर कार्य गरिरहँदा विभिन्न जिम्मेवारी सम्हाल्दै केन्द्रीय अध्यक्ष भएँ । त्यो म एक्लैको भूमिकाले होइन । मेरा सबै सहकर्मी साथीहरू र समुदायको लगानीले गर्दा भएँ । सोहीअनुसार स्थानीय राजनीतिमा एउटा राजनीतिकर्मीको हैसियतले निर्वाचनमा मैले उठ्नु पर्ने मसँग सम्बन्धित पार्टीले निर्णय गरेमा मैले तयारी गर्नुपर्ने हुन्छ । जो मेरो कर्तव्य पनि बन्न जान्छ ।

अन्तमा, महाधिवेशन बारे छुटेका विषय भए राखिदिनुस् न ?

– सर्वप्रथम सङ्गठनको विचार राख्ने अवसर दिएकोमा ब्लाष्ट दैनिकलाई धन्यवाद । यो महाधिवेशन राई समुदायले उत्सव र एउटा बृहत् आन्दोलनको रूपमा आयोजना गर्दैछ । यो महाअभियानमा नेपाल र विश्वका जुनसुकै स्थानमा रहनुभएका दाजुभाइ, दिदीबहिनीहरूलाई सहभागी हुन आग्रह गर्दछु । साथै आर्थिक, भौतिक, नैतिक सहयोग गर्नसमेत अनुरोध गर्दछु । सङ्घीय, प्रदेश र स्थानीय तहका सरकार, प्रशासक, प्रहरी, बुद्धिजीवी, सञ्चार गृह र पत्रकारलगायत सबै सबैलाई यो महाधिवेशन भव्य रूपले सफल पार्न सहयोग गर्न हार्दिक अपिल गर्दछु ।

प्रदेश १ को बजेट ४२

विराटनगर /  १ नम्बर प्रदेश सरकारले आर्थिक वर्ष २०७

उर्लाबारी सरकारले 'ज

उर्लाबारी / उर्लाबारी नगरपालिकाले धिमाल जातिहरुको

हात्तिसार क्याम्पसको

धरान / धरानको पर्यटकीय क्षेत्र विजयपुरस्थित केन्द्


हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved