धरान/ मोफसलका फुटबल प्रशिक्षक तथा क्लब सञ्चालकहरूको साझा गुनासो छ, ‘मोफसलका क्लबहरूलाई ए डिभिजन लिग खेल्न दिइँदैन । उपत्यकाका क्लबहरूलाई मात्रै ए डिभिजनको श्रेणीमा राखिन्छ ।’

जुन निर्णय नै मोफसलका क्लबहरूका लागि व्यवसायिकतामाथिको बाधक रहेको बुझाइ झापा ११ का अध्यक्ष जलकुमार गुरूङको छ ।

‘फुटबल भनेको काठमाडौं मात्रै हो भन्ने बुझाइ छ ।’ उनी आक्रोस पोख्छन् । झापा ११ यस्तो टिम हो । जसले शहीद स्मारक ए डिभिजन लिगमा पनि आफ्नो कौशल देखाइसकेको छ । तर, दूभाग्र्य २०७२ सालको विनासकारी भूकम्प नै झापा ११ को लागि लिगमा ‘नायक’ हुने मौकाको बाधक बन्यो । होम एण्ड अवे लिगमा झापा ११ ले उत्कृष्ट प्रदर्शन गरेको अध्यक्ष गुरूङ बताउँछन् । ‘वर्षभरी १३ जना खेलाडीलाई हामीले आवद्ध गरेका छौं । लिग नदिएपछि हाम्रो खेलाडी अवसर खोज्न जाने नै भए ।’ उनी भन्छन् ।

राजधानी केन्द्रित फुटबलले व्यवसायिक क्लब उत्पादन गर्न मोफसललाई गाह्रो भइरहेको एन्फाका मानार्थ उपाध्यक्ष एवम् धरान फुटबल क्लबका अध्यक्ष किशोर राई बताउँछन् । २०५५ सालदेखि बुढासुब्बा गोल्डकप गर्न सफल क्लब हालसम्म व्यवसायिक बन्न सकेको छैन । जसका कारण हरेक पटकको बुढासुब्बामा आयोजकका लागि चुनौती बन्ने गरेको छ ।

खेलाडी सङ्कलन गरेर खेलाउनुपर्ने बाध्यता क्लबलाई छ । अध्यक्ष राई भन्छन्, ‘फुटबलमा केन्द्रीयता हावी छ । विकेन्द्रीकरण छैन । सबै संरचना तल छैन । त्यसले गर्दा आत्मनिर्भर बन्न सकेको छैन ।’ तर, मोफसलकै खेलाडीहरूका कारण काठमाडौंका क्लबहरूले जयजयकार हुने अवसर पाइरहेको तर्क गर्छन् राई । प्रदेश १ मा मात्रै अहिले चारवटा प्रतिष्ठित गोल्डकपहरू हुन्छन् ।

तर, झापा ११ बाहेक अन्य क्लबले खेलाडीलाई व्यवसायिक रूपमा राख्न सकेको छैन । अझ मदन भण्डारी स्मृति इटहरी गोल्डकप आयोजक राष्ट्रिय जागृति क्लबसँग त खेलाडी अभाव व्याप्त छ । त्यस्तै विराट गोल्डकप आयोजकको अवस्था भनिसाध्य छैन ।

फुटबलका जानकार दिलीप राई भन्छन्, ‘नीति छैन । नेशनल लिग आफ्नो खुसी छ । मोफसलका क्लबलाई मान्यता दिँदैन ।’ मोफसलका झण्डै ६० प्रतिशत खेलाडीहरू काठमाडौंका क्लबहरूमा आवद्ध छन् । मोफसलका क्लबले व्यवसायिक रूपमा उनीहरूलाई राख्न सक्ने अवस्था नभएको उनको बुझाइ छ ।

‘मोफसलको क्लबलाई पनि मान्यता दिनुपर्छ । प्रदेश लिग खेलाउनु पर्छ ।’ राई भन्छन्, ‘प्रदेशबाट नेशनल लिग खेलाउनुपर्छ । अनि खेलाडी टिक्छन् ।’ फुटबलको विकासमा अहोरात्र खटिएको एन्फाले विकेन्द्रीकरणमा हालसम्म ध्यान नदिएको जानकारहरूको भनाइबाटै स्पष्ट छ । गत बैसाखमा निर्वाचित एन्फाका केन्द्रीय अध्यक्ष कर्मा छिरिङले खेलाडी उत्पादन तथा संरचना निर्माणमा तीव्रता दिने बताएको झण्डै एक वर्ष पुग्न लागेको छ ।

तर, व्यवहारमा लागू भएको छैन । एन्फाका मानार्थ उपाध्यक्ष राई अब प्रदेश र स्थानीय तहले नै फुटबल विकासका लागि बजेट विनियोजन गर्दै क्लबहरूलाई व्यवसायिक बनाउनमा जोड दिनुपर्ने तर्क गर्छन् । ‘स्थानीय निकाय नै आर्थिक रूपमा कमजोर छ । साङ्गाठानिक रूपमा कमजोर छ । स्थानीय नीति बनाउन सक्नुप¥यो’ उनी भन्छन्, ‘नीति बनेमा तलका खेलाडीलाई, क्लबलाई पनि मजबुत बनाउन सकिन्छ ।’ शहीद स्मारक ए डिभिजन लिगलाई झापा ११ का अध्यक्ष गुरूङ ‘सिटी लिग’ को संज्ञा दिन्छन् । ‘यताका क्लब सक्षम भयो भने खेलाडी नै पाउदैन भनेर पनि क्लबलाई मान्यता दिँदैनन्’–उनको सिधासिधी आरोप छ ।

मोफसलबाट झापा ११ ले देशभरको गोल्डकपमा सहभागिता जनाउँदै आइरहेको छ । गत सिजनमा झापा ११ ले इलाममा सम्पन्न फाल्गुनन्द गोल्डकपको उपाधि जितेको थियो । एन्फाले मोफसलका क्लबलाई बजेटसमेत छुट्याउदैनन् । जसले गर्दा मोफसलका क्लबहरू व्यवसायिक बन्न नसकिरहेको तर्क उनीहरूको छ । ‘केन्द्रीकृत मानसिकता त्याग्नुपर्छ । अनिमात्रै मोफसलको क्लब फष्टाउँछ’–एन्फा मानार्थ उपाध्यक्ष राई भन्छन् ।