धरान । २१ औं बुढासुब्बा गोल्डकपमा उपविजेता बनेको धरान फुटबल क्लबका खेलाडीहरूलाई प्रोत्साहन पुरस्कार बुधबार प्रदान गरिएको छ ।

धरान उपमहानगरपालिका र आयोजक धरान फुटबल क्लबले संयुक्त रूपमा कार्यक्रम गर्दै २० खेलाडीहरूलाई ३ लाख ५० हजार रुपैयाँ प्रोत्साहन पुरस्कार प्रदान गरिएको हो । आयोजकलाई १२ वर्षपछि फाइलनमा पु¥याउँदै उपविजेता बनेकोमा प्रोत्साहन स्वरूप नगद प्रदान गरिएको क्लबका अध्यक्ष किशोर राईले बताए ।

आठौं संस्करणपछि आयोजक सेमिफाइलनबाटै बाहिरिदै आएको थियो । आयोजक हालसम्म ५ औं पटक उपविजेता बनेको छ । आठौं संस्करणमा पनि अफ्रिकन क्लबसँग उपविजेतामा खुम्चिएको आयोजक यो संस्करणमा पनि अफ्रिकन टिमसँगै पराजित बनेको हो । यसपटक धरानकै खेलाडीहरूले प्रतिस्पर्धा गरेका थिए ।

धरान उपमहानगर नगर खेलकुद विकास समितिले १ लाख ५० हजार रुपैयाँ र आयोजक धरान फुटबल क्लबले २ लाख रुपैयाँ खेलाडीहरूलाई प्रोत्साहन स्वरूप प्रदान गरिएको थियो । धरान उपमहानगरकी कार्यबाहक मेयर मञ्जु भण्डारी सुवेदी र क्लबका अध्यक्ष राईले संयुक्त रूपमा रकम प्रदान गरे ।

यसैबीच आहा–रारा पोखरा गोल्डकपका लागि धरानको टोली त्यसतर्फ प्रस्थान गरेको छ । प्रशिक्षकसहितको टोली पोखरा प्रस्थान गर्ने क्लबका अध्यक्ष राईले बताए ।