दुलारी/ १० बजे सुन्दरहरैंचा नगरपालिका पुगेका सुन्दरहरैंचा–३ का जगदीश राई नगरपालिकाका कर्मचारीप्रति आक्रोसित भए । ११ बजेसम्म कर्मचारी कार्यालयमा नआएको भन्दै उनले आक्रोस पोखे । उनी गनगन गदै थिए, ‘एक दिन हैन, दुई दिन हैन, नगरपालिकामा कर्मचारीको मनपरी भयो ।’
 
उनी मात्र हैन, कार्यालय समयमै पुग्ने सेवाग्राहीले घण्टौंसम्म कर्मचारी कुर्नु परेको सेवाग्राहीहरू बताउँछन् । कार्यालय समयमा कर्मचारी नआउँदा सेवाग्राहीले सास्ती खेप्नुपरेको अर्का सेवाग्राही जीवन राउत बताउँछन् । ‘जग्गाको कर तिर्न आएको १ घण्टा भयो’ ११ बजेको घडी देखाउँदै उनले भने, ‘कार्यालयमा कर्मचारीहरूको मनपरी नै छ, उनीहरूको सहजमा हामीले काम लिनु पर्ने रहेछ ।’ 
 
११ बजेसम्म एक–दुई कर्मचारीबाहेक कोही आएका थिएनन् । दमकलका कर्मचारीहरू भने घाम तापेर बसिरहेका थिए । केही अन्य शाखाका प्राविधिक कर्मचारीहरू पनि घाम ताप्दै गरेका भेटिए । कार्यालयमा समयमै कर्मचारी नआउँदा कार्यालय पुग्ने सेवाग्राहीहरू हैरान हुने गरेका छन् । एक कर्मचारीले नाम नखुलाउने शर्तमा भने, ‘पाँच महिनाअगाडि कार्यकारी अधिकृत राजेन्द्र भट्टराईकै कमजोरीका कारण उनका नजिकका कर्मचारी कार्यालय समयमा आउँदैनन् ।’ 
 
अर्का कर्मचारीले नाम नछाप्ने शर्तमा भने, ‘भट्टराई सर आएसँगै कार्यालय लथालिङ्ग जस्तै भएको छ । कर्मचारीहरूलाई आफ्नो घरको नोकरजस्तो व्यवहार गर्नाले पनि हामीलाई समस्या हुन थालेको छ ।’ प्राविधिक कर्मचारीहरूलाई कडाइ गर्ने नाममा एकपक्षीय काम गरेपछि अधिकांश कर्मचारीहरू रुष्ट भएको उनले बताए । ‘सुन्दरहरैंचा नगरपालिकामा काम गर्ने वातावरण नै भएन, हाकिमको मनपरीतन्त्र छ’ –उनले थपे । लालबाबु पण्डितको सोर्समा आएका कार्यकारीले सबै कर्मचारीलाई रुष्ट बनाएको उनी बताउँछन् । 
 
यता सुन्दरहरैंचा नगरपालिकाका कार्यकारी अधिकृत राजेन्द्र भट्टराईले भने प्राविधिक कर्मचारीहरू सधैँ फिल्डमा हिँड्ने गरेको कारण कार्यालय समयमा कर्मचारी नआएको गैरजिम्मेवार उत्तर दिए । कर्मचारीहरू समयमै कार्यालयमा नआउने गरेको स्वीकार गर्दै कार्यकारी अधिकृत भट्टराईले भने, ‘भोलिदेखि समयमै कर्मचारीहरूलाई आउन भन्छु ।’ 
 
अधिकांश कर्मचारी सरकारी पोसाक लाउँदैनन्
धेरैजसो सरकारी कर्मचारीले पोसाक भत्ताबापतको रकम बुझेर सुन्दरहरैंचाका अधिकांश कर्मचारीले सरकारी पोसाक नलगाई कार्यालयमा आउने गरेको पाइएको छ । निजामती कर्मचारीको पोसाकभत्ताका लागि सरकारले ७ हजार ५ सय रुपैयाँका दरले वार्षिकरूपमा रकम दिए पनि कर्मचारीहरू सरकारी पोसाक नलगाई कार्यालय आउने गरेका छन् । 
 
बुधबार कार्यालयमा अधिकांश कर्मचारी सरकारी पोसाक नलगाई आएको भेटियो । कर्मचारी र सेवाग्राही छुट्याउन सजिलोका लागि पोसाक अनिवार्य लगाउनुपर्ने परिपत्र जारी गरिए पनि सुन्दरहरैंचा नगरपालिकाका कर्मचारीहरू अधिकांश समय पोसाक नलगाई कार्यालय पुग्ने गरेका छन् । सुन्दरहरैंचा नगरपालिकाका कार्यकारी अधिकृत भट्टराईले भने, ‘अबदेखि कर्मचारीहरूलाई पोसाक लगाउन कडाइ गर्नेछु ।’ करारका कर्मचारीहरूलाई भने अनिवार्य पोसाक लगाउन भन्न नसकिएको उनी बताउँछन् । निजामती कर्मचारीको आचरणसम्बन्धी नियमावली–२०६५ मा निजामती कर्मचारीले अनिवार्यरूपमा पोसाक लगाउनुपर्ने उल्लेख छ ।
 
कार्यपालिका बैठक स्थगित
नयाँ कार्यकारी आएसँगै सुन्दरहरैंचाको कार्यपालिका बैठकसमेत स्थगित भएको भन्दै जनप्रतिनिधिहरू रुष्ट बन्न थालेका छन् । विभिन्न कारण देखाउँदै कार्यकारी अधिकृत भट्टराईकै कारण कार्यपालिका बैठकसमेत स्थगित हुन पुगेको जनप्रतिनिधिहरूले बताए । 
 
यता सुन्दरहरैंचाका मेयर शिव ढकालले भने कर्मचारीतन्त्र केही हाबी भएको भन्दै घुमाउरो पारामा आरोप लगाए । ‘कर्मचारीहरू अझै १९ औं वर्षसम्मको धङधङीमा छन् । जनप्रतिनिधिहरूलाई बाईपास गर्न खोज्छन्’ उनले भने, ‘यसलाई नियन्त्रण गर्दै जानुपर्छ ।’