सुशासन भनेको के हो ? यसका बारेमा सायद धेरैलाई राम्ररी थाहा छ तर व्याख्या गर्दा भने केही फरक हुन सक्छ । शासन शब्दको अगाडि ‘सु’ जोडिएर सुशासन भएको हो । सु, असल, राम्रो अर्थात् हुनुपर्ने जस्तो भन्ने अर्थ लगाइन्छ ।

सुशासन एकदमै चल्तीको शब्द हो । परिवार, संस्था, समाज, समुदाय, सङ्घ, सङ्गठन, देश सबैमा शासनको अभ्यास हुन्छ । शासन आवश्यक मात्रै होइन, अनिवार्य हो । व्यक्तिका लागि अनुशासन महत्वपूर्ण हुन्छ ।

व्यक्ति–व्यक्तिले अनुशासन पालन गर्दा परिवार, सङ्घ–संस्था, समाज, समुदाय, देश सबैतिर सुशासनको अभ्यास हुन्छ । शासन नभएको परिवार, संस्था, समाज, देश सबैतिर अराजकताले ठाउँ पाउँछ । अराजक भन्नु स्वार्थका लागि बलियाले निर्धालाई अन्याय गर्नु, लुट्नु, ठग्नु, हेप्नु आदि–आदि हो । सुशासन सबैलाई न्याय हुने, समान व्यवहार, समान अवसर, विधि, नीति, परम्परा, चलन आदिको पालना हो । सुशासनको पालना हुँदा सबैको हित र संस्थाको उन्नति हुन्छ भने सुशासन नहुँदा केही खराब मानिसले फाइदा लिन्छन् तर धेरैको अहित हुन्छ ।

आधुनिक समाजमा सबैले सुशासनका कुरा गर्छन् । सुशासन छैन, गर्दिन, मान्दिन, हुँदैन, चाहिँदैन, नभएकै राम्रो आदि कसैले भन्दैनन् । मानिसको संस्कार, चेतना, सोच आदिका आधारमा एकै खालको व्यवहार र शैलीलाई कसैले सुशासन मान्दा अर्को कसैले सुशासन नमान्न सक्छ । धेरथोर यो अभ्यास, चलन, सोच आदिका आधारमा फरक पर्न सक्छ ।

कुनै समय अभ्यास गरेको व्यवहार सुशासनजस्तो लाग्न सक्छ तर समयसँगै परिवर्तन हुने मानिसको चेतना र व्यवहारले त्यसलाई सुशासन नमान्न पनि सक्छ । जस्तैः कुनै परिवारमा परिवारको मूलीले भनेको मान्नु सुशासन हो, जस्तो लागुञ्जेल मानिन्छ तर मूलीले भनेको कुरा अरुलाई चित्त बुझेन भने नमान्न सक्छन् । यस्तोमा मूलीलाई परिवारका सदस्यले अनुशासन तोडेको लाग्न सक्छ र अरुलाई घरमूलीले नबुझेको जस्तो लाग्न सक्छ । यो एउटा घरको, परिवारको मात्रै होइन संस्था, सङ्घ–सङ्गठन, कम्पनी, प्रतिष्ठान, समाज, समुदाय, देश सबैतिर लागू हुन्छ ।

परिवार सञ्चालनमा लिखित नियम हुँदैन तर चलन, परम्पराअनुसार काम गरिन्छ । ठूलालाई आदरसम्मान र सानालाई माया, उमेर र योग्यता क्षमताअनुसारको कामको बाँडफाँट, कमजोर र अशक्तलाई हेरचाह आदि विषयमा लिखित हुँदैन तर व्यवहारमा पालना हुन्छ । भिन्न–भिन्न परिवारका व्यक्ति–व्यक्ति मिलेर सञ्चालन गरिने संस्थाहरूमा लिखित नियम, विधान हुन्छ, हुनुपर्छ । देशको मूल कानून र त्यसको मातहतमा बनेका ऐन नियम, नियामावलीसँग नबाझिने गरी सबै सङ्घ–सङ्गठन, संस्था, प्रतिष्ठानले आफ्नो आवश्यकताका लागि आपैmले नियम बनाउनु पर्छ । कहिलेकाहीँ घरपरिवारमा लिखित कानून नियम नभए पनि चलेचलाएको अभ्यासले संस्थामा पनि ठूलाले भनेको मान्ने हो भन्ने लाग्छ । किनकि हामी प्रत्येकले घर–घरमा त्यही अभ्यास गरिरहेका छौं ।

यहाँ सहकारीको सुशासनको कुरा गर्दा अब सहकारीले पनि आफ्नो व्यवसाय, क्षेत्र, प्रकृति, आकार आदिलाई ध्यान दिएर आफ्ना लागि नियम बनाउनु पर्छ । सुशासनको पहिलो आधार लिखित नियम हो । दोस्रो आधार परम्परा, चलन हो । सुशासनका लागि सकेसम्म धेरै विषयमा लिखित नीति बनाउनु उपयुक्त हुन्छ । सहकारी संस्था सानो छँदा व्यक्तिको भूमिका अलि बढीजस्तो देखिन्छ । समुदायका मानिसले त्यो संस्थामा भएका अगुवाहरूलाई हेरेर संस्थाप्रति धारणा बनाउने हो । यस्तो बेलामा मानिसले तपाई भएर मात्रै म यहाँ सदस्य बनेको भन्लान् । संस्थाका केही अगुवा व्यक्ति असल हुँदा तिनले सदस्यको अहित हुने गरी गलत काम नगर्लान् ।

व्यक्तिभित्र भएको चिन्तन, स्वभाव, लाज, डर आदिका कारणले केही मानिसले राम्रो गर्न सक्छन् । व्यक्तिले राम्रो गरुन्जेल संस्था राम्रो हुन सक्छ, नाफा गर्न र सदस्यको हितमा काम गर्न सक्छ । यसरी राम्रो गर्ने संस्थाका अगुवा मानिसलाई हामीले गरेको, अझ मैले गरेको भन्ने पनि लाग्न सक्छ । यो समयसम्म सदस्यले समाजले प्रशंसा गर्लान्, जस पाइएला । तर यति काम भएकै आधारमा सहकारी संस्थामा सबै राम्रो काम भएको छ भन्ने हुँदैन ।

राम्रो हुनु भनेको दिगो विकासको प्रयास हुनु पनि हो । दिगो विकासका लागि सुशासन पहिलो शर्त हो । सहकारी संस्थाहरू जति ठूलो आकारमा विस्तार हुँदै जान्छन्, त्यति नै सुशासनको महत्व बढ्दै जान्छ । संस्था ठूलो हुनु भनेको जोखिम पनि ठूलो हुनु हो । जति ठूलो जोखिम, त्यति नै ठूलो सुरक्षाको उपाय अपनाउनु पर्छ । सुरक्षाको भरपर्दो उपाय भनेको असल व्यक्ति मात्रै होइन ।

असल संस्कार पनि हो । असल संस्कारका लागि नियम, विधिको पर्याप्तता र त्यसको पालना हो । तब मात्रै सुशासनको अभ्यास हुन्छ । जहाँ सुशासनको अभ्यास हुन्छ । त्यहाँ सुशासन कायम हुँदै जान्छ । यो एक दिन, एक हप्ता, एक महिना गरेर हुने कुरा होइन । सुशासन संस्थासँग जोडिएका हरेक व्यक्ति–व्यक्तिले पालना गर्ने विषय हो । यो व्यक्तिको जीवन पद्धति बन्न सक्नु पर्छ । बानी मात्रै होइन, संस्कारको रूपमा व्यक्तिका आचरण विकसित हुनुपर्छ । यस्तो असल अभ्यास एउटा पुस्ताबाट अर्को पुस्तामा सर्र्दै जानुपर्छ ।

हाम्रो समस्या कहाँ छ भने हामी सुशासनका कुरा त गर्र्छौं तर आपूmलाई फाइदा हुने शर्तमा मात्रै त्यसको पालना गर्न जाँगर देखाउँछौं । यदि आपूmलाई फाइदा नहुने, त्यसले आपैmलाई बाँध्ने, आप्mनो स्वभाव अनुकूल नभएमा त्यसलाई मान्न तयार हुँदैनौं । यो समस्या कुनै एक व्यक्ति वा संस्थाको मात्रै होइन, धेरैतिर यो समस्या छ । हामी आपैmले बनाएको नियम आपैmले नमान्ने समाजका मानिस हौं । समाजका कुनै–कुनै अगुवा, संस्थाका अगुवामा यस्तो दम्भ देखिन्छ कि लिखित नियम मान्नु आप्mना लागि अपमान भएजस्तै मान्छन् ।

यो नै सुशासनमा देखिएको सबैभन्दा ठूलो समस्या हो । लाइनमा बसेर सेवा लिने मानिसलाई हामी निर्धो सम्झन्छौं । कोही निर्धो हुन तयार छैनन् । त्यसैले सकेसम्म सबै नियमको सीमामा बस्न रुचि राख्दैनन् ।

सहकारीमा सुशासनका लागि धेरै केही गर्नु पर्दैन मात्र भनाइ र गराइमा एकरूपता ल्याउन सक्ने हो भने सुशासनको बलियो आधार बन्छ । यदि हाम्रा सबै क्रियाकलापलाई पारदर्शी तरिकाले सबैका सामु राख्ने अभ्यास मात्रै गर्ने हो भने पनि सुशासनको लागि धेरै काम हुन्छ । समाजमा ठग, चोर, भ्रष्ट, बलात्कारी, अल्छी, धूर्त, बेइमान आदि स्वभाव भएका मानिस छन् । तर कसैले पनि आपूmलाई यस्तो भएको घोषणा गरेका छैनन् । किनकि यस्ता मानिसले आफ्नो आचरण समाजसँग लुकाउँछन् । समाजसँग डराउँछन् ।

समाजको अगाडि कोही पनि चोर, भ्रष्ट, ठग, फटाहा हुन चाहँदैनन् । तर समाजमा यस्ता घटना दिनका दिन भइरहेका हुन्छन् । जसले यस्तो गलत काम गर्छन्, तिनले लुकेर गर्छन् । गरेका खराब काम सार्वजनिक गर्न डराउँछन्, लजाउँछन् । यदि सहकारीका कुनै जिम्मेवार व्यक्तिले आफु ले गरेका सबै कार्य सबैले थाहा पाउने गरी सार्वजनिक गर्नु पर्ने नियम बनाउने हो भने पनि सुशासनको लागि राम्रो काम हुन्छ । त्यसैले सहकारी संस्थाले आफ्ना सबै गतिविधि, सहकारीसँग जिम्मेवार मानिसका सम्पूर्ण कामकाज सार्वजनिक गर्ने चलन मात्रै ठीकसँग चलाउने हो भने सुशासनको राम्रो अभ्यास हुन्छ ।

सहकारी संस्थामा संस्थाको आकार, कारोबार, जिम्मेवारी आदिका आधारमा अध्यक्ष, समिति, कर्मचारी, सदस्यले के के गर्न हुन्छ, के के गर्न हुँदैन भन्ने कुरा धेरै हदसम्म लिखित गर्नुपर्छ । लिखित हुन नसकेका कुरा प्रचलित चलन, परम्परा र समाजको नियम, देशको कानूनअनुसार हुन्छ र हुनुपर्छ । जब संस्थाका यीमध्ये कुनैले स्वार्थका कारणले, अहम्ताका कारणले नियमको परिधिभित्र बस्न रुचि राख्दैनन्, तब सहकारीको सुशासनको जुइना, नटबल्टु कमजोर हुन थालिहाल्छन् । त्यसैले सहकारी संस्थामा सुशासनको पहिलो आधार भनेको धेरैभन्दा धेरै लिखित नियम, विधि, असल संस्कार, असल परम्परा, सकारात्मक सोचका साथ सबैले यस्ता नियमको पालना नै हो ।

संस्था ठूलो हुँदै जाँदा व्यक्ति गौण बन्दै जान्छ । संस्थाले लिएको संस्कार, परम्परा, नीति, नियम नै प्रमुख हुँदै जान्छन् । जुन संस्थामा यस्तो अभ्यास दरिलो भएको हुन्छ, त्यस्ता संस्थाहरूको भविष्य उज्वल हुन्छ । किनकि तिनले संस्थाको जोखिम व्यवस्थापन नीति, विधि र अभ्यासले गरे ।

सहकारीमा सुशासनको पालना गराउन नियम, विधि बनाएर मात्रै पुग्दैन । त्यसको पालना भए नभएको निगरानी पनि गर्नुपर्छ । अध्यक्षदेखि सदस्यसम्मले त्यसको पालना गर्ने गराउने गरी संस्कार बसाउनु पर्छ । संस्कार अभ्यासले मात्रै बन्छ । अभ्यास गर्न उत्प्रेरणा जगाउने खालका काम गर्नुपर्छ । नमान्नेलाई जतिसुकै ठूलो पदको र जति नै धेरै योगदान गरेको भए पनि कुनै विभेद नगरी सबैलाई बराबरी नियम लगाएर सजाय गर्न पनि पछि पर्नु हुँदैन ।

धेरैजसो सहकारी संस्थाले सदस्यहरूसँग बचत ऋणको कारोबार गरेका छन् । सदस्यले ऋण लिने बेलामा सबै कुरा मान्छु भन्ने तर ऋण लएर गएपछि व्यवहारमा नमान्ने हो भने त्यहाँ ऋणी सदस्यमात्रै दोषी हुने होइन कि ऋण दिने संस्था, समिति, कर्मचारी पनि दोषी हुन् । किनकि उनीहरूमा या त सदस्यको पहिचान गर्ने क्षमता कमजोर छ या त स्वार्थवश कर्जा दिने निर्णय गरेर कर्जा लगानी गरेको छ । समितिमा बस्ने मानिसले संस्था राम्ररी बुझेकै छैन, बुझ्न खासै प्रयास पनि गर्दैनन् । संस्थाको स्वार्थ र सदस्यको हितमाभन्दा आफ्नो हित कसरी हुन्छ भन्ने चिन्तन मात्रै बढी गर्छन् भने त्यस्ता सञ्चालकबाट संस्थामा सुशासन कायम गराउन सकिँदैन भनेर ठोकुवा गरे पनि हुन्छ ।

त्यसैगरी कामका लागि अनुबन्ध भएका कर्मचारीले सहकारीको मर्म बुझेर नियम, विधि, कानूनको पालना गरेर कर्तव्यनिष्ठ कर्मचारी हुनुभन्दा हाकिमले वा समितिले जे भन्छन् मानिदिने हो भन्ने मानसिकता राख्छन् भने त्यस्ता कर्मचारी हाकिम र समितिका लागि सजिला त होलान् तर तिनले संस्थामा सुशासन कायम गराउन सक्दैनन् । कर्मचारीले भन्न सक्नु पर्छ नियमले के मिल्छ के मिल्दैन, के गर्न सकिन्छ के गर्न सकिँदैन । त्यो छुट्याएर नीति र विधिको मर्मअनुसार काम गर्नसके संस्थामा सुशासन कायम भएर संस्थागत र दिगो विकास हुन्छ । नत्र केही व्यक्तिले राम्रो गरुन्जेल संस्था राम्रो देखिए पनि व्यक्ति फेरिएसँगै संस्था सधैँ जोखिममा पर्ने डर भइरहन्छ ।