दमक/ झापाको गौरीगञ्ज गाउँपालिकाले यहाँका ३५ विपन्न परिवारलाई घर बनाइदिने भएको छ । गाउँपालिकाको वडा नं. ४, ५ र ६ का विभिन्न ठाउँमा गरी ३५ परिवारलाई गाउँपालिकाले तीन कोठे घर बनाइदिने भएको हो । जसका लागि विभिन्न दातृ निकायसँग सहकार्य गरेर कामसमेत शुरु गरेको गाउँपालिकाका प्रशासकीय अधिकृत राजकुमार शाक्यले जानकारी दिए ।

हातमा कुनै छेस्का नपसोस् भनेर हातको नाडीदेखि माथिसम्म छोप्ने बाक्लो फाइवरको ग्लोव लगाइएको छ । टाउकामा कुनै वस्तु झरेर नलागोस् भन्नका लागि पहेँलो रङको शिर सुरक्षित गर्ने टोपी(हेल्मेट) लगाएका छन् । हरेकले चश्मा लगाएका छन् । बाँसको भाटा तिखार्दा वा खुर्कंदा त्यसका चोइटा वा झर्राहरूबाट आँखा जोगाउनका लागि चश्मा लगाइएको हो । अत्यन्तै सुरक्षित साथ जापानका १७ जना विद्यार्थीहरूले गौरीगञ्ज गाउँपालिका–६ स्थित दमाई डाँडाका विपन्न परिवारका लागि घर निर्माण गरिरहेका छन् ।

जापानको वासेदा युनिभर्सिटीमा कानून विषयमा स्नातक तहको पहिलो वर्षमा अध्ययनरत युवती मिहो काजीनो झापाको गौरीगञ्ज गाउँपालिका–६ स्थित दमाई डाँडामा बाँसको भाटा तिखारिरहेकी छिन् ।

मिहो त्यहाँस्थित दलबहादुर दर्जीको घर निर्माण गर्न भाटा खुर्कने र काट्ने समेत काममा व्यस्त छिन् । ‘यो मेरा लागि सबैभन्दा खुशीको क्षण हो । मैले नेपालमा आएर यस्तो परिवारलाई सहयोग गर्न पाएँ, जहाँ अत्यन्तै गरिबीले छोपेको छ । मैले जापानमा कलेज पढ्दा यति धेरै सिक्न पाएको थिइनँ । तर यहाँ आएर काम गर्दा त्यति धेरै सिक्न पाएको छु’ –मिहोले भनिन् ।

यहाँ आएर गरेको सानो सहयोगले एउटा परिवारको लागि सुरक्षित बासस्थान बन्न सक्ने उनको भनाइ छ । उनीजस्तै यो स्थानमा सोही विश्वविद्यालयका १७ जना जापानी विद्यार्थी धमाधम काम गरिरहेका छन् । कोही खुकुरीले बाँसको भाटा खुर्किरहेका छन् भने कोही बाँसको टाँटी बुनिरहेका छन् । कोही सिमेन्ट मुछिरहेका छन् । जापानबाट १२ जना छात्रा र ५ जना छात्र गौरीगञ्ज गाउँपालिकाका विपन्नलाई आवास कार्यक्रममा स्वयम्सेवकको रूपमा खटिरहेका छन् ।

विश्व विद्यालयले हरेक वर्ष विद्यार्थीलाई अध्ययनकै लागि विभिन्न मुलुकमा पठाउने गरेको छ । सोही सिलसिलामा कलेजबाट उनीहरू झापा आएका हुन् । उनीहरूले यहाँ ८ दिनसम्म निरन्तर श्रमदान गर्ने कार्यक्रम रहेको विपन्नलाई आवास कार्यक्रममा सहयोग गरिरहेको विदेशी दातृ संस्था ह्याविट्याट फर ह्युमानिटिज नेपाल नामक संस्थाले जनाएको छ । सो संस्थामार्फत् उनीहरू यहाँ आएका संस्थाका कार्यक्रम संयोजक सूर्यप्रसाद कोइरालाले बताए ।

गाउँपालिकाकाले गाँस, बास र कपास अनिवार्य आवश्यकता रहेको भन्दै ज्यादै गरिब परिवारलाई सुरक्षित आवास कार्यक्रम सञ्चालन गरेको छ । यस अन्तर्गत आफ्नो आम्दानीबाट घर निर्माण गर्न नसक्ने ज्यादै गरिब परिवारको छनोट गरिएको छ ।

पहिलो चरण अन्तर्गत गापाले चालु आर्थिक वर्षमा वडा नं. ४, ५ र ६ मा ३५ वटा घर निर्माण गर्ने गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठले जानकारी दिए । ‘हामीले गरिब पहिचान गरी गाउँपालिका, झापाको बिर्तामोडस्थित सहारा नेपाल र ह्याविट्याट फर ह्युमानिटिज नेपाल नामक संस्थाको संयुक्त लगानीमा घर निर्माण अघि बढाइएको अध्यक्ष श्रेष्ठले बताए ।

विपन्न आवास कार्यक्रम अन्तर्गत वडा नं. ४ मा ११ वटा घर, वडा नं. ५ मा १२ र ६ मा १२ वटा गरी जम्मा ३५ वटा घर निर्माण गरिँदै छ । एक घर बराबर कुल एक लाख ५० हजार लागत रहेको जनाइएको छ । यसमा गाउँपालिकाले ७५ हजार र विदेशी दातृ संस्था ह्याविट्याटको तर्फबाट ५० हजार र सहारा नेपालको तर्फबाट २५ हजार सहयोग गरिएको छ ।

‘वर्षौं भयो, राम्रो घर नहुँदा वर्षायाममा झरीको पानी बाहिर जाँदैनथ्यो । गरिबीकै कारण छोराछोरीसमेत राम्रो पढाउन सकिएन, आफू जस्तो भइयो छोराछोरी पनि त्यस्तै अवस्थामा छन् । कयौँ दिन, रात र वर्ष बिते तर हाम्रो जीवन उस्ताको उस्तै छ । राम्रो खान पाउने दिन कहिल्यै पनि आएन ।

तर अहिले नगरपालिकाको सहयोगले टिनको छानोमा बस्नसम्म पाइने भयो । यो नै पहिलो खुशीको दिन आज आएको छ’ –दमाई डाँडाका ६२ वर्षीय दलबहादुर दर्जीले भने । विपन्नलाई आवास कार्यक्रम लक्षित परिवारका लागि प्रभावकारी बन्दै गएको छ ।