उर्लाबारी/ मौरीको लगनशीलता मिहिनेत, परिश्रमले उत्पादन गरेको महको स्वादले प्रभावित बनेका उर्लाबारी–३ का बोधराज खतिवडा मौरी व्यवसायी बनेर सबैको मार्गदर्शक बनेका छन् । मौरीको जस्तै मिहिनेत गर्नसके आफ्नै गाउँ– ठाउँमा सानो लगानीमा मासिक ५० हजारसम्म आयआर्जन गर्न वैदेशिक रोजगारीमा विदेश जानु नपर्ने उनको भनाइ छ ।

मौरीको व्यवसायिकता तथा प्रवर्द्धन विषयमा कृषकलाई तालिम दिन यतिबेला बोधराजलाई भ्याइनभ्याई छ । आफ्नो मुख्य पेशा नै मौरीमा समर्पित गरेका उनको दैनिकी मौरीको खोज अनुसन्धान तथा व्यवसायिक सहजीकरणमा बित्ने गरेको छ ।

एक दशक अघि एउटा घारबाट मौरी पालन शुरु गरेका बोधराजसँग अहिले १ सय ४० घार मौरी रहेका छन् । उनले उर्लाबारी, पथरी, डाँगीहाटलगायतका स्थानमा मौरी केन्द्र राखेर आधा दर्जन स्थानीयलाई रोजगारी दिएका छन् । गत वर्ष उनले मासिक ५० हजारका दरले खुद बचत गरेका थिए भने यस वर्ष उनको आम्दानीमा शतप्रतिशत वृद्धि गरी मासिक एक लाखसम्म खुद बचत गर्नेमा उनी ढुक्क छन् ।

राज्यले ऐन निर्माण गरी मौरी व्यवसायीलाई मौरीको घार निर्माण गर्ने काठ, मौरीजन्य सामग्री खरिदमा छुट, मौरीको उपयोगिताका विषयमा सर्वसाधरणलाई सचेतना तथा प्रवद्र्धनका विषयमा सहयोग पुर्याए व्यवसायीहरूको मनोबल वृद्धि हुने र स्थानीय सबै स्थानमा स्वरोजगार कार्यक्रममा राज्यलाई सहयोग पुग्ने उनले सुझाव दिएका छन् ।

उर्लाबारी नगरपालिकाका नगर प्रमुख खड्ग फागोले चालु आर्थिक वर्षमा नगरका मौरी व्यवसायीको प्रवद्र्धनका लागि ५ लाख विनियोजन गरेको बताए । नगरलाई मौरी तथा मह उत्पादनका क्षेत्रमा आत्मनिर्भर बनाउने उनले बताए ।

नगरपालिका कृषि शाखाका कृषि प्राविधिक अम्बिका लुइँटेलले विनियोजन गरिएको रकममा १०० थान घार र ६ सेट महदानी वितरण गर्ने तयारी भएको बताए । मह अग्र्यानिक उत्पादन भएकाले सबैले उपयोग गरे लाभदायक हुने नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख तोयाप्रसाद घिमिरेले बताए ।

बोधराजले मौरी उत्पादनलाई व्यक्तिगत व्यवसायमात्र नबनाई उर्लाबारी र पथरी–शनिश्चरेका ८९ जना व्यवसायीलाई सङ्गठित गरी मेलीफेरा मौरीपालन सहकारी संस्थासमेत स्थापना गरेका छन् । सो सहकारीका अध्यक्ष समेत रहेका उनले उत्पादन गरेको मह सहकारी संस्थामार्फत् खरिद–बिक्री गर्दै आएको बताए ।