विराटनगर/ जनप्रतिनिधिको संलग्नतामा मोरङको बूढीगङ्गा गाउँपालिका–४ भवानीपुरस्थित बूढीखोलाको बगरमा अवैध रूपमा माटो र बालुवा (भरोट) उत्खनन् भएको विषयमा प्राविधिकसहितको टोलीले छानबिन गर्ने भएको छ । बूढीगङ्गा गाउँपालिकाले प्राविधिकको संयोजकत्वमा समिति गठन गरी छानबिन गर्ने भएको हो ।

अवैधरूपमा उत्खनन् गरी भरोट झिकेको विषयमा समाचार सञ्चारमाध्यमबाट सार्वजनिक भएपछि बूढीगङ्गा गाउँपालिका प्रमुख बालचन्द माझीले स्थलगत रूपमा बुधबार निरीक्षण गरे । निरीक्षणपछि प्राविधिक टोलीले यसको छानबिन गर्ने बताए । बूढीखोला वरिपरिको क्षेत्रमा बूढीगङ्गा–४ का वडाअध्यक्ष कासिम मियाँको संलग्नतामा उत्खनन् भएको घटना सार्वजनिक भएपछि गाउँपालिका प्रमुख माझीले निरीक्षण गरेका हुन् ।

उत्खनन् गरिएको क्षेत्रमा ठूल्ठूला खाल्डाखुल्डी देखेपछि गाउँपालिका प्रमुख माझीले प्राविधिकसहितको एउटा छानबिन टोली गठन गरी चाँडै यसको छानबिन गर्ने बताए । केही दिनअगाडि ब्लाष्ट टाइम्सले ‘जनप्रतिनिधिको संलग्नतामा खोला उत्खनन्’ शीर्षकमा समाचार लेखेको थियो ।

सञ्चारमाध्यमबाट यो घटना सार्वजनिक भएपछि माझी निरीक्षणमा निस्किएका हुन् । ‘गाउँपालिकाले ठेक्का लगाएको भन्दा बढी उत्खनन् भएको देखिएको छ’ गाउँपालिका प्रमुख माझीले भने, ‘यस विषयमा छानबिन टोली बनाउनेछौं । प्राविधकसहितको टोली रहनेछ । यसै टोलीले छानबिन गरी प्रतिवेदन तयार पार्नेछ ।’ ठेक्का लगाएको भन्दा बढी उत्खनन् गरेको ठहर भए कारबाहीको प्रक्रिया अगाडि बढाउने गाउँपालिका प्रमुख माझीले बताए ।

वडाअध्यक्ष कासिम मियाँको संलग्नतामा अवैध रूपमा खोला क्षेत्रमा भरोटको उत्खनन् हुने गरेको स्थानीयले आरोप लगाएका थिए । सञ्चारमाध्यममा समाचार आएपछि अहिले सो क्षेत्रमा उत्खनन् गर्न रोक लगाएको छ । यसअघि दैनिक २–३ वटा उत्खनन् गरेको माटो दैनिक १० देखि १५ वटा टिपरले विभिन्न ठाउँमा लैजाने गरेको स्थानीयको भनाइ छ ।

पटक–पटक यी ठाउँहरूमा उत्खनन् गर्नु हुँदैन भनेर स्थानीयले रोके पनि माफियाहरूले गाउँपालिका, नगरपालिकामा राजश्व तिरिरहेका छौं भन्ने गरेको स्थानीयले बताउने गरेका छन् । सो क्षेत्रमा अहिले स्काभेटरले उत्खनन् गरेर २० फिट गहिराइसम्म खाल्डो परेको छ ।

खोलाको बगरमा भएका रूखहरू पनि भरौट उत्खनन् गर्दा उखेलिएको छ । उत्खनन् गरिएको भरोट लिएर गएको टिपरसँग वडाध्यक्ष मियाँले प्रतिटिपर ७ सयदेखि ८ सय रूपैयाँसम्म लिने गरेको स्थानीयले आरोप लगाएका थिए । वडाध्यक्ष मियाँले टिपर जाने जमिन आफ्नो पर्ने भएकोले रकम लिएको स्वीकार गर्दै प्रतिटिपर २ सय रूपैयाँ लिने गरेको ब्लाष्टसँगको फोन सम्पर्कमा बताए ।

वातावरणीय प्रभाव मूल्याङ्कन (आइ.ई.ई.) परीक्षण गरेर जिल्ला समन्वय समिति मोरङबाट ११ हजार २ सय ४२ घनमिटर बालुवा र १० हजार २ सय ४२ घनमिटर भरौट उत्खनन् गर्ने स्वीकृति दिएकोले त्यहीअनुसार ठेक्का लगाएको बूढीगङ्गा गाउँपालिकाले जनाएको छ ।

जसमध्ये बूढीगङ्गा–४ भवानीपुरको १ नम्बर नाकाको लागि २ हजार ८ सय २२ घनमिटर भरोट र २ सय ५ घनमिटर बालुवा उत्खनन् गर्न स्वीकृति दिएको गाउँपालिकाका प्रमुख माझीले बताए । सो नाकामा ५ हजार १ सय घनमिटर भरौट उत्खनन् गर्न बालुवा र भरौटको ठेक्का किरण चौधरीले १५ लाख ३ हजार रूपैयाँमा लिएका हुन् ।