पथरीशनिश्चरे/ उभिइरहेकी किशोरीमाथि जबरजस्ती गर्न अज्ञात पुरुष आइलाग्यो । अगाडि आएर सबैभन्दा पहिले हात समायो । उनले हात खुस्काइन् ।

दोस्रो उपायस्वरुप पछाडिबाट चुल्ठोमा समायो । त्यो पनि खुस्काइन् । उसले अरु ३ जना साथीलाई बोलाएर सामुहिक रुपमा जबरजस्ती गर्न लडायो । त्यो बेला पनि उनले सबैलाई परास्त गरेर सकुशल बाटो लागिन् ।

राधिका मावि उर्लाबारीको स्वर्ण महोत्सवको कार्यक्रममा किशोरीहरुले यस्तो प्रकारको नारी अस्मिता रक्षाको खेल प्रदर्शन गरेर सवैलाई गहन सन्देश दिए । पछिल्लो पटक केराबारीमा पनि खेलकुद विकास समितिको कार्यक्रममा किशोरीहरुले यस्तै प्रदर्शन गरेर सबैको मन जिते ।

नारी अस्मिता रक्षासँग जोडिएको यो खेल हो ‘कुरोदय मार्सल आर्ट’ । यस्तो खेल विगत २ वर्षयता नेपालका भित्रिएर विभिन्न ठाउँमा यसको प्रभावकारिता विस्तार भइरहेको छ । ‘महिला हिंसा विरुद्ध हाम्रो संकल्प, खेलकुदमा महिला सहभागिता उत्तम विकल्प’ भन्ने मुल नारा तय गरेर आफ्ना गतिविधि देशव्यापी बनाउने अभियानमा महिला अगुवा लागिपरेका छन् ।

देशमा महिला हिंसाभित्र पनि बढ्दो जबरजस्ती करणीको अपराधबाट आजित भएर यसप्रकारको खेललाई नेपालमा स्थापित गरिएको कुरोदय मार्सल आर्ट संघ नेपालकी कार्यवाहक अध्यक्ष एवम् १ नम्बर प्रदेशकी सामाजिक अगुवा विद्या चाम्लिङले बताइन् । ‘यो खेलका लागि किशोरी, युवती अनि महिलाहरुलाई तालिम दिइएको छ ।’ उनले भनिन् ‘यसखाले तालिमको कलाबाट जबरजस्ती गर्न आएकाहरुबाट फुत्किन सफल भएका घटना छन् ।’

धिरेन्द्र विष्ट संघका केन्द्रीय अध्यक्ष रहेपनि उनी हाल विदेशतिर बस्न थालेपछि चाम्लिङलाई कार्यवाहक अध्यक्षको जिम्मा दिइएको छ । अब अध्यक्ष चुन्ने तयारी भइरहेको बेला महिलाहरुको आत्मसुरक्षामा जोड दिइएको खेल भएकाले महिलाकै नेतृत्व सान्दर्भिक हुने खेलमा आवद्धहरुको राय छ ।

८ सय बढीले तालिम लिए ः

यो खेल नेदरल्याण्डबाट सुरु भयो । कुरोदय इन्टरनेशनल फेडेरेशन बनेपछि यसलाई ‘केआइएफ कुरोदय’ भनेर भनिन थाल्यो । नेपालमा संघ बनेपछि ०७३ सालमा राष्ट्यि खेलकुद परिषदको १ सय ७७ औं नम्बरमा दर्ता भयो । राष्ट्रपति खेलकुद महिला सहभागिता अभिबृद्धि कार्यक्रमसँग जोडेर ०७४ मा महिलाहरुलाई केन्द्रित गरी यसका अगुवाहरु समेतले ४५ दिने तालिम लिए । मार्सल आर्टका ४५ जना फष्ट डनलाई सहभागी गराई नेयरल्याण्डका प्रशिक्षक सोके कृष्णगोपालबाट तालिम प्रदान भयो । त्यसपछि यसलाई देशव्यापी बनाउने अभियान चलिरहेको छ ।

जस अन्तर्गत प्रदेश नम्वर १ का लागि इटहरीमा राखिएको ७ दिने प्रशिक्षक प्रशिक्षण तालिममा ६५ जना महिला पुरुष सहभागि बने । प्रदेश नम्वर १ का लागि सुरुमा सिरहामा जिल्ला खेलकुद परिषदसँगको सहकार्यमा ७ दिने तालिम दिइयो । त्यसपछि विभिन्न ठाउँमा गरी हालसम्म ८ सय जना महिलाले यसखाले तालिम लिइसकेको संघका केन्द्रीय सदस्य वीरबहादुर लिम्बूले सुनाए ।

उनले हालसम्म देशका ४५ जिल्लामा यसको संघ खडा भइसकेको वताए । झापा मेचीनगरका लिम्बूसँग सहकर्मीका रुपमा दमकका प्रकाश खड्का मिलेर तालिम अभियान सञ्चालन गरिरहेका छन् । बस्नेत प्रदेशका प्रमुख प्रशिक्षकको जिम्मेवारीमा छन् ।

बस्नेतले कुरोदयको बढ्दो प्रभावकारिता झल्काउने क्रममा कम तागत, कम आक्रामक अवस्थामै बुद्धिको प्रयोग गरी आत्मरक्षाका लागि यो खेल खेल्न सकिने प्रष्ट्याए । ‘लेस पावर, लेस कन्ट्याक र लेस मोसनमै खेल्न सकिने खेल हो ।’– उनले थपे ‘यो भिन्न र कम समयमै सिक्न सकिने खेलमा पर्छ ।’ उनले खेलकुद परिषदले यसको प्रतियोगिता गर्न संघले माग गर्ने जनाए ।

महिलाका लागि अझ प्रभावकारी एवम् सान्दर्भिक खेल ठानेर उर्लावारी ६ की युवती युना राई र ७ की लुना लिम्बूले इटहरी पुगेर यसको तालिम लिए । अनि यिनीहरुले अहिले उर्लाबारीमा किशोरीहरु भेला पारेर खेल सिकाउँदैछन् । ‘यो खेल हामी महिलाका लागि सृजनशील बनाउने र सुरक्षाका लागि आत्मविश्वास दिलाउने साधन लाग्यो ।’– लिम्बूले भनिन् ।

हिंसाबाट आफु स्वयम् कसरी बच्न सकिन्छ भन्ने तरिकाले महिलालाई उत्प्रेरित गरिरहेको छ । आफ्नो सुरक्षा आफैं गरौं, बल होइन बुद्धिको प्रयोग गरौं भन्ने यसको मर्म हो । स्वाभिमान, आत्मसम्मान, उच्चमनोवल र बलियो इच्छाशक्तिको विकास गरी मानसिक र शारीरिक रुपमा सक्षम बनाउने यसको दीर्घकालिन उद्धेश्य रहेको उल्लेख छ ।

दिनको ४ घण्टाका दरले १ महिनाको स्पेशल कोर्ष हुन्छ । तर यसबेला प्रदेश नम्बर १ मा एक साताको आधारभूत तालिम प्रदान गर्ने काम बढी भइरहेको छ । केराबारी गाउँपालिकाले प्रशिक्षक झिकाएर ७ दिने तालिम दिलायो । जहाँ ३५ किशोरी सहभागी भए । उर्लाबारीमा ९५ जना, दमकमा ५० जनाले तालिम लिए । गौरादह, मिक्लाजुङ, पथरीशनिश्चरेतर्फ पनि सो तालिमको माग भएको छ । ७ दिनमा ३० वटा टेक्निक सिकाउन सकिने हुन्छ ।