जिरोपोइन्ट/ यही फागुन १२ गते धरानमा मन्त्र व्याण्ड आउने भएको छ । मन्त्र व्याण्ड स्थापना भएको २० वर्ष पुरा पुगेको अवसरमा नेक्स्ट जेनेरेसन(एनजि) मेनेजमेन्ट प्रालिले “२० औँ साङ्गीतिक वार्षिक उत्सव च्यारेटी नाईटको आयोजना गर्न लागेको हो । उक्त कार्यक्रमको लागि नै नेपालको चर्चित रक व्याण्ड मन्त्र व्याण्ड धरान आउन लागेको हो ।

मन्त्र व्याण्डले नेपाली साङ्गीतिक क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै च्यारेटी नाईटको आयोजना गरिएको एनजि मेनेजमेन्टका अध्यक्ष साथै कलाकार सन्देश लामाले बताएका छन् । धरान-९ पुतलिलाईनको बज पब ईन रेष्ट्रोमा उक्त कार्यक्रम हुने बताइएको छ ।

साँझ ५ बजेबाट हुने साङ्गीतिक कार्यक्रममा मन्त्र व्याण्डसहित कलाकार लामाको समेत प्रस्तुती रहने बिहिबार धरानमा पत्रकार सम्मेलन गरी जानकारी दिईएको छ ।  च्यारेटी नाईटबाट उठेको रकमको न्यूनतम १० हजार रुपैयाँ धरानको कुनै एक सामाजिक संस्थालाई सहयोग गरिने समेत बताइएको छ ।

वि.सं. २०६३ सालमा स्थापना भएको नेक्स्ट जेनेरेसन(एनजि) मेनेजमेन्ट प्रालिले विभिन्न मनोरञ्जनात्मक कार्यक्रमको आयोजना तथा व्यावस्थापन गर्दै आएको छ । साथमा यसैको माध्यमबाट सामाजिक कार्य गर्ने उद्देश्यले नेक्स्ट जेनेरेसनको स्थापना गरिएको समेत बताइएको छ ।