इटहरी/ २०२७ सालदेखि बसोबास गर्दै आएको जमिनबाट ८ घरलाई नियोजित रूपमा हटाउन खोजिएको भन्दै पीडित परिवारले आपत्ति जनाएका छन् ।

विभिन्न स्थानबाट बसाइ सरेर इटहरी–२ स्थित चारकोशे झाडी फाँडेर बनेको बेलगाछी चौकमा रहेका ८ घरलाई इटहरीका तिला बुढाथोकी समूहले हटाउन खोजेको भन्दै आपत्ति जनाएका हुन् ।

जङ्गल फाँडेर बसोबास गरिआएको करिब १ बिगाहा ९ कठ्ठा जमिनमा हाल आएर निजी भएको भन्दै हटाउन खोजेकोप्रति पीडित परिवारले आक्रोस पोखेका छन् । वर्षौंदेखि घर बनाएर बसोबास गर्दै आएको जमिनमा आफूहरूले सरकारलाई विजुलीको बिल, घरधुरी कर र ३ पुस्ते नागरिकतासमेत बनाएको अवस्थामा अहिले आफूहरूलाई हटाउने खेल भइरहेको पीडित सूर्यबहादुर कोइरालाले बताए ।

पुस्तौंदेखि बसोबास गरेको जमिन अहिले तिला बुढाथोकी समूहले निजी भएको भन्दै ८ घरलाई हटाउन उच्चअदालत विराटनगरमा आफूहरूविरुद्ध मुद्दा दर्ता गरेको कोइरालाले बताए । आफूसहित बेलगाछी चौकका छिमेकी इन्द्र भट्टराई, शेरबहादुर कोइराला, निर्मला कोइराला, खेमराज रेग्मी, दुर्गा मोते, लक्ष्मी ढुङ्गाना र शान्ता गुरुङविरुद्ध अदालतसँगै इटहरी उपमहानगरको न्यायिक समितिमा निवेदन परेको कोइरालाले जानकारी दिए । अहिले ८ घरविरुद्ध उच्चअदालतले निषेधाज्ञा परमादेश जारी गरी १५ दिनभित्र घर–टहरा भत्काउन आदेश दिएको छ ।

अदालतले घर–टहरा भत्काउने आदेश दिएपछि आफूहरू बिचल्लीमा परेको शान्ता गुरुङले बताइन् । गुरुङले जग्गामालिक तिला बुढाथोकीको नाममा रहेको जमिनको छानबिन गरिनु पर्ने माग गरिन् । ‘हाम्रा बाजे–बराजुहरूले यो ठाउँ फँडानी गर्दा वनको जमिन थियो, तर अहिले एक्कासि निजी जमिन कसरी भयो, यसमा सम्बन्धित निकायले अनुसन्धान गर्नु पर्छ’ –उनले भनिन् । विदेशबाट भर्खरै नेपाल फर्किएकी एकल महिला मूना मोते घर बनाउने तर्खरमा थिइन् । तर बुढाथोकी समूहले प्रहरी र गुण्डाहरू पठाएर घर बनाउन रोकेको मोतेले बताइन् । घर बनाए भत्काइदिने भन्दै धम्की दिने गरेको उनले बताइन् ।

यता तिला बुढाथोकीले भने हाल बसोबास भएको जमिन प्रभु बैङ्कमार्फत् लिलामी सकारेर आफूहरूले लिएको बताइन् । शुरुमा त्यो जमिन पशुपति स–मिलको नाममा रहेको र उसले बैङ्कको कर्जा नतिरेपछि बैङ्कले आफ्नो नाममा तानेर लिलामीमार्फत् आफूले लिएको उनले बताइन् । बैङ्कले पनि पशुपति स–मिलले कर्जा नतिरेपछि जमिन लिलामीमार्फत् तिला बुढाथोकीले किनेको बताएको छ । बैङ्कको रिकभरी शाखाका प्रमुख तोपजङ थापाले उक्त जमिन मिलको भने पनि कोमार्फत् र कति रकममा धितो राखिएको जानकारी दिन मानेनन् ।