बिर्तामोड/ नेपालका कन्सल्टेन्सीले अष्टेलियामा बिनादर्ता सञ्चालित कलेजहरूमा विद्यार्थी पठाएर ठगी गरेको भन्दै अखिल (क्रान्तिकारी) झापाले त्यस्ता कन्सल्टेन्सी बन्द गर्न माग गरेको छ । 
 
झापामा रहेका कन्सल्टेन्सीले अष्ट्रेलियाको अष्ट्रेलिया इन्स्टीच्युट अफ बिजनेस एण्ड टेक्नोलोजी (एआइबिटी) मा विद्यार्थी पठाउँदै आएको पाइएको छ । एआइबिटी बिना दर्ता सञ्चालनमा रहेको विद्यार्थी नेताको भनाइ छ । 
 
एआइबीटीले स्नातकका लागि तीनवर्ष अध्ययन गर्नुपर्ने भए पनि दुई वर्षमात्र पढ्नुपर्ने, एक वर्ष छुट हुने बताएपछि डेढ वर्षदेखि अध्ययन गरिरहेका विद्यार्थीहरू अन्यौलमा परेका हुन् । रजिष्टर्ड ट्रेनिङ अर्गनाइजेशन (आरटिओ) मा उनीहरूले अध्ययन गर्दै गरेको कलेज दर्ता नभएका कारण विद्यार्थी बिचल्लीमा परेका हुन् ।
 
अर्बिट, एक्सपर्ट, डल्फिन, मर्सी, अल्फाबिटा, काठमाडौं इन्फोसिस, वेव, कङ्गारु एजुकेसन एण्ड माइग्रेसन, फाउण्डेस सर्भिस, सनराइज, एबिसी माइग्रेसन एण्ड एजुकेसन, प्रोसेसलगायत कन्सल्टेन्सीबाट उच्चशिक्षाका लागि नेपाली विद्यार्थीहरू अष्ट्रेलिया गएका थिए ।
 
कन्सल्टेन्सीले बिनादर्ता सञ्चालित कलेजमा विद्यार्थी पठाएको अखिल (क्रान्तिकारी) का अध्यक्ष अनिल सुवेदीले जानकारी दिए । बिर्तामोडमा रहेको कङगारु एजुकेशन कन्सल्टेन्सीले दुई महिनाअघि पनि उक्त कलेजमा विद्यार्थीहरूलाई अष्ट्रेलिया पठाउनका लागि सम्झौता गरेको कागजपत्र फेला परेको सुवेदीले जानकारी दिए ।   
 
झापा सहित देशभरमा कतिपय कन्सल्टेन्सी अझै पनि बिनादर्ता सञ्चालनमा रहेको उनले बताए । बिनादर्ता सञ्चालित त्यस्ता कन्सल्टेन्सी बन्द गर्न र विद्यार्थी अलपत्र पार्ने कन्सल्टेन्सीलाई कारबाहीको माग क्रान्तिकारीले गरेको छ ।