विराटनगर/ उत्पादनमूलक वस्तु प्रवद्र्धन गरी निर्यातमुखी अर्थतन्त्र अवलम्बन गर्न नसक्दा नेपालले वर्षेनी अर्बौंको व्यापार घाटा बेहोर्नु परेको यहाँका उद्योगी व्यापारीहरूले बताएका छन् । निर्यातजन्य वस्तुको पहिचान प्रवद्र्धन र बजारीकरणको अभावले वर्षेनि नेपालले व्यापार घाटा बेहोर्नु परेको उनीहरूले बताएका हुन् । 
 
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल भारत क्षेत्रीय व्यापार तथा पारवाहन समन्वय कार्यालय र मोरङ व्यापार सङ्घको संयुक्त आयोजना विराटनगरमा बिहीबार भएको ‘नेपाल–बङ्गलादेश व्यापारको अवसर र चुनौती विषयक’ अन्तरक्रिया कार्यक्रममा वक्ताहरूले मुलुकको व्यापार घाटा अत्यासलाग्दो भएको र यसलाई कम गर्न रणनीतिक योजनाको आवश्यकता रहेको औंल्याए ।
 
स्वदेशी उत्पादन वृद्धि तथा प्रवद्र्धनात्मक कार्यक्रम नगरिनु, उत्पादन भएका सामग्री निर्यात हुन नसक्नु र आयातित सामग्रीमा परनिर्भरता बढिरहनुले वर्षेनी व्यापार घाटा चुलिँदै गएको उद्योग सङ्गठन मोरङका अध्यक्ष भीम घिमिरले बताए । ‘निर्यात प्रवद्र्धन तथा आयात प्रतिस्थापनका लागि सरकारले गरेका कार्यक्रम विफल हँुदै गएको छ,’ अध्यक्ष घिमिरले भने, ‘सरकारले व्यापार घाटा कम गर्न समय–समयमा थुप्रै नीतिगत प्रयास गरे पनि उपलब्धि हासिल हुन सकेको छैन । सरकारको अपरिपक्वताको कारणले व्यापार घाटा बढेको हो ।’ आयात प्रतिस्थापनको प्रयास भइरहे पनि निर्भरता बढ्दै गएको उनले बताए । 
 
मोरङ व्यापार सङ्घको अध्यक्ष पवन सारडाले सरकारले स्वदेशमा भएको उत्पादन वस्तुको प्रर्वद्धन गरी निर्यातमा जोड दिनुपर्ने बताए । उनले स्वदेशमा उत्पादन भई आत्मनिर्भर हुने वस्तु बिदेशबाट आयतमा रोक लगाउनुपर्नेमा जोड दिए । कार्यक्रममा नेपाल बङ्गलादेश चेम्बर अफ ट्रेडर्सका अध्यक्ष अध्यक्ष यादव पौडेलले वर्षेनी केमिकलयुक्त वस्तु करोडौंको आयत भइरहँदा पनि स्वदेशी उत्पादन भएको वस्तुको प्रर्वद्धन गर्न नसकिएको बताए ।
 
‘सम्भावना बोकेको एबोकडो, गोलभेडा, किवी, खीर, दही, गलैँचाजस्ता वस्तुको उत्पादन बढाई बजारीकरण नहँुदा नेपालको अन्तर्राष्ट्रिय बजार हिस्सा कमजोर बनेको छ,’ उनले भने, ‘अलैँची, अदुवा, चिया, कफी आदिको गूणस्तरीय उत्पादन निर्यातमा योजनाबद्ध कार्यक्रमको आवश्यकता देखिएको छ ।’ स्वदेशी उत्पादन निर्यातमा सरकारले भूमिका खेलिनुपर्नेमा जोड दिए । बङ्गलादेश सरकारले आयतमा शुल्क नघटाउञ्जेल नेपालका कृषि तथा खाद्यान्न निर्यातलाई ३० प्रतिशतसम्म अनुदान उपलब्ध गराउनुपर्नेमा उनले जोड दिए । जसले गर्दा स्थानीय उद्योगलाई प्रोत्साहन र आयतमा कमी आउने उनको भनाइ छ । कार्यक्रममा नेपाल बङ्गलादेश चेम्बर अफ ट्रेडर्सका संस्थापक अध्यक्ष पन्नालाल जैनले स्वदेशी उत्पादनलाई सरकारले प्रोत्साहन नदिएर निर्यातमा सहयोगसमेत नगरेर छिर्के लगाउने काम गरेको बताए ।
 
‘घाटा कम गर्न योजना बनाउन आवश्यक’
 
कार्यक्रममा १ नम्बर प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदीशप्रसाद कुसियैतले व्यापार घाटा कम गर्न रणनीतिक योजनाको आवश्यक रहेको बताए । उनले व्यापार घाटा बेहोर्नु अत्यन्तै दुःखदायी अवस्था भएकोले व्यापार घाटा कम गर्न निर्यातजन्य वस्तुको उत्पादन र बजार प्रवद्र्धन जरुरी रहेको बताए । कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय काठमाडौंका सहसचिव रविशङ्कर सैजुले नेपालको चुलिँदो व्यापार घाटा कम गर्न उत्पादनमूलक क्षेत्रमा लगानी अभिवृद्धि गर्ने गरी नीतिगत र कानूनी व्यवस्थाको सुनिश्चितता गर्न मन्त्रालय लागेको उल्लेख गरे । उनले व्यापार घाटा कम गर्न आन्तरिक व्यापार स्वच्छ, प्रतिस्पर्धी र नियमन गर्ने कार्यमा विभाग लागि पर्ने बताए । 
 
व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाले निकासीजन्य वस्तुको उत्पादन प्रवद्र्धन तथा आन्तरिक बजारमा खपत हुने सामग्रीको आयात सहजीकरणका लागि केन्द्रले आफ्नो भूमिकालाई थप प्रभावकारी बनाउने बताए । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष किशोर प्रधान, उद्योग सङ्गठन मोरङका उपाध्यक्ष सुनिल टिवडे, सदस्य तारानाथ निरौलालगायले बोलेका थिए ।