जिरोपोइन्ट/ किरात राई यायोक्खाको १० औँ राष्ट्रिय अधिवेशनको प्रचारप्रसार गर्ने उद्देश्यले शुक्रबार प्याराग्लाइडिङ उडान गरिएको छ ।

धरान–२० चिण्डेडाँडाबाट १० वटा प्याराग्लाइडिङ उडान गरिएको हो । किरायाको झण्डासहित पाइलटले धरान–१६ स्थित प्रादेशिक रङ्गशालामा अवतरण गरे । यसक्रममा प्रचार प्रसारमा सहयोग गर्ने बुढासुब्बा प्याराग्लाइडिङलाई सम्मान–पत्रसहित नगद १० हजार रुपैयाँ प्रदान गरिएको छ । सोही क्रममा किरात राई विद्यार्थीको समूह र किरात राई यायोक्खाका पदाधिकारीहरूले हाइकिङसमेत गरेका छन् । चिण्डे डाँडामा ४० फिटभन्दा अग्लो किरात राईको झण्डा राखिएको छ । त्यसक्रममा पुष्प वृष्टि पनि गरिएको थियो ।

किरायाका केन्द्रीय सदस्य रामकर राईले प्याराग्लाइडिङबाट प्रचार–प्रसार गरिनु एतिहासिक भएको बताए । धरान फुटबल क्लबका अध्यक्ष किशोर राईले राजनीतिक, भौगोलिक साथै ऐतिहासिक हिसाबले प्रदेश नम्बर १ को नामकरण किरात प्रदेश हुनुपर्ने बताए । किराया जिल्ला कार्य समितिका अध्यक्ष बलराम राईले किरायाले गरिरहेको प्रचार प्रसार मात्रै नभएर पर्यटन क्षेत्रको विकासमा टेवा पु¥याउने बताए । आउँदो फागुन १८, १९ र २० गते धरानमा १० औं राष्ट्रिय महाधिवेशन हुँदै छ । प्रचारको क्रममा शनिबार धरान रनमा सहभागी हुने जनाएको छ ।