विराटनगर/ झापाको अर्जुनधारा नगरपालिका–२ का ४३ वर्षीय शरण भट्टराईले ‘मारुती कार’ लुटी पैसा कमाउने उद्देश्यले एक युवाको हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलासा भएको छ ।

पक्राउ परेका भट्टराईले झापा अर्जुनधार घर भई बिर्तामोड नगरपालिका–४ का २७ वर्षीय दीपक पाण्डेको हत्या गर्नुको मुख्य कारण उनले चलाउँदै गरेको कार लुटी पैसा कमाउने उद्देश्यले हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको हो ।

प्रहरीले हत्याको आरोपमा भट्टराईलाई पक्राउ गरी शुक्रबार विराटनगरमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । भट्टराईले पाण्डेको हत्या २०६५ चैत ३१ गते बेलबारी नगरपालिका–१० स्थित पूर्व–पश्चिम राजमार्गको भाउन्नेमा हत्या गरेका थिए । हत्या गरेको १० वर्षपछि प्रहरीले भट्टराईलाई मङ्गलबार काँकरभिट्टाबाट प्रक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले जानकारी दिए । पैसाको चरम अभाव भएपछि कार लुटेर पैसा कमाउन हत्या गरेको अहिलेसम्मको अनुसन्धानबाट देखिएको एसपी केसीले बताए ।

‘योजनाबद्ध रूपमा अभियुक्त भट्टराईले पाण्डेको हत्या गर्ने योजना बनाएको देखियो’ एसपी केसीले भने, ‘घटना भएकै दिनदेखि प्रहरीले दक्ष अनुसन्धान टोली बनायो । सूक्ष्मरूपमा गरेको अनुसन्धानपछि हत्यामा संलग्न अभियुक्त पक्राउ परे ।’ भारतको पानी ट्याङ्कीबाट झापाको काँकरभिट्टामा आएको बेला भट्टराईलाई यही फागुन ७ गते इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर रामकुमार राईको नेतृत्वमा खटिएको प्रहरी टोली उनलाई पक्राउ गर्न सफल भएको हो ।

‘गम्भीर प्रकृतिको घटनामा लामो समयको अनुसन्धानपछि हत्यामा संलग्न अभियुक्तलाई पक्राउ गर्न प्रहरी सफल भएको छ’ एसपी केसीले भने, ‘घटना जतिसुकै पुरानो भए पनि प्रहरीले सूक्ष्म तरिकाले अनुसन्धान गरी अपराधीलाई पक्राउ गर्न प्रहरी लागिपरेकै हुन्छ । घटना जतिसुकै पुरानो भए पनि प्रहरीले अपराधीलाई खोजी गरेर पक्राउ गर्दछ ।’

उनले लामो समयको अनुसन्धानबाट सफलता मिलेको बताउँदै विभत्स र ठूला खालको घटनालाई प्रमाणसँग जोड्दै जाँदा हत्यामा संलग्न लामै समयपछि पनि पक्राउ परेको जानकारी दिए । पुराना खालका र गम्भीर घटनालाई पछ्याउन सकेनौं भने प्रहरीको अपराध अनुसन्धानले सार्थकता प्राप्त गर्न नसक्ने बुझेर यस घटनालाई विभिन्न कोणबाट आफ्नै तरिकाले अनुसन्धान जारी राख्दा सफलता हातपरेको केसीको भनाइ छ । पक्राउ परेका भट्टराईलाई जिल्ला अदालत मोरङमा कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान गर्दै आएको एसपी केसीले जानकारी दिए ।

यसरी गरे हत्या
पाण्डेको हत्या गर्ने अभियुक्त भट्टराई पोखरास्थित अन्नपूर्ण उमावि र कसमस इन्टरनेसनल कलेजमा पाँच वर्षदेखि अध्यापन गराउँदै आएको प्रहरीले जनाएको छ । पाण्डे र भट्टराईको सामान्य चिनजान थियो । कलेज बिदा भएपछि आफ्नो भट्टराई झापास्थित घरमा आएका थिए ।

घरमा केही दिन बसेपछि मृतक पाण्डेसँग भट्टराईको मोबाइलमा सम्पर्क भयो । इटहरी बजार घुम्न जाउँ भन्दै पाण्डेलाई भट्टराईले प्रस्ताव राखे । पाण्डेले स्वीकार गरे । बिर्तामोडबाट इटहरीतर्फ मृतक पाण्डेको कारमा बसेर हिँडे । मोरङको पथरीबजार आइपुग्दा भट्टराईले झोलाबाट ‘स्लिपिङ पिल्स (बेहोस हुने औषधि)’ मिसाएको कोकाकोला झिकी आफूले पिएजस्तो गरे । तर, अभियुक्त भट्टराईले पिएनन् । उनले नपिएपछि पाण्डेलाई पिउन दिए । भट्टराईले अघि पिएको देखेको हुनाले सहजरूपमा पाण्डेले पिए ।

कानेपोखरी आइपुग्दा उनलाई रिङटा लाग्यो । पाण्डेले सवारी चलाउन सक्दिन भने । त्यसपछि कानेपोखरीदेखि भाउन्नेसम्म करिब ३ किलोमिटर भट्टराईले कार चलाएर ल्याए । घना जङ्गल र सुनसान स्थल रहेकोले उनले होस् आयो कि भनेर । तर होस खुलेन । गाडीभित्र रहेको दाउले पाण्डेकोे घाँटीमा २ पटक प्रहार गरे । पाण्डेको त्यहीँ प्राण गयो । त्यहीँ नजिकैको जङ्गलमा शव फाले । को. १ च ३८५० नम्बरको कार लिएर भट्टराई पोखरा हानिए ।

(अभियुक्त भट्टराईले प्रहरीलाई दिएको बयानमा आधारित )

लुटेको कार भट्टराईले ६५ हजारमा बेचे
हत्या गरेको भोलिपल्ट भट्टराई आफैले कार चलाएर पोखरा गएको एसपी केसीले बताए । ‘पोखरास्थित हीरा मोटरपार्टस् एण्ड ग्यारेजका सञ्चालक पोखरा–९ का हीरा गिरीलाई ६५ हजारमा कार दिएछन्’ एसपी केसीले भने, ‘पैसाको जरुरी भयो । ग्यारेज सञ्चालकसँग भट्टराईले ६५ हजार दिएर कार राख्न लगाए । पैसा लिएपछि भट्टराई भारत हानिएछन् ।’

प्रहरीका अनुसार पाण्डेको हत्या भएको घटना विभिन्न सञ्चारमाध्यममा आएर हल्ला फैलिएपछि भट्टराई पक्राउ पर्ने डरले पोखराबाट भारतर्फ फरार भए । ‘२०६६ वैशाख २ गते पोखरामा रहेको कोठाको सामानसमेत नलिइकन श्रीमती र एक छोरा लिएर भारतको तीनसुकिया आसाम गएको प्रारम्भिक अनुसन्धानबाट देखियो’ एसपी केसीले भने, ‘केही वर्षसम्म त्यहाँ बसे । त्यसपछि भारतको दार्जिलिङ जिल्लाको पानीट्याङ्की बस्दै आएका थिए ।’ काँकरभिट्टा आउने क्रममा भट्टराई मङ्गलबार पक्राउ परेका एसपी केसीले बताए ।