वि.सं. २००१ । जेठी फूपुको साथ लागेर हरिद्वारस्थित कनखल पुगे । यहाँ पढाइएको व्यवस्था थिएन । त्यो बेला सुनसरी जिल्ला नै थिएन । मोरङ पनि थिएन । जिल्ला पूर्णिया भनेर लेखिथ्यो । कनखलमा उनका लागि खेल्ने साथी फूपुकी छोरी, भानिज दाजु, एक जना दिदी थिए । करिब ७ वर्षको उमेरमा पाठशाला टेके । काठको तख्तीमा माटोले लिपेर टल्काएपछि त्यसमा बाँसको कलमले मसी चोप्दै कखरा सिके । किताब पनि हुन्थ्यो । तर, सानो कक्षामा किताब दिने चलन थिएन ।

आफू बसेको ठाउँदेखि ५(६ मिनेटमा स्कुल पुगिथ्यो । केटाकेटीमा उनी औधी चकचके थिए । पढाइमा पनि तेज र चकचकमा पनि तेज । निर्माण हुँदै गरेको स्कुलको तेस्रो तलाबाट हामफालिदिन्थे । पिताजी, माताजी नेपालमै भएकाले फूपुले औधी माया गर्थिन् । जहाँ उनी बसेका थिए, त्यहाँ पनि उनलाई औधी माया गर्थे । ‘टिचरहरूको पनि पुलपुलिएको विद्यार्थी परे । पढाइमा पनि राम्रो थियो । चकचक त भनीसाध्य छैन’– उनी विगत स्मरण गर्दै भन्छन् ।

त्यही चकचकले उनलाई जीवन र मरणको दोसाधमा पनि पु¥यायो । कक्षा ७ या ८ मा हुँदा तीन तलाको रेलिङमा बसेर चङ्गा उडाउने हुँदा झरेर उनी ७६ घण्टा बेहोस भए । टाउको पकलक्कै फुट्यो । ‘अगाडिको अगाडि नै पछाडिको पछाडि नै हुने गरी टाउँको फुटेको थियो रे ।’ आफूभन्दा ठूलाले भनेको स्मरण गर्दै उनी भन्छन्, ‘७६ घण्टा त बेहोस थिए रे ।’ पूणर्तः ठीक हुन निकै समय लाग्यो । त्यसदिनदेखि चकचक केही कम त भयो । र, नयाँ(नयाँ कुरा गर्न मन पराउने उनले एक दिन हेडमास्टरबाट गाली खाए । ‘त्यो बेला हामीलाई पेन चलाउने अनुमति थिएन । तर मैले जर्मनी कम्पनीको कृष्णा नाम गरेको पेन लिएर गएँ । क्लास होमवर्क गर्दा कसो कसो हेडमास्टरले देख्नु भएछ । खोस्नुभयो । गाली गर्नुभयो ।’ भुल्नै नसक्ने त्यो दिन यसरी स्मरण गर्छन् ।

त्यसपछि उनलाई साँझमा हनहनी ज्वरो आयो । हेडमास्टर विश्वम्भरले कुट्छ भन्ने मनमा गढेँपछि उनी त्यो स्कुल नजाने भनेर जिद्दी गरिरहे । औषधि खाँदा पनि उनी हेडमास्टरले कुट्छ भन्दै बरबराउथे रे । तर, संयोग उनलाईत्यही हेडमास्टरले नै औषधि खुवाइरहेका थिए । ‘त्यै पनि कुट्छ भन्ने कुरा भन्न छाडिनछु’– उनी भन्छन् । अन्ततः उनी त्यो स्कुल गएनन् । अर्कै स्कुलमा भर्ना भए । तर, ढेड महिना नबित्दै विश्वभर सरुवा भएर त्यो स्कुल पुगे । तर, त्यसपछि भने कुटेनन् । श्री मिथलेस सनातन धर्म हाइस्कुलबाटै एसएलसी दिए । उनको एसएलसी एकदमै पीडादायी भएको स्मरण गर्छन् । पहिलो पटक पाइलट प्रोजेक्टमार्फत् कक्षा १२ को परीक्षा दिए । उर्तीण पनि भए । तर, सरकारी सम्बन्धन प्राप्त नभएपछि त्यो सर्टिफिकेटको कुनै अर्थ रहेन ।

त्यसपछि हरिद्वारबाटै परीक्षा दिए । एकपटक पञ्जाव विश्वविद्यालयबाट पनि परीक्षा दिए । यसरी चरण–चरण गरेर परीक्षा दिएपछि आइएस्सी पन्नालाल कलेजमा भर्ना त भए । तर, पढाइले निरन्तरता पाउन सकेन । उनले आएस्सी मोरङ कलेज विराटनगरबाट सन् १९६५ मा पूरा गरे । ‘आइएस्सी पढ्न पनि एउटा कारण छ । म महेन्द्र कलेजमै क्लर्कको रूपमा काम गर्थे । एक दिन हाल जिएस मार्केट रहेको ठाउँमा एउटा सुनसरी होटल थियो । त्यहाँ कस्ले के सन्दर्भमा इण्डिया बसेर पनि आइए पास गरेको रहेनछ भनेर भनेको सुने ।’ उनी भन्छन्, ‘त्यहीबाट फनक्कै फर्केर विराटनगरमा फर्म भरेर फर्किए ।’ फर्म भरेर फर्किएपछि मात्रै उनले घर परिवारलाई सुनाए । त्यसबेला जीवनमा पहिलो पटक पिताजी रिसाएको उनी स्मरण गर्छन् । ‘घर सल्लाह नगरी फर्म परेकाले पिताजी रिसाउनु भयो’– उनी भन्छन् । आइएस्सीमा उनले ५६ प्रतिशत ल्याएर उर्तीण गरे । त्यो बेला बिएस्सी त्रिचन्द्र कलेजमा मात्रै थियो ।

तर, त्यो बेला उनी काठमाडौं लैनचौरस्थित कन्या माविमा पढाउन थालिसकेका थिए । बिएस्सीको दुई पटक फर्म पनि भरे । प्रवेश परीक्षामा उर्तीण पनि भए । तर, एड्मिसन गर्न सकेनन् । ‘कारण के थियो भने मेरो तलव ७–८ गते आउथ्यो । एड्मिसनको टाइम १–२ गते राखिदिएको हुन्थ्यो ।’ उनी भन्छन् । प्छि उनले साथीहरूको लहैलहैमा प्राइभेटबाट बीएमा भर्ना भए ।

अङ्ग्रेजी विषयमा फर्म भरेर आएका उनी एड्मिट कार्ड लिन पुग्दा ‘कलेजका डेपुटी रजिष्टारले कि तपाईं आफ्नो फर्म फिर्ता लानुस् कि विषय परिवर्तन गर्नुस् ?’ भनेर जवाफ फर्काए । ‘त्यहाँ अङ्ग्रेजी विषय पढाइ नहुँदो रहेछ ।, साथीले एसै फेल, उसै फेल इकोनोमिक्स भरिँदे भनेर भने । त्यही भरेर फर्किए’–उनी भन्छन् । तर, सौभाग्य उनी उर्तीण भए । आइएस्सी पढेको इकोनोमिक्सको ‘इ’ समेत थाहा नभएको उनलाई भाग्यले नै साथ दिएको अनुमान लगाउँछन् । २०२८ सालमा बीए उर्तीण गरे । पछि एमए पनि पढे । तर तीन वटा सेमेस्टरको परीक्षा दिएपछि चौथो सेमेस्टरमा उनी बिरामी भएर हस्पिटलाइज भए । दिन पाएनन् । दोस्रो वर्ष क्याम्पसको राजनीतिले गर्दा परीक्षा दिने अवस्था रहेन । फेरि प्राइभेटबाट एमए गरे । २०३७ सालमा मात्रै उनले एमए पूरा गरे ।

२०३९ साल फागुन १० गतेदेखि महेन्द्र बहुमुखी क्याम्पसमा उनी अध्यापक भएर काम गर्न थाले । अध्यापक हुनु पनि अर्को संयोग बन्यो । शिक्षा दिवसको तयारी हुँदै थियो । क्याम्पस प्रमुख कुमारबहादुर कार्कीले पियनमार्फत् चिठी थमाए । चिठी नहेरी नै उनले हस्ताक्षर गरिदिइहाले । पछि बुझ्दा ‘एपोइन्टमेन्ट लेटर’ रहेछ । त्यसपछि २० वर्ष १३ दिन अर्थात् २०५९ फागुन २२ गतेसम्म उनी त्यहाँबाट अवकास लिए । उनी महेन्द्र क्याम्पसमा आएपछि नै २०४१ सालदेखि अङ्ग्रेजी विषयमा स्नात्तक ल्याए । उनी पूर्वाञ्चलभरीबाट अनिवार्य अङ्ग्रेजी कमिटी भन्ने संस्थाको प्रतिनिधि बने ।

२०४९ सालसम्म उनी त्यो कमिटीमा बसे । २०५० सालमा अङ्ग्रेजीमा स्नातकोत्तर पनि ल्याउन सफल भए । यसरी शिक्षामा योगदान दिएका शर्मा अहिले पढ्न चाहाने विद्यार्थीका लागि अथाह सागर रहेको बताउँछन् । ‘दे क्यान फोकस देम सेल्भस्’ अहिलेका विद्यार्थीलाई उनको गुरु मन्त्र नै यही छ । जे पढुन् त्योसँग मतलव छैन । तर, जे पढे पनि ‘जेविएस हेल्डन’ ले भनेझैं ‘अलवेज एम फर द फष्ट रेट’ ।