इटहरी/ इटहरी मुख्य चोकको २ सय मिटर पूर्व टेङ्ग्रा खोला छ । बाटोमै विद्यार्थीहरूको हुल चिच्याइचिच्च्याई पढिरहेका हुन्छन् । करिब तीन दर्जनभन्दा बढी विद्यार्थी हुल बा“धेर गुन्द्री ओछ्याएर खोलाको डिलमा पढिरहेका हुन्छन् । सँगै एक जना पाका खिरिलो व्यक्ति मुढामा बसेर ती बालबालिका पढाइरहेका हुन्छन् ।

बाटो हिँड्ने जोकोहीले भन्छन् ‘यहाँ के भइरहेको छ ?’ एकछिन मज्जाले नियालेपछि सहजै अनुमान लगाउँछन् । पीपलको बोटमा एउटा विद्यालयको नाम छ पिपलबोटे खुल्ला विद्यालय इटहरी ६ टेङ्ग्राखोला । विद्यालय नै खोलामा छ ।

त्यही खोलाका किनारमा बिहान जहिल्यै व्यस्त हुन्छन् शिक्षक चन्द्र भण्डारी । उनको दैनिकी विद्यार्थीहरूलाई दिनहुँ पढाउनु हो उनले विद्यार्थीहरूलाई पढाउन थालेको २४ वर्ष पूरा भयो । २०५१ माघ २८ गते पहिलोचोटि पढाउन शुरु गरेको दिन दश जना बालबालिका थिए । अहिले उनले दैनिक ४० जना भन्दा बढी विद्यार्थीहरूलाई निःशुल्क दिनहुँ अढाई घण्टा पढाउँदै आएका छन् ।

२०२४ सालमा धनकुटाको कागतेमा जन्मिएका चन्द्र भण्डारीले आफ्नो उच्च शिक्षा पढ्ने इच्छा अधुरो भएपछि अरूलाई पनि यस्तो अवस्था नआओस् भन्ने विचार पलाएर आएपछि निःशुल्क पढाउन शुरु गरेको बताउँछन् । गरिब विद्यार्थीका लागि भगवान बनेका छन् भण्डारी ।

विद्यार्थीका लागि उनी आफैँले रोजेको टेङ्ग्रा खोलाको किनारमा रहेको पीपलको फेदमा बालबालिका पढाउन शुरु गरेको बताउँछन् । उनी भन्छन्, ‘दैनिकजसो बिहान साढे ४ बजे उठेर नित्यकर्म सकेर साढे ६ बजे घरबाट किस्कन्छु, त्यसपछि ७ बजेदेखि ९ बजेसम्म विद्यार्थीलाई रूखमुनि खोला किनारमा गुन्द्रीमाथि राखेर ट्युसन पढाउँछु ।’

ट्युसनमा नर्सरीदेखि कक्षा ७ सम्मका विद्यार्थीलाई सबै विषय पढाउँछन् उनी । सामुदायिक स्कुलदेखि बोर्डिङका समेत विद्यार्थीको घुइँचो लाग्छ । आइतबार र सोमबार गणित, मङ्गलबार अङ्ग्रेजी, बुधबार विज्ञान, बिहीबार नेपाली र शुक्रबार सामाजिकलगायतका अरू विषय पढाउने गरेको उनले बताए । धेरै कक्षाका विद्यार्थीलाई सबै विषय पढाउँदा पनि आफूलाई अप्ठ्यारो नलाग्ने उनी बताउँछन् । विद्यार्थीलाई घामपानीबाट जोगाउन खोलाको छेउमा एउटा बाँसको टहरोसमेत बनाएका थिए । तर नगरपालिकाले भत्काइदिएको उनको गुनासो छ ।

उच्च शिक्षा पढ्ने इच्छा अधुरो भएपछि उनले अरूको चाहना पूरा होस् भनेर इटहरी १ टेङ्ग्रा खोलानजिक पीपलको रूखमुनि विद्यार्थीलाई पढाउन थालेको २४ वर्ष भइसक्यो । उनले पढाएका विद्यार्थीमध्ये कतिले स्नातकोत्तरसमेत गरिसकेका छन् । ‘मैले पढाएका विद्यार्थी कति सरकारी र गैरसरकारी क्षेत्रमा जागिर खाइरहेका छन्, कोही वैदेशिक रोजगारबाट फर्किएर राम्रै व्यापार गरिरहेका छन्’ उनी गौरवका साथ भन्छन्, ‘तर मैले विद्यार्थी पढाउने कटेरो पाइनँ । उपमहानगरपालिकाले सानो ठाउँ बनाइदिए हुन्थ्यो भन्ने उनको मनसाय छ ।

२०४३ सालमा एसएलसी पास गरेपछि उनी धनकुटा बहुमुखी क्याम्पसमा भर्ना भए । तर आर्थिक अवस्था कमजोर भएकाले पढाइलाई निरन्तरता दिन सकेनन् । पढ्ने इच्छा मनमा दबाएर उनले दैनिक १० रुपैयाँ ज्यालामा काम गर्न थाले । दुई दाजुभाइमध्येका कान्छा चन्द्र २०४४ सालमा इटहरी झरेर ग्यारेजमा काम गर्न थाले । काम गर्दागर्दै उनले २०५१ सालमा सावित्रासँग विवाह गरे । ग्यारेजको काम छाडेर थान कपडा लिएर हटियाहरूमा बिक्री गर्न थालेको उनी सुनाउँछन् ।

२०५१ सालदेखि नै उनले बाँसको व्यापारसँगै केटाकेटी पढाउन थाले । दलित, मधेसी, आदिवासी, डोम, चमारदेखि ब्राह्मणसम्मका छोराछोरी उनले पढाइरहेका छन् । बदाम बिक्री गर्ने, चटपटे बेच्ने, चप्पलजुत्ता सिलाउनेका छोराछोरी पढाउँछन् उनी । आफूले पढाएका विद्यार्थी ठूला भएर फर्केर पनि भेट्न नआउँदा भने उनको मन दुख्छ रे । तर विद्यार्थीले बजारतिर अथवा अन्तकतै भेटेर नमस्ते गर्दै आफूलाई चिनाउँदा भने निकै गर्व लाग्ने उनी सुनाउँछन् ।