भोजपुर/ भोजपुर नगरपालिकाका मेयर कैलाशकुमार आलेले समृद्ध समाज निमार्णका लागि राज्यले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी गर्नु पर्ने बताएका छन् ।

भोजपुर नगरपालिकामा ऐतिहासिक प्रश्नपत्र प्रणालीको उद्घाटनसम्बन्धी जानकारी गराउन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मेयर आलेले राज्यले शिक्षा र स्वास्थ्यमा लगानी गर्नु पर्ने बताएका हुन् । पत्रकार सम्मेलनमा उनले प्रश्नपत्र प्रणाली कार्यान्वनले शिक्षक नियुक्तिमा पारदर्शिता कायम गर्ने विश्वास व्यक्त गरे ।
नगरपालिका भित्रका स्वास्थ्य संस्थामा औषधि र स्वास्थ्यकर्मीको परिपूर्ति भई

अनलाइन अवलोकन शुरु भएको भन्दै उनले स्वास्थ्य क्षेत्रको आमूल परिवर्तनसँगै शिक्षामा परिवर्तन ल्याउन ई–हाजिरी, लगबुक परीक्षणसहित प्रश्न–पत्र प्रणालीको शुरु गरिएको उल्लेख गरे । ‘उनले भने, ‘मञ्चमा भाषण गर्दैमा समाज समृद्ध हुँदैन, समृद्ध समाज निर्माणका लागि राज्यले नागरिकको स्वास्थ्य र शिक्षामा निःशुल्क सेवा प्रवाह गर्नु पर्छ, यसबाट समाज रूपान्तरणको ढोका खुल्छ ।’

मेयर आलेले जनताका लागि राज्यले स्वास्थ्य र शिक्षाको निःशुल्क व्यवस्था गरे समाजका हरेक नागरिकले आफ्ना बच्चा पढाउन र स्वास्थ्योपचार गराउन पैसाको बचत गर्नु नपर्ने तर्क गरे । शिक्षा विकास तथा समन्वय इकाई भोजपुरका प्रमुख मानबहादुर देवकोटाले परीक्षालाई मर्यादित, पारदर्शी बनाउन प्रश्नपत्र प्रणाली प्रभावकारी हुने बताए ।

परीक्षार्थीहरूलाई परीक्षामा ४० नम्बरको मल्टिपल च्वाइस र ६० नम्बरको प्रश्नोत्तर गरी एक सय पूर्णाङ्कको प्रश्न सोधिने प्रमुख देवकोटाले जानकारी दिए । प्रश्नपत्र प्रणाली उद्घाटनपछि करार शिक्षक नियुक्ति गर्न पहिलो चरणअन्र्तगत शुक्रबार नगरपालिका भित्रका सिंहदेवी मावि हेलौंछा, कालिका मावि हेलौंछा, जनज्योति प्रावि बोखिम, जनकल्याण आधारभूत विद्यालय काफ्ले र आम्तेक विद्यालयको परीक्षा लिइएको छ ।

विद्यालयमा ५ जना शिक्षक पदपूर्ति गर्नका लागि २८ जनाले निवेदन दिएको स्रोतव्यक्ति ध्रुव रेग्मीले जानकारी दिए । नगरपालिकाले नगर क्षेत्रमा रहेका सबै स्वास्थ्य संस्थामा औषधिको विवरण, स्वास्थ्यकर्मीको उपस्थितिलगायत बिरामीको चापलाई अनलाइनबाट अवलोकन गर्न र स्वास्थ्यकर्मीले स्वास्थ्य संस्थाका बारे जानकारी गराउन प्रत्येक स्वास्थ्य संस्थालाई ल्यापटप र इन्टरनेटको व्यवस्था गरिदिएको छ ।

शिक्षा क्षेत्रमा सुधार ल्याउनका लागि सामुदायिक विद्यालयहरूमा ई–हाजिरी, लगबुक परीक्षणका साथै शिक्षक नियुक्तीका लागि प्रश्नपत्रबाट परीक्षा लिने प्रणालीको समेत शुरुवात गरिएको छ ।

नगरपालिकाले सामुदायिक विद्यालयहरू मध्येबाट उत्कृष्ट प्रथम, द्वितीय र तृतीय हुने विद्यालयलाई नगदसहित प्रमाणपत्रद्वारा पुरस्कृत गर्ने घोषणा गरेको छ । मेयर आलेको पहलमा राम्रो शिक्षण गर्ने एक जना शिक्षक, एक जना शिक्षिका, एक वटा विद्यालय व्यवस्थापन समिति, एक वटा शिक्षक अभिभावक सङ्घ, एक जना शिक्षक र एक जना विद्यार्थीलाई प्रोत्साहनस्वरुप सम्मान गर्ने नगर शिक्षा नीति बनेको छ ।

नगरशिक्षा समितिको आयोजनामा भएको पत्रकार सम्मेलनमा भोजपुर नगरपालिकाका मेयर तथा नगर शिक्षा समिति संयोजक कैलाशकुमार आले, शिक्षा विकास तथा समन्वय समिति भोजपुरका प्रमुख मानबहादुर देवकोटा, स्रोतव्यक्ति ध्रुव रेग्मी, विभिन्न ५ वटा सामुदायिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष, प्रधानध्यापकलगायत विज्ञहरूको उपस्थिति रहेको थियो ।

हाल नगरपालिकाभित्र आठ वटा माध्यमिक नौ वटा आधारभूत र २७ वटा प्राथमिक विद्यालय गरी जम्मा ४४ वटा सामुदायिक विद्यालय रहेका छन् । नगरक्षेत्र भित्र दश वटा संस्थागत विद्यालयहरु समेत रहेको स्रोतव्यक्ति रेग्मीले पत्रकार सम्मेलनमा बताए ।