भोजपुर/ भोजपुरका केही भागमा बिहीबार भारी हिमपात भएको छ । जसका कारण त्यहाँको जनजीवन कष्टकर बनेको छ । 
 
जिल्लाको टेम्केडाँडा , मैयँुडाँडा, चखेवा भञ्ज्याङ, हाँसपोखरी, सुन्तले, बाघखोर, अरुणडाँडा, थामडाँडा, असिने, धापखर्क , हिले भञ्ज्याङ, सेल्मेडाँडा, साल्पा सिलिचोलगायतका स्थानमा भारी हिमपात भएको हो । बाक्लो हिउँ परेसँगै लेकाली भेगका डाँडाकाँडा सेताम्मे बनेका थिए ।
 
ति ठाउँहरूमा हिउँ खेल्ने आन्तरिक पर्यटकहरूको घुइँचो लागेको थियो । हिउँ खेल्न पर्यटकीय क्षेत्र सुन्तले, बाघखोर, चखेवा भञ्ज्याङ, धापखर्क, टेम्के, मैयुँलगायत स्थानमा आन्तरिक पर्यटकहरूको घुइँचो लागेको बाघखोरका होटल व्यवसायी गणेश तामाङले बताए । तामाङका अनुसार सबैभन्दा बढी सुन्तले, बाघखोर र चखेवामा आन्तरिक पर्यटकहरूको भीड बढेको थियो । 
 
जिल्लामा यसवर्ष तीन पटक हिउँ परेको टेम्के मैयुँ गाउँपालिका निवासी छिवाबुङबाली राईले बताए । उनले भने, ‘धेरै वर्षपछि तीन पटक हिउ परेकाले कृषकहरूसमेत बालीनाली फस्टाउने भन्दै खुशी भएका छन्, गाउँघरमा हिउँ परेको वर्ष बालीमा लाग्ने किरा मर्ने भएकाले बालीनाली राम्रो हुने जनविश्वास छ ।’
 
हिउँ परे लगत्तै मौसमसमेत सफा रहेको र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीलगायतको निधनमा सरकारले सार्वजानिक बिदा दिएकाले पनि हिउँ खेल्नेको भीड बढेको हुन सक्ने सुन्तलेका अर्का होटल व्यवसायी मचिन्द्र राईले जानकारी दिए । हिउँ खेल्न आउने आन्तरिक पर्यटकहरूले त्यहाँका होटलहरू भरिभराउ छन् । वर्षौपछि हिउँ खेल्न पाउँदा छुट्टै आनन्द भएको भोजपुर नगरपालिका–७ कोदारकी शुसिला तामाङले सुनाइन् ।