–बाँदर आतङ्कले आजित भएको धरान नगरपालिकाले गतवर्ष यसको नियन्त्रणको लागि विनियोजन गरेको बजेट खर्च हुन सकेन ।
 
–धनकुटा पनि उत्तिकै पीडित रहेछ र उसले बाँदर नियन्त्रण गर्न बजेट छुट्यायो । धनकुटामा केही हदसम्म काम भयो । विदेशी कालीगड ल्याएर केही बाँदरलाई समात्ने काम भयो । तर तिनलाई कहाँ लगेर छोड्ने समस्या प¥यो । अन्ततः कोशीमा ल्याएर छोडियो । 
 
–भोजपुर पनि बाँदरबाट उत्तिकै हैरान भएको छ । विभिन्न स्थानीय तहले बाँदर नियन्त्रण गर्न अभियान चलाए । कतिपय स्थानमा स्थानीय सीपको प्रयोग गर्दै पासो बनाइयो र पासोमा पारियो पनि । तर थुनिएका बाँदर कहाँ लगेर व्यवस्थापन गर्ने, अल्मलमा परियो । 
 
–खोटाङका बाँदरले प्रदेशसभामा स्थान पाए । यसको अर्थ त्यहाँ बाँदरको पीडा सहिनसक्नु भयो । स्थानीयले प्रविधिमार्फत् ठूलो सङ्ख्यामा बाँदर समाते । तर समातेका बाँदरलाई कहाँ लगेर छोड्ने भन्ने समस्या प¥यो भनेर त्यहाँका सांसद्हरूले कुरा प्रदेशसभा बैठकमा कुरा उठाए ।
 
यी बाहिर ल्याइएका समस्या हुन् । तर बाँदर समस्या विश्वव्यापी छ । भारतको दिल्ली र अमेरिकाको क्यालिफोर्नियामा पनि बाँदर आतङ्क छ । स्थानीय मानिसहरूको र बाँदरको हैरानी सानो छैन । मानिसले हार्न थालिसकेका छन् । बाँदरको सङ्ख्या रातदिन बढिरहेको छ । जङ्गली क्षेत्र र पहाडीभेगमा राम्रैसँग फस्टाएको छ । मानवबस्ती पातलिएका छन् । बाँदर गाउँमा मात्र होइन, अब त जङ्गलभन्दा टाढाको शहरमा पनि छिरिसकेको छ । भोलिका दिनमा विराटनगर, इटहरी, बिर्तामोडमा पनि बाँदर आतङ्क भयो भन्ने सुन्दा भोग्दा अनौठो नलाग्न सक्छ । 
 
बाँदर नियन्त्रणका लागि सानातिना स्थानीय योजना काफी हुन्नन् । अहिले गरिएका सामान्य प्रयास व्यर्थ हुनेछन् । मानौं केहीलाई जालमा पारियो, अब कहाँ लैजाने ? पु¥याउनु प¥यो धेरै टाढा, जहाँबाट फर्केर आइनपुगून् । प्रदेश एकको एउटा सम्भावित स्थान कोशी टप्पु होला, धनकुटाका बाँदरलाई पनि त्यहीँ ल्याइयो । तर, यो कुनै टाढाको स्थान होइन, ल्याइएका ती बाँदर पुनः सजिलै धनकुटा पुग्न सक्छन् । फेरि, कति चाहिँ कोशीमा अटाउलान्, त्यहीँका रैथाने पनि छन् । त्यहाँबाट निस्किएर आसपासका मानिसलाई दुःख दिने नै भए । नियन्त्रण नै त पूरै गर्न नसकिएला तर व्यवस्थापन गर्न भने सरकारी तवरले स्थानीय र प्राविधिक तथा  प्रविधिको सहयोगमा ठूलो स्केलमा काम गरे सम्भव हुन्छ । 
 
–पहिलो कुरा बाँदर कुन प्रजातिका कति छन् पूरा जनसंख्या साथै भाले र पोथी कति छन्, लिङ्ग अनुपातसमेत निकाल्नु पर्छ । यस कार्यमा विराटनगर र धरानमा रहेका जीव विज्ञानका विज्ञ तथा संरक्षणकर्मीहरूको  सहयोग र परामर्श लिन सकिन्छ ।
 
–दोस्रो कुरा, आसामी बाँदर वा पहरे बाँदर त संरक्षित स्तनपायी हो । यसलाई मार्न त पाइएन अनि समात्न र ओसार–पसारमा पनि कानूनी विधि पु¥याउनु पर्छ । 
 
–तालिमप्राप्त र अभ्यस्त व्यक्तिहरूको प्रयोग गरेर बाँदरलाई समातेर प्रजनन् उमेरकालाई परिवार नियोजन (भालेलाई भ्यासेक्टोमी र पोथीलाई मिनिल्याव) गर्नुपर्छ । पोथीको लागि पिल्स वा अन्य बाँझोपन ल्याउने औषधि दिनुपर्छ । भ्यासेक्टोमी गर्न एउटालाई बढीमा पाँच मिनेट लाग्ने रहेछ । यसो गर्दा आजै परिणाम नदेखिए पनि केही वर्षमा बाँदर नियन्त्रित भइजान्छ । अमेरिकाले पनि यही पद्दति अपनाएको छ । 
 
भारतमा भारतीय वन्यजन्तु संस्थानले बाँदर नियन्त्रण गर्न नपुंषक अभियान चलाएर राम्रै उपलब्धि हासिल गरेको छ । उत्तराखण्डमा मात्रै एक लाख पचास हजार बाँदरलाई यसरी नपुंषक बनाएपछि संख्या नियन्त्रित भएको छ । हिमाञ्चलमा ९४ हजार तीन सय ३४ वटा बाँदरलाई बन्ध्याकरण गरिएको छ । दश वर्षमा जनसंख्या वृद्धि उत्पादन ठप्प हुने विज्ञहरूले बताएका छन् । 
 
श्रीलङ्कामा पनि बन्ध्याकरण विधि सफल भएको छ । त्यहाँ सन् २००४ मा तीन लाख १९ हजार बाँदर थिए सन् २०१३ मा आइपुग्दा संख्या नियन्त्रित भएर दुई लाख १७ हजारमा झरेको छ । 
 
हङ्कङमा पनि बाँदर समस्या छ । त्यहाँ बाँदरको घनत्व तीन सय २६ प्रतिवर्गकिलोमिटर हो । त्यस्तै बाली टापु इण्डोनेशियामा एक हजार ६ सय ६० बाँदर प्रतिवर्गकिलोमिटरमा छन् । सिङ्गापुरमा ३० प्रतिवर्गकिमी । त्यहाँ पनि बन्ध्याकरण वा नपुंषीकरण नै गरिएको छ । 
 
यी बाहेक मार्ने कुरा जहाँसम्म छ , पहिलो कुरा मारेर साध्य लाग्दैन र मार्न हुँदैन पनि । तर्साउने, रबरका गोली हान्ने मरेको बाँदरको कङ्काल र उस्तै स्वरूप (ट्याक्सीडर्माइज्ड रूप) झुण्ड्याइदिने ग¥यो भने समस्या केही हदसम्म समाधान हुन्छ, सानो स्केलमा । यो अस्थायी समाधान मात्र हो । 
 
जङ्गलमा फलपूmलका बिरुवा रोप्ने एउटा उपाय छ तर यो सानो स्केलमा मात्र हुन्छ । बृहत्तर समाधानको यो एउटा अङ्ग मात्र हुनेछ ।  अर्को प्रभावकारी उपाय चाहिँ यो हुनसक्छ कि बाँदरले मन नपराउने, बस्न अप्ठेरो मान्ने, काँडादार रुखहरू जङ्गलको छेउछाउमा र बालीनालीको बेराको रूपमा रोप्नुपर्छ । 
 
धेरै शहरी क्षेत्रका सार्वजनिक र निजी भवनमा समेत बाँदरबाट सुरक्षार्थ फेन्सिङ गरिएका उदाहरण पनि छन् । यसले एउटा घर जोगाउने हो पूरा शहर जोगाउन सकिन्न । 
 
बाँदर यसरी फस्टाएको छ विराटनगरमा 
हिजोआज शहरहरूमा बाँदरको प्रकोप नै हुन थालेको छ । खासमा बाँदर जङ्गली जनावर हो तर आजकाल यो शहरीया भएको आभास भइरहेको छ । विराटनगर जङ्गलबिहीन पक्की शहर हो । यसको नजिकको जङ्गल चारकोशे झाडी ३५ किलोमिटर टाढा छ । त्यहाँ पनि बीचमा ठूला मानव बसोबास क्षेत्र छन् ।
 
तथापि विराटनगरमा बाँदरको बसोबास गतिलै छ ।  यहाँको पुरानो उद्योग रघुपति जुटमिलको गोदाममा केही वर्षअघि एउटा बाँदर देखिएको थियो । हिजोआज यिनको संख्या बढेर ४० को हाराहारीमा पुगेको छ । सीमावर्ती भारतीय जोगबनी बजारमा डुली खाने गरेका छन् । क्रमशः विराटनगर बजारतिर उन्मुख भइरहेका छन् । अत्यन्तै आक्रोसित यहाँका बाँदरले दश जनाभन्दा बढी मजदुर र कर्मचारीलाई टोकेर घाइते बनाइसकेको छ । भविष्यमा यिनले शहरलाई अक्रान्त नबनाउलान् भन्न सकिन्न । 
 
जङ्गलबिना पनि यिनीहरूको जीवन चल्नु जीव विज्ञानमा एउटा आश्चर्य मानिएको छ । मानवनिर्मित संरचनामै लुकीछिपी बस्ने, मानिसबाट मागेर नभए चोरेर खाने, बजारमा पाइने आधुनिक चाउचाउजन्य र पेयपदार्थ पनि प्याक खोलेर खाने, बच्चालाई प्रयोग गरेर मानिसका घरभित्रका खाद्यवस्तु चोर्नेजस्ता गतिविधिले जीववैज्ञानिकहरूको ध्यान तानिएको छ । यिनीहरूको सह–अस्तित्व तथा आपसी क्रमविकास मानव र यसको सभ्यताको विकासक्रमसँगै अघि बढिरहेको अनुमान लगाउन सकिन्छ । 
 
नेपालमा अध्ययन 
नेपालमा बाँदरको गहिरो र बृहत् अध्ययन प्रा.डा. मुकेश चालिसेले गर्नुभएको छ । बाँदर खाना र बासस्थानका लागि मानिसमा आश्रित भएर धेरै अल्छी र रोगी पनि भएका उहाँको तर्क छ । शहरीया खान्कीमा रमाएपछि यिनीहरूको आयु १५ बाट १० वर्षमा झरेको छ, पाँच वर्षमा मात्र यौन परिपक्वता हुनुपर्नेमा अढाई वर्षमै भएको पाइएको छ ।
 
प्रकृतिमा पाइने खानेकुराको सट्टा मानवनिर्मित खानेकुरा खाँदा जीउमा फस्के मासु मात्र जमेको छ । उमेर नपुगी गर्भिणी हुने गरेका छन् र बच्चा पनि कुपोषित छन् भनेर उनै बाँदरविज्ञ चालिसेले आफ्ना अनुसन्धानमूलक लेखहरूमा उल्लेख गर्नुभएको छ । शुरु–शुरुमा मान्छेले नै यिनलाई पल्काएका हुन् । पछि हातमा खानेकुरा बोकेर हिँड्दा आफूलाई नदिएकोमा खोसेर खान र आक्रमण गर्न साहसिक भएका हुन् । 
लेखक स्वयम् लगायतको अनुसन्धान टिमले  विराटनगर र चारकोशे झाडीका बाँदरको विषयमा अध्ययन गरेको छ । बाँदर नियन्त्रणको लागि तत्काल काम शुरु नगरिएमा केही वर्षपछि कुनै पनि शहरमा बाँदर नभएको स्थिति हुन्न भन्ने निष्कर्ष टिमले निकालेको छ । 
 
शहरमा मात्र नभई ग्रामीण क्षेत्रमा पनि जङ्गलमा आहारविहार गर्नुको साटो गाउँ पसेर खानेकुरा चोरी खाने र अरु उपद्रो गरेका घटना समाचारमा आइरहेका छन् । गाउँघरमा प्रशस्त खान पाइने कुरा बुझेर अल्छी भएको बाँदर जङ्गल पसेर खोजी नखाने मनस्थितिमा पुग्ने गरेको अनुसन्धाताहरूले उल्लेख गरेका छन् । कुनै कालखण्डमा शाकाहारी भएको यो जनावर अहिले सर्वाहारी र फोहोरहारीसमेत बन्न पुगेको छ ।
 
नेपालका पूर्वदेखि पश्चिमसम्मै र मधेशदेखि तीन हजार मिटरको उचाइसम्म बाँदर पाइने गरेको छ । पूरै धरतीमा हेर्ने हो भने अमेरिकातिर पाइने नयाँ सांसारिक र एसिया तथा अफ्रिकातिर पाइने पुराना सांसारिक गरी दुई खालका बाँदर छन् । पुराना चाहिँ मानिससँग नजिक मानिन्छन् । पृथ्वीमा अढाइ सयभन्दा बढी प्रजाति पाइने भए पनि नेपालमा भने बाँदरका तीन वटा प्रजाति छन् । ती हुन् मकाका मुलाटा (रातो बाँदर), मकाका आसामेन्सिस (पहरे बाँदर) र ढेडु (सिम्नोपिथेकस इन्टेलस) । अध्ययनहरूबाट थाहा लागेको छ कि मुलाटा चाहिँ गाउँशहरतिर बढीजसो छिरेको छ । चालिसेका अनुसार आसामेन्सिसका पूर्विया र पश्चिमा दुई प्रजाति छन् । 
 
मानिसका खेतबारी हुँदै घरभान्सामा आइपुगेका बाँदर र मानिसका पूर्खा एकै हुन् । क्रमविकासमा आजभन्दा चार करोड वर्षअघि देखिएको मानिस हो कि बाँदर हो कि भन्नुजस्तो जनावर एन्थ्रोपोइड्सबाट  बाँदरका पूर्खासँग मानिसको पूख्र्यौली हाँगो फाटेको हो । तथापि मानिससँग बनावट मिल्ने अति नजिकको जनावर हो बाँदर । नेपालको सन्दर्भमा पहरे बाँदर संरक्षित २७ वटा स्तनधारीको सूचीमा कानुनद्वारा संरक्षणमा परेको छ । नेपालका बाँदरको अवस्था मजबुत भए पनि संसारमा कुनै बाँदर यति कम संख्यामा छन् कि कुनै पनि बेला ती अलप हुनेछन् । जस्तैः कालटाउके गिब्बन २० वटा मात्र छन् भने टोनकिन घुमनाके बाँदर १ सय ५० वटा छन् । अनि रातो कोलोबस एक हजार मात्रै । 
 
निकै बाठो 
बाँदरको दिमागी क्षमताको तथा चतु¥याइँ कति बढेर आयो भनेर गहिराइमा अनुसन्धान भइसकेका छैनन् तर यिनको हाउभाउ र व्यवहार हेर्दा निकै बाठा भएका छन् । शब्द नफुटे पनि आवाजबाटै सञ्चार गर्दछन्, औजार प्रयोग गर्दछन्, अनुहारको प्रस्तुतिले पनि सन्देश संवाहन गर्छन्, हात मिलाउँछन्, मायाप्रेम दया व्यक्त गर्छन्, अङ्कमाल गर्छन् । मानिससँग ‘इगो’ लिन्छन् र मौका पर्दा धेरै अगाडिको रिस साध्छन् । यसका साथै प्रशस्त खानेकुरा पाउने/नपाउने, सुरक्षित सुत्केरी हुन पाइन्छ÷पाइन्न भन्ने  अवस्थाको अनुमान लगाई गर्भधारणका लागि तयार हुने कि नहुने भनेर निधो गर्छन् ।
 
राजनीतिका नियम बनाएका हुन्छन् र नेता चुन्छन्, उसमाथि अविश्वास प्रस्ताव ल्याउँछन् । अनि कसैले समूहमा रहँदा सत्ता नपाउने भएमा समूह फुटाएर नयाँ समूह बनाउने गर्दछन् । कुनै समस्या दिमाग लगाएर समाधान गर्र्ने र आपसी सरसल्लाह गर्नेसम्मको चेतनशीलता छ । आफ्नो गृहक्षेत्र निर्धारण र सुरक्षा गर्दछन् जहाँ अरु आएमा सामूहिक बलले आक्रमण गर्छन् । बहुपत्नीप्रथा बाँदरमा देखिन्छ, सबैभन्दा बलियो बुलाहा समूहको नेता भएको हुन्छ । यसको चेतना र बठ्याइँ वृद्धि हुँदै आएर मानिसबाट फाइदा लिँदै शहरमा रमाइरहेको एक थरि वैज्ञानिकहरूको भनाइ छ । जङ्गली अवस्थाका भन्दा शहर पसेका बाँदरहरूमा धेरै फरकपना पाइएका छन् । 
 
काम लाउनसके फाइदा पनि
 
मानिससँग आन्तरिक बनावट र जैविक प्रक्रियासमेत दुरुस्त मिल्ने भएकोले यिनीहरूबाट मानिसले फाइदा लिन सक्नुपर्छ । सुप्रसिद्ध विज्ञान पत्रिका प्राइमेटमा छापिएको एक लेखअनुसार नेपालका आसामिस बाँदरहरू एड्स रोगको अनुसन्धान गर्नाका निम्ति अति उपयुक्त छन् । अरु देशका यस्तै बाँदरमा पोलियो, पीतज्वरो, औलो, क्षयरोग, हेपाटाइटिसजस्ता रोगको भ्याक्सिनको सफल परीक्षण गरिसकिएको छ । बाँदरमा परीक्षण सफल भएर मानिसमा लागू भइसकेको अवस्था हो ।
 
यसका अतिरिक्त नेपालका बाँदरहरूले प्रदूषणको मात्रा कस्तो छ भनेर पनि सङ्केत दिइरहेका छन् । युनिभर्सिटी अफ वासिङ्टनको डा. लिशा जोन एन्जेललगायतको टोलीले स्वयम्भूको बाँदरको बच्चाको जीउमा माउकोमा भन्दा बढी मात्रामा लिड पत्ता लगाएको छ । बच्चाले धेरै जीउ कन्याएको, उसको रौँ झरेको भेटिएपछि अनुसन्धान गर्दा यस्तो पाइएको हो । यो गह्रौं धातुको कण प्रदूषित हावामा रहेको हुन्छ । तसर्थ जीवऔषधीय विज्ञानका अनुसन्धानमा बाँदर अति उपयुक्त जनावर हो ।
 
पश्चिमा जीववैज्ञानिकहरूले यस सन्दर्भमा अनुसन्धान गरेका छन् । उनीहरूको निष्कर्ष छ कि बाँदरलाई असक्त र वृद्धहरूको स्याहार चाकर गर्नाका लागि सहयोगीको भूमिकामा मजाले प्रयोग गर्न सकिन्छ । भेडाबाख्रा, हाँस, कुखुराको  गोठालो लगाउन, पसलमा स्टाफको रूपमा प्रयोग गर्न र घरको रेखदेख गर्नसमेत बाँदरलाई सदाउन सकिने विज्ञहरूको ठम्याइ छ ।